कोरोना भाइरसः अरूबाट के सिक्ने ?
कोरोना भाइरसका कारण विश्वव्यापी रूपमा सार्वजनिक स्वास्थ्यमा गम्भीर संकट आइपरेको छ। दोस्रो विश्वयुद्धको समाप्तिपछि यति ठूलो संकट संसारले यसअघि कहिल्यै पनि सामना गर्नुपरेको थिएन ।
गएको डिसेम्बरदेखि चीनको उहान शहरबाट शुरू भएको कोभिड–१९ नामक उक्त भाइरस सामु विश्व स्वास्थ्य प्रणाली हायलकायल भएको छ । पाँच महीनाको समयमा २१० देशमा फैलिएको उक्त ‘अदृश्य शत्रु’ सामु अहिलेसम्मका विज्ञानका उपलब्धि फिका भएका छन् ।
कोरोना भाइरस महामारीको प्रभावबाट अहिलेसम्म अछुतो रहेको संभवतः त्यस्तो कुनै क्षेत्र नहोला । विश्वसामु अहिले जीवन, मृत्यु र अर्थतन्त्रबीचमा के छान्ने भन्ने तितो यथार्थ मात्र छ । साढे सात दशक यताको यति ठूलो विश्व संकट कुनै एक देश वा क्षेत्रले मात्र समाधान गर्न सम्भव छैन । एकताबद्ध विश्व र सामूहिक अठोटले मात्र अहिलेको महामारीबाट पार पाउन सम्भव हुन्छ ।
तर दुर्भाग्यवश, कोरोना भाईरस विरुद्धको युद्धमा विश्व एक ठाउँमा उभिन सकेको छैन ।
कोरोना भाइरसकै कारण नयाँ भूराजनीतिक परिदृश्य देखा पर्दैछ । शक्ति राष्ट्रहरूको रणनीतिक उद्देश्यको कारण संयुक्त राष्ट्रसंघ आफ्नो मुख्य दायित्व पूरा गर्नबाट चुक्ने अवस्था देखापरेको छ । कोरोना भाइरसले विश्व सुरक्षा र शान्तिमा खलल पुर्याउने अवस्था ल्याइसक्दा पनि विश्व शान्ति र सुरक्षाको प्रमुख म्याण्डेट बोकेको राष्ट्रसंघको १५ सदस्यीय सुरक्षा परिषद्ले कुनै साझा धारणा बनाउन सकेको छैन । र, भाइरस विरुद्ध देशहरू एक्लाएक्लै लड्नुपर्ने परिस्थिति सृजना भएको छ ।
यो दुःखद् विश्व परिवेशले आफ्ना नागरिकलाई कोभिड–१९ को महामारीबाट जोगाउने देशपिच्छेको प्रयास निकै चुनौतीपूर्ण बनेको छ । अहिले हरेक सरकार कोरोना भाइरसको फैलावट रोक्न र मानवीय क्षति कम गर्ने उपयुक्त नीतिको खोजीमा छन् । प्रत्येकले अरूको राम्रा नीति र अभ्यासमा नजर लगाइरहेका छन् । त्यसो गर्नु उनीहरूको अहिलेको बाध्यता पनि हो । किनकि सही नीतिको पहिचान गरी समयमै लागू गर्न सक्दा मात्र कोरोना भाइरसको फैलावट रोक्न सक्छन् ।
यो लेख मूलतः विभिन्न देशहरूले भाइरसको नियन्त्रण गर्न अँगालेका राम्रा नीति र अभ्यासहरूमा केन्द्रित छ । ती नीतिहरूबाट नेपालले के सिक्न सक्छ भन्ने यो लेखको अर्को पक्ष हो । यो लेख सार्वजनिक रूपमा प्राप्त तथ्यांक, अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित समाचारहरू, विभिन्न अन्तर्राष्ट्रिय थिङ्कट्यांक र अनुसन्धान संस्थाहरूको पछिल्ला अध्ययनमा आधारित छ । ‘पियर रिभ्यु’ भई नसकेका अनुसन्धानहरूका निष्कर्षहरू पनि यो लेखमा प्रयोग गरिएको छ ।
xxx
विश्वव्यापी रूपमा कोरोना भाइरसको संक्रमण र त्यसले निम्त्याएको अवस्था द्रुत गतिमा विकसित भएसँगै देशहरूका नीतिहरू पनि त्यही रफ्तारमा परिवर्तन हुँदै गएका छन् । अवस्था यस्तो छ कि, यो लेख लेख्दै गर्दा रहेका कतिपय देशका नीति लेख प्रकाशन हुँदासम्म परिवर्तन पनि हुनसक्छन्।
जस्तो कि, सिंगापुर र जापानको नीति । चीन बाहिर सबैभन्दा पहिले भाइरसबाट प्रभावित हुने मध्येका हुन्, सिंगापुर र जापान । दुवैले महामारीलाई पहिलो चरणमै जितिसकेका छन् । भाइरसलाई शुरूआती अवस्थामै नियन्त्रण गर्न सफल भई वाह्वाही पाएको सिंगापुरले पछिल्लो समयमा आएर बन्दाबन्दीको नीति लिनुपरेको छ । जापानले अहिले आएर दोस्रो चरणको महामारी रोक्न देशव्यापी संकटकाल घोषणा गर्नु परेको छ । यसको अर्थ हो कोरोना विरुद्ध देशहरूले लिएका नीतिहरू विकसित हुने क्रममै छन् ।
