कोभिड–१९ परीक्षणः किन प्रयोग गरिएन चीनबाट ल्याइएका पीसीआर मेशिन ?
मुलुकमा कोभिड-१९ संक्रमण फैलिरहँदा परीक्षणका लागि नमूना आउने क्रम बढ्न थालेपछि पोर्टेबल रियल टाइम पीसीआर मेशिनको क्षमताले नभ्याउने देखिएको छ।
कोरोनाभाइरस (कोभिड–१९) परीक्षण गर्न मुलुकमा अहिले दुई प्रकारको विधि अपनाइएको छ। त्यसमध्येको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट जाँच्ने काम विवादित बनेको छ। आरडीटीले भाइरसबाट संक्रमण भए/नभएको बारेमा सही नतिजा निकाल्न नसक्ने भएकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि अहिलेसम्म मान्यता दिएको छैन।
आरडीटी बाहेक विश्वभर प्रयोग भइरहेको अर्को विधि हो, पोलिमर्स चेन रियाक्सन (पीसीआर)। भाइरसको संक्रमण पत्ता लगाउन कन्भेन्सनल पीसीआर र रियल टाइम पीसीआर गरी दुई प्रकारका मेशिन बनेका छन्। यीमध्ये विश्वभरि रियल टाइम पीसीआर मेशिन बढी प्रचलनमा छ।
अत्याधुनिक, परीक्षण गर्न सजिलो र आधिकारिक नतिजा दिने भएकाले कोभिड–१९ जाँचका लागि यो मेशिन बढी मात्रामा प्रयोग भइरहेको हो। अहिलेसम्म मुलुकका ११ ठाउँमा ९६ वेल (डब्लूइएलएल) र पोर्टेबल गरी दुई प्रकारका रियल टाइम पीसीआर मेशिन प्रयोगमा छन्।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले चीनबाट पाँच थान पोर्टेबल रियल टाइम पीसीआर मेशिन खरीद गरेको थियो। एउटा पोर्टेबल पीसीआर मेशिनको झण्डै रु.१५ लाख पर्छ। ती मेशिनलाई विभागले पोखरा, जनकपुर, सुर्खेत, बुटवल र धनगढीमा पठायो। तर, तिनको प्रयोग अहिले गरिएको छैन।
पोर्टेबल रियल टाइम पीसीआर मार्फत एक पटकमा एक जनाको मात्र स्वाबको नमूना जाँच्न मिल्छ। एक जनाको कोभिड–१९ परीक्षण गर्न एक घण्टा लाग्छ। यो मेशिनको यही सीमितताका कारण चीनबाट खरीद गरेर ल्याइएका पाँच वटा मेशिनको प्रयोग रोकिएको हो।
पोर्टेबल रियल टाइम पीसीआर पठाएका ठाउँमा सरकारले पुनः ९६ वेल रियल टाइम पीसीआर मेशिन पठाएको छ। यो मेशिनबाट एकै पटक धेरै जनाको कोभिड–१९ परीक्षण गर्न सकिन्छ। पछिल्ला दिनमा मुलुकमा संक्रमितहरू बढिरहेका वेला परीक्षणको क्षमता बढाउन पोखरा, धनगढी लगायतका ठाउँमा यो मेशिन पठाइएको थियो।
९६ वेल रियल टाइम पीसीआर मार्फत एक पटकमा ९६ जनाको कोभिड–१९ परीक्षण गर्न मिल्छ। यद्यपि मेशिनमा बिरामीको नमूनासँगै ६ वटा ‘पोजेटिभ कन्ट्रोल स्याम्पल’ (कोभिड–१९ सँग मिल्दोजुल्दो नमूना) पनि राख्नुपर्ने भएकाले ९० जनाको परीक्षण गर्न सकिन्छ। ९० जनाको नमूना परीक्षण गर्दा करीब चार घण्टा लाग्छ। यस हिसाबले आठ घण्टामा १ सय ८० जनाको कोभिड–१९ परीक्षण गर्न सकिन्छ। जबकि, पोर्टेबल रियल टाइम पीसीआर मार्फत आठ घण्टामा जम्मा आठ जनाको मात्र कोभिड–१९ परीक्षण गर्न सकिन्छ।
त्यसैले स्वास्थ्य सेवा विभागले पोर्टेबल रियल टाइम पीसीआर मेसिनको सट्टा धेरै ठाउँमा एकै पटक धेरै जनाको नमूना जाँच्न सकिने ९६ वेल रियल टाइम पीसीआर मेशिन प्रयोगमा ल्याएको हो। जनकपुरमा पोर्टेबलले काम गर्न नसकेपछि यही मेशिन प्रयोगमा ल्याइएको छ। यस्तै, हेटौंडा, भरतपुर, धुलिखेल र सुर्खेतमा पनि ठूलो क्षमताको यो मेशिन प्रयोग गर्न थालिएको छ।
