दुवै अध्यादेश फिर्ता लिने सरकारको निर्णय
सरकारले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले बताए।
गएको ८ वैशाखमा सरकारले राजनीतिक दल विभाजन गर्न खुकुलो प्रावधान लिने र संवैधानिक परिषदको बैठकले विपक्षी दलको नेता नभए पनि निर्णय लिन सक्ने अध्यादेश ल्याएको थियो।
तर, नेकपाभित्रबाट असन्तुष्टि बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिएका हुन्। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालसँग बिहीबार नै अध्यादेश फिर्ता लिने प्रतिवद्धता गरेका प्रधानमन्त्रीले एक दिन ढिलोगरी मन्त्रिपरिषद बैठक बोलाएका हुन्। बिहीबार अध्यादेश फिर्ता नलिइए पछि उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा सचिवालयका ६ नेताहरुको भेला भएको थियो।
उक्त भेलामा महासचिव विष्णुप्रसाद पौडेल समेत सामेल थिए । त्यसअघि प्रधानमन्त्री ओलीलाई साथ दिंदै आएका महासचिव पौडेल अध्यादेश फिर्ता लिनुपर्ने अडानमा उभिएका हुन्। मन्त्रिपरिषदको निर्णय पछि अब राष्ट्रपतिबाट उक्त अध्यादेश खारेज हुनेछ।