यद्यपि विभिन्न देशहरूले कोभिड–१९ विरुद्ध लिएका नीतिहरूको अध्ययनको आधारमा केही निष्कर्षमा भने पुग्न सकिन्छ । ती निष्कर्ष नेपालले अवलम्बन गर्नुपर्ने कोरोना भाइरस विरुद्धका नीति निर्माणको छलफलका लागि महत्वपूर्ण आधार हुनसक्छन् ।
कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न देशका नीतिहरू हेर्दा मूलतः तीन वटा नीतिगत प्रवृत्ति देखिन्छ । चीन, सिंगापुर, इटाली, दक्षिण अफ्रिका लगायतका कतिपय देशहरूले निकै कठोर नीतिहरू लिएका छन् । कठोर कदमका कारण नै चीन र सिंगापुरले भाइरसलाई नियन्त्रणमा राख्न सफल भएका छन् । इटालीमा पनि संक्रमित हुनेको संख्या पहिलेको तुलनामा घट्ने क्रममा छ । कठोर नीतिकै कारण दक्षिण अफ्रिकाले पनि भाइरसको फैलावटको दर कम गर्न सफल भएको छ । यद्यपि यस्ता नीतिहरू मानवअधिकारको दृष्टिबाट आलोचनामुक्त भने छैनन् ।
बेलायत, दक्षिण कोरिया, अमेरिका (पछिल्लो चरणमा) लगायत देशहरूले चीन, सिंगापुरको तुलनामा अलिक खुकुलो नीति लिएका छन् । दक्षिण कोरियाले कम कठोर नीतिका बाबजूद भाइरसलाई नियन्त्रणमा राख्न सफल भएको छ । यद्यपि उसको सफलताको पछाडि अरू कारण पनि छन् । अमेरिका र बेलायत लगायतका देशहरूमा यो नीतिको प्रभावकारिता बारे भने समय बित्दै जाँदा प्रष्ट हुँदै जाला ।
उता स्वीडेन, बेलरुस लगायतका कतिपय देशहरूले कोभिड–१९ विरुद्ध एकदमै लचिलो नीति लिएका छन् । स्वीडेनमा सामाजिक दूरीको निर्देशिका त जारी गरिएको छ, तर ५० जनासम्म भेला हुन छुट दिइएको छ । १६ वर्ष मुनिका बालबालिकाका लागि स्कूल खुला राखिएको छ । सामाजिक दूरी राख्ने नराख्ने भन्ने कुरा नागरिकको स्वविवेकमा छाडिएको छ । बेलारुसमा खेलकुदका गतिविधि अहिले पनि जारी छन् ।
विभिन्न देशका कोरोना भाइरस विरुद्धका नीतिमा मूलतः चारवटा पक्षहरू छन्ः १) बन्दाबन्दी (लकडाउन), २) कोरोनासँग लड्न नयाँ कानूनको निर्माण, ३) संक्रमित पत्ता लगाउन प्रविधिको प्रयोग र, ४) धेरैभन्दा धेरै परीक्षण ।
कोभिड–१९ नियन्त्रणमा जे–जस्ता नीतिहरूको अभ्यास थालिए पनि सबैको सार भने एउटै छ— मानिसका घरबाहिरका गतिविधि नियन्त्रण गर्नु ताकि कोरोना भाइरसको फैलावटमा ‘ब्रेक’ लागोस् । विभिन्न देशका कोरोना भाइरस विरुद्धका नीतिमा मूलतः चारवटा पक्षहरू छन्ः १) बन्दाबन्दी (लकडाउन), २) कोरोनासँग लड्न नयाँ कानूनको निर्माण, ३) संक्रमित पत्ता लगाउन प्रविधिको प्रयोग र, ४) धेरैभन्दा धेरै परीक्षण ।
बन्दाबन्दीको नीति
इमर्जेन्सी प्रोटोकलको रूपमा लिइने बन्दाबन्दी (लकडाउन) नै कोरोना विरुद्धको सबैभन्दा ठूलो सर्वव्यापी नीति रहेको छ । पूरै जनसंख्या वा कुनै निश्चित क्षेत्रको जनसंख्यालाई नै ‘क्वारेन्टिन’ मा राखी संक्रमणको फैलावटको ‘सर्किट’मा ‘ब्रेक’ लगाउनु बन्दाबन्दी नीतिको लक्ष्य हो ।
बन्दाबन्दी नीतिको प्रयोग यो शताब्दीको शुरुमै सबैभन्दा पहिले अमेरिकाले ट्वीन टावर आक्रमणलगत्तै न्यू योर्क शहरमा गरेको थियो । तर कोभिड–१९ को सन्दर्भमा भने चीनले बन्दाबन्दी नीति शुरू गर्यो । अहिले बन्दाबन्दीको नीति लिने देशको संख्या १०० भन्दा बढी पुगिसकेको दी न्यूयोर्क टाइम्स ले जनाएको छ । उक्त पत्रिकाका अनुसार, अप्रिलको पहिलो साता विश्वको आधाभन्दा बढी जनसंख्या बन्दाबन्दी वा यस्तै प्रकारको अन्य बन्देजमा थिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको फैलावट रोक्न बन्दाबन्दी निकै प्रभावकारी देखिएको छ । यही कारण रोगको संक्रमण फैलिंदै जाँदा यसअघि बन्दाबन्दी नगरेका देशले पनि यो नीति अंगीकार गर्नुपरेको छ ।