रुपन्देहीमा पनि पोर्टेबलको ठाउँमा ठूलो क्षमताको मेशिन प्रयोगमा ल्याउने तयारी भइरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले बताए। “परीक्षणका लागि स्वाबको नमूना धेरै आउने तर पोर्टेबल मेशिन मार्फत दिनमा बढीमा १२ जनासम्मको मात्र जाँच्न सकिने भएकाले नयाँ मेशिन ल्याउन लागिएको हो”, उनले भने।
यस्तै, एक पटकमा ३६ जनाको स्वाबको नमूना जाँच्न सकिने रियल टाइम पीसीआर मेशिन धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, विराटनगर र पोखरामा छ।
जनशक्ति परिचालनमा सिन्डिकेट
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा पाँच वटा रियल टाइम पीसीआर मेशिन भएकोमा चार वटा ९६ वेल रियल टाइम पीसीआर र एउटा एक पटकमा ३६ जनाको स्वाबको नमूना परीक्षण गर्न मिल्ने रियल टाइम पीसीआर मेशिन छ। यीमध्ये अहिले एक पटकमा ९६ जनाको नमूना परीक्षण गर्न सकिने दुई वटा मेशिन मात्र प्रयोगमा ल्याइएको छ।
प्रयोगशालामा ६ जना प्रमुख विशेषज्ञको दरबन्दी भए पनि दुई जनालाई मात्र काममा लगाएर बाँकी चारलाई पाखा लगाएका कारण बाँकी तीन वटा पीसीआर मेशिन सञ्चालनमा आउन नसकेको बताइन्छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत मुलुकमा पहिलो पटक संक्रामक रोगको मोलिकुलर डाइग्नोष्टिक ल्याब सेट गर्ने व्यक्ति विष्णुप्रसाद उपाध्यायायलाई अहिले वीर अस्पताल सरुवा गरिएको छ। एक चिकित्सक भन्छन्, “प्रयोगशालामा केही सीमित व्यक्तिको सिन्डिकेटका कारण दक्ष जनशक्ति (माइक्रोबायोलोजिष्ट तथा भाइरोलोजिष्ट) ले काम गर्ने अवसर पाएका छैनन्। भएकालाई पनि प्रयोगशालाबाट अन्यत्र सरुवा गरिएको छ।”
सरकारी स्तरमा त्रिभुवन विश्वविद्यालयमा तीन र खुमलटारस्थित नाष्टको कार्यालयमा एउटा रियल टाइम पीसीआर मेशिन छन्। त्रिविको माइक्रोबायोलोजी विभागका प्राध्यापक डा. प्रकाश घिमिरे ९६ जनाको कोभिड–१९ जाँच्न सक्ने क्षमताका त्रिविमा भएका तीन वटा मेशिनमध्ये एउटालाई सरकारले सुर्खेतमा प्रयोगशाला स्थापनार्थ लैजाने तयारी गरिरहेको बताउँछन्।
डा. घिमिरे मुलुकमा हरेक वर्ष दुई सयदेखि अढाई सय जनासम्म माइक्रोबायोलोजिष्ट उत्पादन भइरहे पनि सरकारले परिचालन गर्न नसकेको बताउँछन्। “प्याथोलोजिष्ट र ल्याब टेक्निसियनको सिन्डिकेटका कारण माइक्रोबायोलोजिष्टले काम पाउन नसकेर विदेश पलायन भइरहेका छन्”, उनी भन्छन्।
त्रिविमा भएका पीसीआर मेशिन सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति भए पनि कोभिड–१९ को परीक्षणमा प्रयोगमा ल्याइएको छैन। यसबाहेक निजी स्तरमा ‘ए ग्रेड’ को प्रयोगशालाको मान्यता पाएका नयाँ बानेश्वरको नेशनल रिफरेन्स ल्याबोरेटरी र ललितपुरको मेडिसिटी अस्पतालमा पनि रियल टाइम पीसीआर मेसिन छन्। तर, यी दुवैलाई सरकारले कोभिड–१९ परीक्षणको अनुमति दिएको छैन।
छिमेकी मुलुक भारतले भने निश्चित मापदण्ड तोकेर निजी प्रयोगशालालाई समेत कोभिड–१९ परीक्षणका लागि अनुमति दिएको छ।