‘प्रधानमन्त्रीलाई धन्यवाद ! अध्यादेशकै कारण यति छिटै पार्टी एकता भयो’
बुधबार राति राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी, नेपाल एकीकरण भएर ‘जनता समाजवादी पार्टी, नेपाल’ बनेको छ। दुवै दलका अध्यक्षसहितका नेताहरु बिहीबार बिहान निर्वाचन आयोगको कार्यालय पुगेर एकताको औपचारिक जानकारी गराउँदै दल दर्ताको निवेदन दिइसकेका छन्। सरकारले अध्यादेश मार्फत दल विभाजनको खुकुलो व्यवस्था गरे लगत्तै रातारात एकीकरण घोषणा गरिएको बारेमा राजपाका तर्फबाट हस्ताक्षर गर्ने एवं राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीसँग हिमालखबरका लागि लक्ष्मी बस्नेतले कुराकानीः
दुई पार्टीको एकता तत्काल कसरी सम्भव भयो ?
तयारी पहिलेदेखि नै थियो, तर विभिन्न कारणले थाती रहँदै आएको थियो। उपेन्द्रजी (यादव) हरू सरकारमा हुँदा भने कुरा अगाडि बढेको थिएन। उहाँहरुले सरकार छोडेपछि अलिकति अघि बढ्ला जस्तो भएको थियो। फेरि कोरोनाभाइरसका कारण राजनीतिक गतिविधि नै बन्द गर्नुपर्ने अवस्था आयो। स्वयम् प्रधानमन्त्रीले नै महामारीको समयमा राजनीतिक गतिविधि बन्द गर्नुस् भनेपछि त्यो आह्वान मानेर बसेका थियौं।
तर, प्रधानमन्त्री आफैंले चाहिं भित्रभित्रै पार्टी फुटाउने फोहोरी खेल खेलिरहनुभएको रहेछ। अन्ततः त्यो कुरा अध्यादेशबाट प्रकट भयो। त्यो देखेपछि उहाँले जुन उद्देश्यले अध्यादेश ल्याउनुभयो, त्यस विपरीत हामी जुट्न सफल भयौं। हिजो (बुधबार) नै पार्टी एकीकरण सफल हुनु चाहिँ प्रधानमन्त्रीकै कारणले हो। उहाँलाई धन्यवाद पनि भन्छु।
यस्तो हतारमा गरिएको एकीकरण दीगो हुन सक्ला त ?
त्यस्तो हुँदैन, उपेन्द्रजीहरु (संघीय समाजवादी फोरम) सँग त हामी मिलेर चुनाव नै लडेका हौं। शुरुवात त त्योभन्दा अगाडिदेखि भएर बीचमा विभिन्न कारणले थाती रहेको मात्रै हो। हतारमा निर्णय गरेर पछुताउनुपर्ला भन्ने लाग्न सक्छ, तर त्यो अवस्था बिल्कुलै आउँदैन। बरु हामीले लोकतन्त्र दिवसको बिहानी आउँदै गर्दाको ऐतिहासिक अवसरमा एकीकरण गर्यौं। लोकतन्त्र दिवसको दिन निर्वाचन आयोग पुगेर दल दर्ता गरायौं। यति राम्रो साइत जुर्नु पनि ठूलो कुरा हो, यसले हाम्रो दीगो एकीकरणको सन्देश दिइसक्यो।
तर एकीकरण घोषणामा राजपाको अध्यक्षमण्डलका ६ जनामध्ये दुई जना (अनिल झा र राजकिशोर यादव) सहभागी भएनन्। समाजवादी पार्टीका नेताहरुको त असन्तुष्टि नै देखिइसकेको छ नि !