यद्यपि बन्दाबन्दीको मोडेल भने फरक–फरक छन् । चीनको बन्दाबन्दी निकै कठोर थियो । उहान शहरका एक करोड दश लाख नागरिकलाई ७६ दिनसम्म एक प्रकारले नजरबन्दकै रूपमा राखियो । बन्दाबन्दीलाई पछ्याए पनि अन्य देशले आवश्यकता अनुसार आ–आफ्नै मोडेल बनाएका छन् ।
हार्वर्ड विश्वविद्यालयको शब्दमा कोभिड–१९ नियन्त्रण गर्न ‘गोल्ड स्ट्यान्डर्ड’ नीति लिएको सिंगापुरले पनि चीनको भन्दा केही खुकुलो तर कठोर नीति नै लिएको छ । बन्दाबन्दीको नियमहरू लागू गर्दा त्यहाँ पुरस्कार र दण्डको नीति अपनाइयो । दक्षिण अफ्रिकामा बन्दाबन्दी कार्यान्वयन गर्न सेनालाई सडकमा उतारिएको छ । बन्दाबन्दीको समयमा चुरोट र मदिरा सेवन गर्न समेत निषेध छ । यी तीनै देशमा बन्दाबन्दीको कठोर नीति कोभिड–१९ संक्रमण नियन्त्रणमा निकै प्रभावकारी भएका छन् ।
दक्षिण कोरिया मात्र एउटा यस्तो देश हो, जसले बन्दाबन्दीमा नगई पहिलो चरणको संक्रमणलाई नियन्त्रणमा राख्न सफल भयो । जापानले पनि बन्दाबन्दीको कठोर नीति नलिइकनै पहिलो चरणमै संक्रमणलाई नियन्त्रणमा राख्यो । तर अहिले आएर दोस्रो चरणको संक्रमणसँग जुध्न जापानले पनि बन्दाबन्दीको नीति लिन बाध्य छ । यता मलेशिया र इण्डोनेसियाले आंशिक बन्दाबन्दी गरेका छन् । स्वीडेन बाहेक सबै यूरोपेली देशहरूमा बन्दाबन्दीको कठोर नीति लागू गरिएको छ । बेलायत, स्पेन, इटाली लगायत देशहरूमा बन्दाबन्दी उल्लंघन गर्नेलाई दण्डित गर्ने नीति लिइएको छ।
बन्दाबन्दी कार्यान्वयनकै लागि कतिपय देशले संकटकाल लगाएका छन् । शुरूमा राजधानी टोकियो, ओसाकासहित पाँच शहरमा लगाएको संकटकाल जापानले अहिले देशव्यापी बनाएको छ । अमेरिकाका सबैजसो राज्यले संकटकालीन प्रावधानहरू लागू गरेका छन् । बन्दाबन्दीका प्रावधानहरू राज्यपिच्छे फरक पाइन्छ ।
अहिलेसम्मको अनुभवले के देखाएको छ भने बन्दाबन्दीको कठोर नीति लिनेहरूले कोभिड–१९ नियन्त्रणमा सफलता पाएको देखिन्छ । चीन, सिंगापुर र अमेरिकाको क्यालिफोर्निया राज्यको अनुभवबाट यो निष्कर्ष निकाल्न सकिन्छ ।
विभिन्न देशका बन्दाबन्दीको अभ्यास हेर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने तिनमा एकरूपता छैन । तर अहिलेसम्मको अनुभवले के देखाएको छ भने बन्दाबन्दीको कठोर नीति लिनेहरूले कोभिड–१९ नियन्त्रणमा सफलता पाएको देखिन्छ । चीन, सिंगापुर र अमेरिकाको क्यालिफोर्निया राज्यको अनुभवबाट यो निष्कर्ष निकाल्न सकिन्छ । अमेरिकामा ठूलो मानवीय क्षति हुनुमा समयमै बन्दाबन्दीको कठोर नीति नलिनुलाई पनि कतिपयले कारण मानेका छन् । यद्यपि दक्षिण कोरिया भने यसको अपवादको रूपमा रहेको छ । हुन त उसको सफलताको पछाडि चुस्त स्वास्थ्य प्रणाली र उसले सन् २०१५ को मर्स नामक संक्रमणसँग लड्दा सिकेको पाठ पनि उत्तिकै महत्वपूर्ण छन् ।
व्यक्तिगत (सामाजिक) दूरीको नीति
कोरोना भाइरस विरुद्धको युद्धमा प्रयोगमा आएको अर्को अस्त्र हो– व्यक्तिगत (सामाजिक) दूरीको नीति । गैर–औषधीय ‘इन्टरभेन्सन’ को रूपमा लिएको यो नीतिले भाइरसको फैलावटलाई रोक्न नसके पनि व्यक्तिबाट व्यक्तिमा सोझै हुने संक्रमणको दर भने कम गर्न सक्ने बेलायतको इम्पेरियल कलेजको एक अध्ययनले देखाएको छ । उक्त अध्ययन अनुसार यदि व्यक्तिगत दूरीको नीति नअपनाउने हो भने एक संक्रमित व्यक्तिले उसमा भाइरस संक्रमण शुरू भएको ३६औं दिनसम्ममा ५१२ जनालाई संक्रमित तुल्याउन सक्छ ।
