थप दुई जनामा कोरोना संक्रमणको पुष्टि, पेप्सीकोला सनसिटीका दुवै संक्रमित निको भए
नेपालमा थप दुई जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। उदयपुर र जनकपुरमा एक/एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जानकारी दिइएको छ।
योसँगै देशमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ।
उदयपुरबाट संकलित नमूनाहरुमध्ये काठमाडौं टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट गरिएको नमूना परीक्षणमा ५५ वर्षीया एक महिलामा संक्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। यस्तै, जनकपुरमा १४ वर्षीय एक बालकमा पनि संक्रमण पोजेटिभ देखिएको छ।
हालसम्म १० जिल्लामा संक्रमित पाइएकोमा प्रदेश-१ को उदयपुरमा मात्रै २८ जना संक्रमित भेटिएका छन्।
यसैबीच, बिहीबार दुई जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै निको हुने कोरोना संक्रमितको संख्या ९ पुगेको छ।
पेप्सीकोलाको सनसिटी अपार्टमेन्टका एकै परिवारका ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुषको पाटन अस्पतालको आइसोलेसनमा उपचार भइरहेकोमा दुवै निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। गएको ५ चैतमा बेलायतबाट फर्किएका उनीहरुमा २ वैशाखमा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको थियो।