पूर्व सचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका पूर्व सचिव भीम उपाध्यायलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले प्रहरीलाई अदालतले तीन दिनको अनुसन्धान म्याद दिएको बताए।
केन्द्रीय साइबर ब्युरोले सामाजिक सञ्जालमा कोभिड–१९ का सम्बन्धमा अफवाह फैलाएको आरोपमा पूर्व सचिव उपाध्यायलाई बुधबार राति कुसुन्तीस्थित घरबाट पक्राउ गरेको थियो। उनलाई काठमाडौंको एउटा वृत्तको हिरासतमा राखिएको छ। उनी विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही सुरु भएको हो।
सामाजिक सञ्जालमा सक्रिय रहेका उपाध्यायले दुई जना कोभिड–१९ को संक्रमित फेला परेको गलत सूचना सम्प्रेषण गरेको आरोप लागेको छ।
उपाध्याय पछिल्लो समय सरकारले ओम्नी समूहबाट खरीद गरेको औषधी प्रकरणमा स्वास्थ्य सचिव यादवप्रसाद कोइराला विरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए।
यसपछि पूर्व सचिव उपाध्याय र बहालवाला सचिव कोइराला बीचमा सामाजिक सञ्जालमा जुहारी नै चलेको थियो। यस बाहेक प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व एमाले पक्ति बिरुद्ध लगातार सामाजिक सञ्जालमा कडा रुपमा प्रस्तुत हुँदै आएका उपाध्यायलाई बुधबार साइबर अपराधमा पक्राउ गरिएको हो।
ब्यूराेका प्रमुख एसएसपी नविन्द अर्यालले उपाध्याय बिरूद्व उजुरी परेपछि हिरासतमा लिएर अनुसन्धान भइरहेकाे बताए। उनले सामाजिक सञ्जालमा बाहेकका पनि बिद्युतिय काराेबार ऐनमा कारबाही अघि बढाउने प्रमाण प्रारम्भीक अनुसन्धान फेला परेकाे अर्यालले बताए। उनले अन्य कसुरका बिषयमा भने खुलाउन चाहेन।