यदि यो अवस्था (३६औं दिनमा) मा आएर मात्र व्यक्तिगत दूरीको नीति लागू गरेमा संक्रमण शुरू भएको ६०औं दिनमा ४०९६ जना संक्रमित भइसक्छन् । तर यदि ३६औं दिनपछि पनि सामाजिक दूरीको नीति लागू नगर्ने हो भने ६० दिनपछि संक्रमितको संख्या ३० हजार पुग्छ भन्ने उक्त अध्ययनको निष्कर्ष छ । यसबाट पनि प्रष्ट हुन्छ, व्यक्तिगत दूरीको नीति कोभिड–१९ संक्रमण नियन्त्रणमा निकै महत्वपूर्ण छ ।
प्रायः देशहरूमा ठूल्ठूला सभा–सम्मेलन, धार्मिक भेला गर्न रोक लगाइए पनि व्यक्तिगत दूरीको नीतिमा भने एकरूपता छैन । जस्तो कि स्वीडेनमा ५० जनासम्म भेला गर्न अनुमति दिइएको छ । तर बेलायतमा दुईजना भन्दा बढी भेला हुनु दण्डनीय बनाइएको छ । धेरै देशहरूमा व्यक्तिगत दूरीको नीति पालना गराउन दण्ड–सजायको व्यवस्था गरिएको छ ।
व्यक्तिगत दूरीको नीति अन्तर्गत नै कतिपय देशमा स्कूल र शैक्षिक संस्थाहरू बन्द गरिएको छ । यूनेस्कोका अनुसार यही कारण गत मार्च १८ यता विश्वको विद्यार्थी जनसंख्याको ९१ प्रतिशतको पढाइ प्रभावित भएको छ । यद्यपि स्कूल बन्दले महामारीको फैलावट रोक्न सहयोग पुग्छ÷पुग्दैन भन्ने अहिलेसम्म थाहा नभएको भनेर चिकित्सा क्षेत्रको सबैभन्दा पुरानो जर्नल ल्यानसेटमा प्रकाशित एक लेखमा उल्लेख छ ।
नेपाल पनि बन्दाबन्दीबाट गुज्रिरहेको छ । अत्यावश्यक बाहेक व्यापार, व्यवसाय र सेवा संचालनमा रोक लगाइएको छ । सभा, गोष्ठी, समारोह लगायत धेरै जमघट हुने कार्यक्रमहरूमा रोक लगाइएको छ । व्यक्तिगत दूरी कायम राख्नै शैक्षिक संस्थाहरू बन्द छन् ।
अन्य देशको अनुभव हेर्दा कानूनद्वारा नै व्यक्तिगत दूरीका विस्तृत नियमहरू निर्धारण गर्नु उपर्युक्त हुन्छ । व्यक्तिगत दूरीका नियम उल्लंघनलाई दण्ड र जरिवानाको दायरामा ल्याउनु वाञ्छनीय देखिन्छ । ताकि नागरिकहरू व्यक्तिगत दूरी कायम गर्न बाध्यकारी रूपमै अभ्यस्त हुन् । आवश्यक पर्दा व्यक्तिगत दूरीको नियम पालना भए/नभएको निगरानी गर्न वडातहसम्मै ‘सामाजिक दूरी परिपालक’को व्यवस्था गर्न सकिन्छ ।
बन्दाबन्दीको प्रभावकारितामा प्रश्न गर्ने ठाउँ छैन । सबै हिसाबले धेरै महँगो भए पनि सरकारले समयमै लिएको यो कदमप्रति व्यापक जनसमर्थन देखिन्छ । तर, व्यक्तिगत दूरी कायम गर्ने नीतिको कार्यान्वयनमा भने प्रश्न उठाउने ठाउँ छ । यो नियम दैनिक जीवनमा लागू गर्नुपर्ने नागरिकको दायित्व हो । तर पनि दैनिक उपभोग्य सामान किन्ने काठमाडौंका धेरै ठाउँमा व्यक्तिगत दूरीको नीति कायम गरिएको छैन । यसप्रकारको उल्लंघन निकै महँगो हुनसक्छ । तसर्थ दैनिक किनमेलमा समेत व्यक्तिगत दूरीको स्पष्ट नीति बनाउन आवश्यक छ ।
कोरोना भाइरस विरुद्धको खोप बनेर सर्वत्र उपलब्ध नहुन्जेल व्यक्तिगत दूरीका नियम लागू गर्नुपर्ने हुनसक्छ । खोप उपलब्ध नहुन्जेल बन्दाबन्दी गरिराख्न पनि सम्भव नहोला । सबै हिसाबले महँगो बन्दाबन्दी अनन्तकालसम्म धान्न सम्भव हुँदैन । यो संभावित परिस्थितिलाई ध्यानमा राख्दा खोप उपलब्ध नहुन्जेल हामीले जिउने जीवन भनेको कोरोना सहितकै हो । यो परिदृश्यमा भाइरसको फैलावट कम गर्ने भनेकै व्यक्तिगत दूरी कायम गरेर हो ।
यसर्थ व्यक्तिगत दूरीको नीतिमा विशेष ध्यान दिन आवस्श्यक छ । अन्य देशको अनुभव हेर्दा कानूनद्वारा नै व्यक्तिगत दूरीका विस्तृत नियमहरू निर्धारण गर्नु उपर्युक्त हुन्छ । व्यक्तिगत दूरीका नियम उल्लंघनलाई दण्ड र जरिवानाको दायरामा ल्याउनु वाञ्छनीय देखिन्छ । ताकि नागरिकहरू व्यक्तिगत दूरी कायम गर्न बाध्यकारी रूपमै अभ्यस्त हुन् । आवश्यक पर्दा व्यक्तिगत दूरीको नियम पालना भए/नभएको निगरानी गर्न वडातहसम्मै ‘सामाजिक दूरी परिपालक’को व्यवस्था गर्न सकिन्छ ।