तत्काल यस्तो (एकता) हुन्छ भन्ने नभएकै कारण दुई जना अध्यक्ष हिजोको छलफलमा सहभागी हुन नसक्नुभएको मात्रै हो। फेरि सहमतिपत्रमा पनि ४/४ जनाले हस्ताक्षर गर्ने भनियो त्यसै अनुसार गरेका हौं। समाजवादी पार्टीभित्रका असन्तुष्ट केही नेताको सन्दर्भमा के भन्छु भने, ठूलो पार्टीभित्र सबैको चित्त नबुझ्न सक्छ। सामूहिक निर्णय गर्दा त्यस्ता कतिपय विषयलाई गौण मान्नुपर्छ। यो जुनसुकै पार्टीमा हुन्छ।
नयाँ पार्टीको अध्यक्ष लगायत एकताको काम कहिले टुङ्गोमा पुग्ला ?
निर्वाचन आयोगमा औपचारिक जानकारी बिहीबारै गरायौं। अब आयोगलाई चाहिने डकुमेन्ट तयार गर्ने तथा नेतृत्व र पार्टी संरचना बनाउँदै जान्छौं। हामी राष्ट्रिय पार्टी भएकाले दुवै पार्टीका केन्द्रीय सदस्यहरु ७७ वटै जिल्लामा हुनुहुन्छ। कोरोना महामारी र अर्कोतर्फ लकडाउन भएकाले एकताको काम यति नै दिनमा सक्छौं भन्ने अवस्था छैन, गर्दै जान्छौं। नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको यति लामो समयसम्म उहाँहरूले तल्लो स्तरसम्म एकीकरण गर्न सक्नुभएको छैन भने हामीलाई पनि केही समय त लागिहाल्छ।
शीर्ष नेताहरुले पार्टी एकीकरण गर्छन्, तर तल्ला तहका नेता–कार्यकर्तासम्म मनोवैज्ञानिक र भावनात्मक एकता हुन त गाह्रो होला नि !
ठीक हो, एमाले र माओवादी एकीकरण भएको करीब दुई वर्ष हुन लाग्दा समेत भावनात्मक एकता भएको छैन। एउटै पार्टीभित्र पनि फरक विचार हुन्छ, हामी त्यो भावनाको कदर गर्छौं। स्थानीय कमिटीसम्म पुगेर पछाडि पारिएका वर्ग, क्षेत्र, समुदाय र लैंगिक हिसाबले समावेशी र परिवर्तनको आभास दिएर जनतासम्म पुगेपछि पक्कै पनि दुई पार्टीबीचको भावनात्मक एकता त हुन्छ नै, जनताकै मन जित्न सफल हुन्छौं।
अरु दलसँग पनि एकता हुन्छ ?
हामी व्यापक मोर्चा निर्माणको अभियानमा थियौं र हुनेछौं। यो मुलुकको सबैभन्दा ठूलो र सफल पार्टी बनाउने लक्ष्यका साथ हामी सधैं एकताको प्रयासमा हुनेछौं। अरु पार्टीसँग पनि एकता हुने संभावना छ। तर अहिले नै कुन पार्टीसँग एकता हुन्छ भन्नेभन्दा पनि विचार मिल्ने जोसँग पनि हुनसक्छ।
‘जनता समाजवादी पार्टी’ नेकपा नेतृत्वको सरकारमा पार्टी जान्छ कि जाँदैन ?
जाँदैन र जाने संभावना छैन। हामी जाने भए यसअघि पनि जान्थ्यौं। हामीलाई बाहिरै बसेर सरकारको काम हेरिरहेका छौं। हामी सकेसम्म जनतासम्म पुग्छौं र अर्को पटक हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउने गरी बृहत् मोर्चाको तयारीमा लाग्छौं। हामी वैकल्पिक ठूलो शक्तिको रुपमा रहन्छौं।
सरकारको मूल्यांकन तपाईंहरुले कसरी गरिराख्नुभएको छ ?
दुई वटा अध्यादेश ल्याएको उदाहरण सरकारको कार्यशैली कस्तो छ भन्ने पछिल्लो दृष्टान्त हो। यति ठूलो जनमत लिएर चुनाव जितेको पार्टीको कार्यशैली निरंकुश र अलोकतान्त्रिक छ। त्यही भएर पनि हामी नेकपा नेतृत्वको सरकारमा गएनौं र अब पनि गएर असफलताको ट्याग लगाउँदैनौं।