'मरिने बाँचिनेको कुनै ठेगान छैन'
“मेरो नाम शान्ति कँडेल हो । वैदेशिक रोजगारीको क्रममा म जापान आएको डेढ वर्ष भयो । मेरो घर नेपालको बाग्लुङ जिल्लामा पर्दछ। म अहिले काम छोडेर कोठामै बसेको तीन हप्ता भइसक्यो । हुन त यहाँको सरकारले संकटकाल घोषणा गरेको एक हप्ता मात्र भयो। तर पनि काममा जाँदा ट्रेनबाट जानुपर्ने र रोग सर्ने खतरा भएकोले संकटकाल लागू हुनुभन्दा पहिले नै काममा जान छोडेकी हुँ ।
यहाँ संकटकाल भनिए तापनि नेपालमा जस्तो लकडाउन हुँदैन । त्यस्तो कडा छैन ट्रेन चलिरहेकै छन् । मान्छे हिंडिरहेकै छन् । अनि संक्रमितको संख्या पनि बढेको बढ्यै छ । आफू आफैं सचेत हुने हो । मैले तयारी खाना प्याक गर्ने कम्पनीमा काम गर्ने भएकोले त्यो कम्पनीको काम यस्तो बेलामा झन् चालु छ । दैनिक फोन गरेर काममा आउने दबाव दिइरहेको छ । नजाउँ भने कामबाट निकालिदिन्छ अर्को काम खोज्न त्यस्तै गाह्रो छ । जाउँ भने भाइरस सर्छ कि भन्ने खतरा छ । अब जे त होला भनेर अर्को हप्तादेखि काममा जाने विचारमा छु म पनि ।
म जस्ता धेरै नेपाली दिदीबहिनी अहिले टोकियोमा हुनुहुन्छ । जापानमा कोठा भाडा एकदम महङ्गो छ । सबै जना घरभाडा तिर्ने र गरिरहेको कामलाई निरन्तरता कसरी दिने भनेर एकदम चिन्तित हुनुहुन्छ । मरिने बाँचिनेको कुनै ठेगान छैन । हुन त बाहिर जाँदा मास्क लगाउँछौं । अल्कोहल पेपरको प्रयोग गर्छौं । तर ट्रेनमा धेरै थरिका मान्छेहरुले यात्रा गर्ने हुँदा के हुन्छ भनेर एकदम डर लाग्छ।
घरमा मेरो ७ वर्षको छोरा छ । सासूससुरासँग नेपालमा बस्छ । प्लेन बन्द नहुँदै घर जानुपर्छ कि भनेर नसोचेको पनि होइन । तर कोरोनाको महामारी यति धेरै फैलिएर संकटकाल नै घोषणा हुने परिस्थिति आउला भन्ने त्यतिखेर लागेन । अहिले घर जानुपर्ने रहेछ भन्ने लागिरहेको छ । यहाँ आत्तिएर एक्लै बस्नुभन्दा त कम्तिमा आफ्नै देशमा परिवारसँग त बस्न पाइन्थ्यो ।”
कथा किन ?
अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तीमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ । संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागी हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ । जो अहिले तेस्रो सातामा छ ।
विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ । हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तिकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना । २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखी हिमालखबर पनि जोडिएको छ ।
मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो । भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन् । एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन् । अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छाैं ।
संयोजक, कथा कोरोना टीम
@KathaCorona
सम्पादक
himalkhabar.com
@HImal_khabar