कोरोना भाइरस विरुद्ध नयाँ कानून
कोरोना भाइरसका कारण सिर्जित अवस्थासामु कतिपय अवस्थामा विद्यमान कानूनहरू अपर्याप्त देखिन्छन् । बन्दाबन्दी र व्यक्तिगत दूरीका नियमहरू लागू गर्नुपर्ने बाध्यताका कारण सरकारहरूले रातारात नयाँ कानूनहरू बनाएर लागू गर्नुपर्ने अवस्था देखापरेको छ । यो परिस्थितिकै कारण कतिपय देशहरूले नयाँ कानून बनाउन थालेका छन् । संकटकालीन अधिकार प्रयोग गरी बनाइएका यस्ता कानूनहरूमा बन्दाबन्दी, व्यक्तिगत दूरी र कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउन कानून कार्यान्वयन गराउने निकायलाई थप अधिकार दिइएको छ । साथै, यी कानूनमा दण्डको व्यवस्था पनि गरिएको छ । ं
दक्षिण कोरियाले क्वारेन्टिनको नियम उल्लंघन गर्दा दश लाख वोन (८,१७० अमेरिकी डलर) जरिवाना वा एक वर्षसम्मको कैदको नयाँ कानून जारी गरेको छ । फ्रान्स, इटाली, जर्मनी, स्पेन लगायत देशहरूले पनि बन्दाबन्दी र व्यक्तिगत दूरी कायम गर्न नयाँ कानूनहरू लागू गरेका छन् । इटालीको लम्बार्डी भन्ने ठाउँमा व्यक्तिगत दूरी लागू नगर्नेलाई ५ हजार यूरो जरिवाना तोकिएको छ ।
बेलायतले बन्दाबन्दीका नियमहरू उल्लंघनलाई दण्डनीय बनाउँदै नयाँ कानून जारी गरेको छ । बन्दाबन्दी र सामाजिक दूरीका नियम उल्लंघन गर्दा ५० देखि १ हजार पाउण्डसम्मको जरिवाना तोकेको छ । अत्यावश्यक काममा बाहेक घरबाट निस्कन नपाउने गरी सिंगापुरले नयाँ कानून बनाएको छ । उक्त कानूनको बर्खिलाप गरेमा ७ हजार अमेरिकी डलर जरिवाना वा ६ महीना जेल तोकिएको छ ।
दक्षिण कोरियाले क्वारेन्टिनको नियम उल्लंघन गर्दा दश लाख वोन (८,१७० अमेरिकी डलर) जरिवाना वा एक वर्षसम्मको कैदको नयाँ कानून जारी गरेको छ । फ्रान्स, इटाली, जर्मनी, स्पेन लगायत देशहरूले पनि बन्दाबन्दी र व्यक्तिगत दूरी कायम गर्न नयाँ कानूनहरू लागू गरेका छन् । इटालीको लम्बार्डी भन्ने ठाउँमा व्यक्तिगत दूरी लागू नगर्नेलाई ५ हजार यूरो जरिवाना तोकिएको छ । अष्ट्रेलियामा हरेक राज्यहरूले बन्दाबन्दी लागू गर्न आ–आफ्नै कानून जारी गरेका छन् ।
यी केही प्रतिनिधिमूलक उदाहरणबाट प्रष्ट छ, थुप्रै देशहरू कोरोना भाइरसको नियन्त्रणका लागि नयाँ कानून जारी गर्ने नीति अवलम्बन गर्न थालेका छन् ।
हाम्रो सन्दर्भमा अहिले हामी झण्डै ६ दशक अघिको कानूनमा टेकेर कोरोना भाइरससँग लडिरहेका छौं । ‘संक्रामक रोग ऐन २०२०’ को दफा २ को अधिकारको अधीनमा रहेर सरकारले बन्दाबन्दी र व्यक्तिगत दूरीका ‘केही’ नीति आदेश मार्फत लागू गरेको छ । यो ऐन कोरोना भाइरसको नियन्त्रणमा कत्तिको पर्याप्त छ भन्नेमा पुनरावलोकन जरूरी छ । किनकि पुनरावलोकन मार्फत नै व्यक्तिगत क्वारेन्टिनका नियमहरू समेटेर दण्ड–सजायको व्यवस्था गर्न आवश्यक छ ।
ढिलो–चाँडो हामी बन्दाबन्दीको अवस्थाबाट बाहिर आउनै पर्छ । त्यतिवेला व्यक्तिगत दूरीको नियम झन् कडाइका साथ लागू गर्नुपर्ने हुनसक्छ । तसर्थ, व्यक्तिगत दूरीको नियममा अझ कडाइ गर्न दण्डसहित व्यक्तिगत दूरीका नियमहरू प्रष्ट रूपमा कानूनमै व्यवस्था गर्नु उपयुक्त हुन्छ ।
