नेकपाको भैंसेपाटी भेलाका दुई निश्कर्ष: अध्यादेश फिर्ता र तत्काल स्थायी समिति बैठक
बिहीबार दिनभर अध्यादेश फिर्ताको हल्ला चले पनि प्रधानमन्त्री केपी शर्मा ओली साँझसम्म टसको मस नभएपछि नेकपाका बहुमत सचिवालय सदस्य भैंसेपाटीस्थित पार्टी उपाध्यक्ष वामदेव गौतमको निवासमा भेला भएका छन्।
सचिवालयका ९ मध्ये ६ सदस्यको उपस्थिति रहेको उक्त भेलाले पार्टीभित्र गम्भीर समस्या पैदा भइरहेको त्यसका लागि अघि बढ्ने निर्णय गरेको छ।
आफूले दिएका सल्लाह र सुझावले मात्रै पार्टीको क्षतिलाई रोक्ने नदेखिएकाले अब अघि बढ्नुको विकल्प नरहेको सचिवलाय सदस्य झलनाथ खनालले हिमाललाई शुक्रबार जानकारी गराए। "पार्टी र मुलुक गम्भीर अप्ठेरो परिस्थितिमा पुगेको र हाम्रो पार्टीले नै मुलुकको नेतृत्व गरिरहेको परिपेक्षलाई मध्येनजर गर्दै साँझ छलफलमा जुटेका थियौं", उनले भने, "छलफलबाट मुख्य दुई वटा निश्कर्ष निस्किएको छ। पहिलो, अध्यादेश कुनै हालतमा फिर्ता हुनुपर्छ र हुन्छ। दोस्रो, तत्काल स्थायि समिति बैठक बस्छ।"
उनले दुवै अध्यादेश संविधान विपरीत र कसैको पनि हितमा नभएकाले फिर्ता हुनुपर्ने तर्क गरे । "आखिर कसलाई फाइदा गर्यो वा घाटा गर्यो भन्ने त प्रष्ट भइ नै सक्यो। अध्यादेश फिर्ता हुनैपर्छ, हुन्छ। यो पार्टीको निर्णय हो," उनले भने।
त्यस्तै, स्थायी समिति बैठक पनि तत्काल बस्ने निर्णय उक्त भेलाले गरेको छ। संकटकै वेलामा समस्या समाधान गर्न भेला र बैठक बस्ने भन्दै उनले बन्दाबन्दीको परिस्थितिलाई पर्खिने भन्दा पनि तत्कालै बैठक बस्ने निर्णय गरेको बताए। "छलफलहरू संकट मोचनका लागि गर्ने हो। अहिले परिस्थिति अप्ठेरो भएको सबैलाई अवगत कुरा हो। त्यसकै समाधानका लागि स्थायी समिति जति सक्दो चाँडो बस्छ", उनले भने।
बैठकको मितिका बारेमा छलफल नभएको तर तत्कालै बस्नेमा एकमत भएको जानकारी उनले दिए।
बैठकमा सरकारका काम कारवाही र मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको थियो।
भेलामा अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेल उपस्थित थिए।
प्रधानमन्त्री ओली बाहेक रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा पनि भेलामा सहभागी थिएनन्।