जर्मनीः जहाँ डेढ लाख संक्रमितमध्ये एक लाख निको भए
जर्मनीमा आंशिक रुपमा बन्दाबन्दी खुलाइएको छ। सार्वजनिक यातायात खुल्न थालेका छन्। तर, सबै प्रान्तले घरबाहिर निस्कन अनिवार्य मास्क लगाउनु पर्ने कानून लागू गरेका छन्।
जर्मनी विश्वमै सबैभन्दा बढी संक्रमित निको हुने देश हो। सबैभन्दा बढी संक्रमित भेटिने देशको सूचीमा पाचौँ नम्बरमा छ। तर, कूल मृत्यु हुने सूचीमा भने आठौँ नम्बरमा छ।
जर्मनीले कारोनाभाइरस संक्रमणमा पाएको सफलताकै कारण बन्दाबन्दी हटाएको हो। त्यहाँ संक्रमितको निको हुने दर उच्च छ। अहिलेसम्म डेढ लाखभन्दा बढी संक्रमित भएका छन् भने करीब एक लाख निको भइसकेका छन्।
जर्मनीमा कूल संक्रमितको संख्या एक लाख ५० हजार ६४८ छ। तर, त्यहाँ अहिले ४५ हजार ९३३ जना मात्र बिरामी छन्। पाँच हजार ३१५ जनाको मृत्यु हुँदा ९९ हजार ४०० भन्दा बढी निको भएका छन्।
संक्रमितका बन्द ‘केस’ एक लाख चार हजार ७१५ छ। तीमध्ये पाँच प्रतिशतको मृत्यु भएको हो भने बाँकी निको भएका हुन्।
पछिल्ला दिनमा नयाँ संक्रमित भेटिनेभन्दा निको हुनेको संख्या उच्च छ। बुधबार २१ सय ९५ नयाँ संक्रमित भेटिएको दिन ४२ सय जना निको भइ अस्पतालबाट बिदा भए। त्यहाँ अप्रिल १० देखि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी हुन थालेको हो।
जर्मनीमा भन्दा झन्डै आठ गुणा बढी संक्रमित फेला परेको अमेरिकामा अहिलेसम्म जम्मा ८४ हजार जना मात्र निको भएका छन्। जबकि त्यहाँ संक्रमितको संख्या नै साढे आठ लाख पुगिसकेको छ।
नयाँ संक्रमित भेटिने दर भने स्थीर छ। त्यहाँ औषतमा हरेक दिन दुई हजार संक्रमित भेटिएका छन्। मंगलबार र सोमबार त्यहाँ क्रमशः १३ सय ८८ र १३ सय २३ संक्रमित भेटिएका थिए। तर, बुधबार यो संख्या बढेर २१९५ पुग्यो।
त्यहाँ मार्च अन्तिम र अप्रिल पहिलो साता हरेक दिन औषतमा ६ हजार ५०० संक्रमित फेला परेका थिए। अप्रिल दोस्रो साता भने नयाँ संक्रमित भेटिने दर घटेको हो।
पछिल्लो तीन दिनमा त्यहाँ औषतमा २२४ जनाको दरले ६७३ जनाको मृत्यु भएको छ।