त्यस्तै, महामारी रोक्न प्रविधिको प्रयोग बारेमा विद्यमान कानून मौन छ । यो पक्ष समेट्न पनि विद्यमान कानून संशोधन गर्न वा नयाँ कानून बनाउनुपर्ने हुन्छ । त्यस्तै, महामारीको समयमा हुने गलत सूचना प्रवाहलाई दण्डित गर्ने विषय पनि विद्यमान ऐनले समेट्दैन । तसर्थ अन्तर्राष्ट्रिय अनुभव र अभ्यासको आधारमा कोरोना भाइरस विरुद्धको लडाईंलाई प्रभावकारी बनाउन विद्यमान संक्रामक रोग ऐन, अध्यादेश मार्फत परिवर्तन गर्नुपर्ने हुनसक्छ ।
प्रविधिको प्रयोग
कोरोना भाइरस संक्रमणको फैलावट रोक्न बन्दाबन्दी र व्यक्तिगत दूरीका नियम र नयाँ कानूनले मात्र पर्याप्त नभएपछि विभिन्न देशहरूले प्रविधि प्रयोगको नीति लिएका छन् । भाइरस विरुद्धको पहिलो चरणको लडार्इंमा चीन, सिंगापुर र दक्षिण कोरियाका लागि बरदान साबित भएको कन्ट्याक्ट ट्रेसिङ प्रविधि अहिले अन्य देशहरूले पनि प्रयोगमा ल्याएका छन् ।
चीनले भाइरससँग जुध्न मोबाइल फोनको सफ्टवेयर प्रयोग गरेको थियो । उक्त प्रविधि मार्फत आफू नजिकै संक्रमित व्यक्ति भए/नभएको र सँगै यात्रा गर्न कत्तिको सुरक्षित छ भन्ने कुरा मोबाइल प्रयोगकर्तालाई जानकारी दिनुको साथै अधिकारीहरूलाई ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न सहयोग गर्छ । त्यस्तै, सिंगापुरले ‘ट्रेस टुगेदर’ नामक मोबाइल एपको प्रयोगले ‘कन्ट्याक्ट ट्रेसिङ’ र क्वारेन्टिनमा बसेकाको निगरानी गर्ने गरेको छ । दक्षिण कोरियामा मोबाइल डेटा, क्रेडिट कार्ड, सीसीटिभी फुटेजको सहयोगले संक्रमितहरूको सम्पर्कमा आएकाको पहिचान गरिन्छ ।
रूसले भाइरसका बिरामीको निगरानी गर्न मोबाइल एपको सहयोग लिइरहेको छ । अहिले आएर, बेलायत र जर्मनी पनि कोभिड–१९को नियन्त्रण गर्न प्रविधिको प्रयोग गर्ने दिशामा अघि बढेका छन् । यसमा यूरोपियन यूनियनले छुट्टै प्रयास गरिरहेको छ । यूनियनले अघि सारेको ‘पान–यूरोपियन प्राइभेसी–प्रिजर्भिङ प्रोक्सिमिटी ट्रेसिङ’ नामक एपले दुई मुलुकबीचको संक्रमणको सञ्जाल (चेन)को पहिचान गर्न सहयोग गर्छ । यो प्रविधिले यूरोपको एउटा देशबाट अर्कोमा जाँदा संक्रमितको नजिक हुनासाथ प्रयोगकर्तालाई ‘अलर्ट’ गर्छ ।
कोरोना संक्रमणको फैलावट रोक्नमा प्रविधिको प्रयोग महत्वपूर्ण हुने कुरा चीन, दक्षिण कोरिया, सिंगापुर, नर्वे लगायतका देशको अनुभवले देखाएको छ । हाम्रो सन्दर्भमा भने हामी प्रविधिको प्रयोगमा निकै पछि छौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याएको मोबाइल एप अन्यत्र प्रयोगमा आएका एपको तुलनामा एकदमै साधारण छ । यदि अरूले प्रयोग गरे जस्तो एप बनाउने प्राविधिक क्षमता छैन भने ती देशसँग सहयोग माग्न पहल गरिनुपर्छ ।
नर्वेले कोरोना भाइरसका बिरामी पत्ता लगाउन मोबाइल डेटा प्रयोग गरिरहेको छ । निजी कम्पनीहरू गूगल र एप्पलले पनि कन्ट्याक्ट ट्रेसिङमा सहयोग पुर्याउने गरी एप बनाउने एक संयुक्त योजना सार्वजनिक गरेका छन् । भारतमा ‘आरोग्य सेतु’ नामक मोबाइल एप प्रयोग गरिएको छ ।
कोरोना संक्रमणको फैलावट रोक्नमा प्रविधिको प्रयोग महत्वपूर्ण हुने कुरा चीन, दक्षिण कोरिया, सिंगापुर, नर्वे लगायतका देशको अनुभवले देखाएको छ । हाम्रो सन्दर्भमा भने हामी प्रविधिको प्रयोगमा निकै पछि छौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याएको मोबाइल एप अन्यत्र प्रयोगमा आएका एपको तुलनामा एकदमै साधारण छ । यदि अरूले प्रयोग गरे जस्तो एप बनाउने प्राविधिक क्षमता छैन भने ती देशसँग सहयोग माग्न पहल गरिनुपर्छ । सिंगापुरले आफ्नो प्रविधि अरूलाई सित्तैंमा दिने घोषणा गरिसकेको छ । र, अष्ट्रेलियाले उक्त एप प्रयोग गर्ने बताइसकेको छ । हामीले पनि सिंगापुर सरकारसँग कुरा गर्न सक्छौं ।
यद्यपि कोरोना भाइरस नियन्त्रणमा प्रविधिको प्रयोग आलोचनामुक्त भने छैन । प्रविधिको प्रयोग मार्फत नागरिक माथिको निगरानी बढाएको भन्ने आरोप सरकारहरूले खेपिरहेका छन् । तर दी न्यू योर्क टाइम्स लाई दिएको एक अन्तर्वार्तामा संयुक्त राष्ट्रसंघकी ग्लोबल पल्स कार्यक्रमकी प्रमुख मिला रोमानोफले महामारीको समयमा जीवनरक्षाको सवालमा गोपनीयताको सन्दर्भ कम महत्वपूर्ण हुने तर्क गरेकी छन् । ग्लोबल पल्सले महामारीका वेला प्रविधिको प्रयोग गरी कसरी संक्रमणको प्रभाव कम गर्न सकिन्छ भनेर अध्ययन गरेको छ ।
तीव्र परीक्षणको नीति
तीव्र परीक्षणको नीति लिएका देशहरू कोरोना भाइरसको संक्रमणको फैलावट रोक्न तुलनात्मक रूपमा सफल छन् । दक्षिण कोरियाले नाटकीय रूपमा छोटो समयमा भाइरसको पहिलो चरणको फैलावट नियन्त्रण गर्न सक्नुको एक कारण थियो, उसको परीक्षण क्षमता । मर्स कि सार्सको संक्रमणको वेलाको असफलताबाट पाठ सिकेर आफ्नो स्वास्थ्य प्रणालीमा आमूल परिवर्तन गरेको दक्षिण कोरियाले कोरोनाको फैलावट उच्च भएको वेलामा दैनिक २० हजार व्यक्तिसम्मको परीक्षण गरेको थियो ।
अहिले उसले दैनिक १० हजार परीक्षण गरिरहेको छ । इटालीको भेनिस शहर नजिकै भों भन्ने सानो नगरमा सबै नागरिकको परीक्षण गरेपछि कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएको छ । जर्मनीले हप्ताको तीन लाख परीक्षण गरिरहेको छ । परिणामः त्यहाँ कोरोना भाइरसकै कारणले हुने मृत्युदर एकदमै कम छ । नेपालमा पछिल्ला दिनहरूमा परीक्षणको दायरा फराकिलो बनाइएको छ । तर पनि कोरोना भाइरस नियन्त्रणमा तुलनात्मक सफलता पाएका देशहरूको अनुभवमा अहिलेको हाम्रो परीक्षण निकै कम हो । भोलि हामीले बन्दाबन्दी लचिलो बनाउँदै जाँदा परीक्षणको दायरा झन् फराकिलो बनाउनुपर्ने हुन्छ । अरू देशको अनुभब पनि यही छ ।
अन्य अभ्यास
यी मूलभूत नीतिगत विषयवस्तु बाहेक अन्य देशका राम्रा अभ्यासहरू पनि कोरोना भाइरस विरुद्धको हाम्रो लडाइँका लागि सान्दर्भिक हुनसक्छ ।
अहिलेको विषम परिस्थितिमा राष्ट्र तथा सरकार प्रमुखहरूले राष्ट्र र जनताको नाममा सम्बोधन गर्ने अभ्यास विश्वभरि देखिएको छ । बेलायतकी महारानीले महामारीकै बीचमा दुई पटक आफ्नो सन्देश मार्फत देशवासीलाई सम्बोधन गरिन् ।
कोभिड–१९ विरुद्ध लडिराख्दा सरकारहरूले जनतासँगको सम्बन्ध अझ प्रगाढ बनाउन विशेष ध्यान दिएका छन् । किनकि महामारीको वेला सरकारलाई जनताको दह्रो साथ चाहिन्छ भने सरकारले पनि जनतालाई महामारीको चुनौती सामना गर्न आफू सक्षम भएकोमा आश्वस्त पारिराख्नुपर्ने हुन्छ । यसमा सरकारले जनतासँग गर्ने संवाद र संचारको महत्वपूर्ण भूमिका हुन्छ । त्यही भएर अहिलेको विषम परिस्थितिमा राष्ट्र तथा सरकार प्रमुखहरूले राष्ट्र र जनताको नाममा सम्बोधन गर्ने अभ्यास विश्वभरि देखिएको छ । बेलायतकी महारानीले महामारीकै बीचमा दुई पटक आफ्नो सन्देश मार्फत देशवासीलाई सम्बोधन गरिन् ।
त्यस्तै, जर्मन राष्ट्रपतिले पनि आफ्ना नागरिकलाई सम्बोधन गरे । यी दुवै ऐतिहासिक घटना थिए । हामीकहाँ पनि राष्ट्रपति र प्रधानमन्त्रीद्वारा देशको नाममा सम्बोधन भइसकेको छ । अमेरिकी राष्ट्रपतिले दैनिक आफैं प्रेस सम्मेलन गरिराखेका छन् । दक्षिण कोरिया र जापानका राष्ट्रप्रमुख र प्रधानमन्त्री बढीभन्दा बढी विभिन्न माध्यमबाट आफ्ना जनतासँग दिनै जसो संचार गरिरहेका छन् । जर्मन चान्सलर प्रायः सधंै जसो जनतासँग जोडिइरहेकी हुन्छिन् । आखिर किन ?
संकटको वेला सरकारलाई जनताको साथ साधारण वेला भन्दा बढी चाहिन्छ । त्यस्तै, जनता पनि सरकार मार्फत आफू सुरक्षित भएकोमा आश्वस्त हुन चाहन्छन् । यसको कडी हो– प्रभावकारी सूचना प्रवाह । अहिलेको परिस्थितिमा जनतासँगको विश्वास जित्न सरकारले दिने सूचना प्रष्ट र सरल हुन आवश्यक छ । निर्णय सुनाउने मात्र नगरी कुनै निर्णय किन लिइयो भन्ने कारणसहित सूचना प्रवाह गर्दा विषम परिस्थितिमा जनताको विश्वास जित्न सकिने कुरा संचारका विभिन्न अनुसन्धानहरूले देखाएका छन् ।
सिंगापुरको सफलताको पछाडि उसको प्रभावकारी संचार नीति पनि रहेको छ । सरकारको निर्णयहरू सरल, प्रष्ट रूपमा जनतालाई जानकारी दिइन्छ । सँगै कुन नीति किन लिइयो भन्ने कुराको जानकारी पनि ।
हाम्रो सन्दर्भमा, महामारी सम्बन्धी सरकारका निर्णयहरू आम जनतामा प्रभावकारी रूपमा पुग्नसकेको छैन । तसर्थ, महामारी सम्बन्धी सरकारको वर्तमान संचार अभ्यासको पुनरावलोकन गरी प्रभावकारी बनाउन ढिलो गर्नुहुन्न । किनकि सरकारको तर्फबाट हुने प्रभावकारी सूचना प्रवाहबाट मात्र अहिलेको घडीमा जनता र सरकारबीच सम्बन्ध कसिलो बनाउन सकिन्छ । र, कोभिड–१९ विरुद्धको लडाईंका लागि अत्यावश्यक छ ।
कतिसम्म भने, अनुहारमा लगाउने मास्कको बारेमा समेत हाम्रो नीति के हुने भन्नेमा प्रष्टता आवश्यक छ । एशियाली देशहरूमा मास्क लगाउनु सामान्य भए पनि पश्चिमा देशहरूमा यो विवादित विषय हो । अष्ट्रिया, चेक रिपब्लिक, स्लोभाकिया, सर्बिया र बोस्निया हर्जगोविनामा मास्क अनिवार्य गरिएको छ भने केही देशहरू मास्क सम्बन्धी नीति के हुने भन्ने छलफलमा जुटेका छन् ।
सिंगापुरले घरबाहिर जाँदा आफ्ना नागरिकलाई मास्क अनिवार्य गरेको छ । त्यस्तै, घर बाहिर जाँदा मास्क अनिवार्य गरेको छिमेकी भारतले नलगाउनुलाई दण्डनीय मानेको छ । लामो विवादपछि अमेरिकाले नागरिकलाई घर बाहिर जाँदा मास्क लगाउन सुझायो तर बाध्यकारी बनाउन सकेन । यी दृष्टान्तले हामीलाई पनि मास्कका सम्बन्धमा नीतिगत रूपमा प्रष्ट हुन झकझक्याएको छ ।
विभिन्न देशको अनुभवहरूबाट निस्किएको निष्कर्ष हो, नरम नीतिले कोरोना भाइरस विरुद्धको युद्ध जित्न सकिंदैन । त्यस्तै जनतासँग पारदर्शी संवाद बेगर पनि यो भाइरसलाई हराउन सकिन्न । समयमै लिएको सही नीतिले मात्र कोभिड–१९ माथि मानिस हावी हुनसक्छ । त्यही भएर अहिले हरेक मुलुकले अर्को मुलुकको राम्रा नीति र अभ्यासबाट सिकिरहेका छन् ।
चीन, सिंगापुर र दक्षिण कोरिया होस् कि अमेरिकी राज्य क्यालिफोर्निया– तिनले पाएको सफलताबाट हामीले सिक्ने यही हो । हामी पनि अन्य देशका राम्रा नीतिहरूको अनुसरण गर्न हिचकिचाउनुहुन्न ।
(लेखमा व्यक्त विचार लेखकका निजी हुन् ।)