कोभिड–१९ः यसरी बन्यो उदयपुर संक्रमणको ‘हब’
नेपालमा अहिलेसम्म भेटिएका कोभिड–१९ संक्रमितमध्येको एउटा हिस्सा बोदेबर्साइनको इज्तिमासँग जोडिएपछि उनीहरुको ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक्ट ट्रेसिङ’मार्फत संक्रमणको सञ्जाल पहिल्याउने काम भइरहेको छ।
सरकारले बन्दाबन्दी घोषणा गरेको अघिल्लो दिन (१० चैत) मा भारतको नयाँदिल्लीबाट एकजना उदयपुरको भुल्के आइपुगे । ‘पाँच टाइम’का नमाजी उनी नयाँदिल्लीमा लुगा सिउने र नियमित निजामुद्दिन मस्जिदमा नमाज पढ्न जान्थे ।
उदयपुर फर्किएपछि भने उनी पाँच पटक नै नमाज पढ्न भुल्केस्थित नुरी मस्जिदमा गइरहेकै हुन्थे । ५८ वर्षका उनमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि विराटनगरमा उपचार भइरहेको छ।
उनी जस्तै भारतको उत्तरप्रदेशको नाम नखुलाइएको शहरको एक मदरसामा उर्दू पढ्न बसेका अर्का युवा ८ चैतमा उदयपुरस्थित घर आइपुगे । उनी पनि नियमित नमाज पढ्न नुरी मस्जिद नै पुग्थे।
यी दुई बाहेक तेस्रा, १८ वर्षका युवा जो यतिखेर संक्रमण पुष्टि भएर उपचाररत् छन्– सप्तरीको सुरुङा नगरपालिका–११ को अरहाबाट १६ चैतमा भुल्के पुगेका हुन् । त्यसअघि यी १८ वर्षे युवा भुल्केकै अर्का संक्रमितको परिवारसँगै भारतको वीरपुर, बाइसीमा सम्पन्न विवाहमा सहभागी थिए।
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट ११ फागुन साँझ भुल्केस्थित घर पुगेका अर्का एकजना पनि संक्रमित छन् । उनी काठमाडौंबाट जनकपुरसम्म आन्तरिक उडान र त्यसपछि एउटा महिन्द्रा कम्पनीको स्कार्पियो गाडी रिजर्भ गरेर भुल्के पुगेका थिए । उनी घर पुगेकै दिन उनका ९५ वर्षका बुवाको मृत्यु भएको थियो । जसमा उनीसँगै करीब पाँचसय जना मलामी (जनाजा) गएका थिए । उनी पनि नुरी मस्जिदमा नियमित नमाज पढ्न जान्थे ।
xxx
कोभिड–१९ संक्रमणको हब देखिएपछि प्रहरीले बुधबार साँझसम्म संक्रमण पुष्टि भएका २३ जनाको ट्राभल हिस्ट्री र ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा भेटिएका यी तथ्यका आधारमा संक्रमणको सञ्जाल अनुसन्धान गरिरहेको छ।
अहिलेसम्मको अनुसन्धानमा स्थानीय नुरी मस्जिदमा जाने र त्यहाँ बसिरहेका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्ति नै संक्रमित भएको पुष्टि भएको छ । जसमा बुधबार, १० वैशाखमा ३ जना थपिएका छन् । मस्जिदमा बस्ने मौलवी समेत संक्रमित छन्, जो सप्तरी सुरुङा नगरपालिकाका हुन् । सुरुङामा यसअघि वीरगञ्जमा संक्रमण पुष्टि भएका तीनजना भारतीय नागरिकको सम्पर्क रहेको थियो।
“नमाज पढ्न जाने, खाना खाने घर र सामूहिक छलफलमा सहभागी भएकाहरुमा संक्रमण पुष्टि भइरहेको छ,” प्रहरीको केन्द्रीय हेल्थ कमाण्डका एक उच्च अधिकारीले हिमालखबरसँग भने, “मस्जिदको सम्पर्कमा रहेका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको हो, दिल्ली, उत्तरप्रदेश र दुबईबाट आएकाहरु संक्रमित थिए कि भन्ने आशंका छ ।”
जिल्ला प्रहरी कार्यालय, उदयपुरले मंगलबारसम्म २५१ जनाको ‘¥यापिड टेस्ट’ भएको र त्यसमा शंकास्पद देखिएपछि पीसीआर जाँच गरिएकाहरुमा संक्रमण पुष्टि भइरहेको जनाएको छ ।
उदयपुरको भुल्केलाई आधार क्षेत्र मान्दै त्यहाँ जाँच प्रक्रिया शुरु भएको थियो । जसमा ६–८ वैशाखमा गरिएको जाँचमा ११ जना र त्यसअघि ४ वैशाखमा गरिएको जाँचमा १२ जनामा संक्रमण पुष्टि भएको हो । यी १२ मध्ये ११ जना भारतीय नागरिक हुन्।
त्रियुगा नगरपालिका–३, भुल्केस्थित नुरी मस्जिदमा केही भारतीय नागरिक बसेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । मस्जिदमा भारतको नयाँदिल्ली बस्दै आएका ५ जना नेपाली र ११ जना भारतीय नागरिक भेटिएका थिए । तीमध्ये एक जना २० वर्षे नेपाली युवासँगै ११ जना भारतीय नागरिक ४ वैशाखको टेस्टमा पोजिटिभ देखिएका हुन् । संक्रमित सबै ११ जना भारतीय नागरिक ५ फागुनमा सप्तरीको बोदेबर्साइनमा सम्पन्न तब्लिगी जमातको नेपाल इज्तिमापछि २५ फागुनका दिन भुल्के आएर यही मस्जिदमा बसेका थिए।
प्रहरीको नेतृत्वमा ३ वैशाखमा जिल्ला अस्पताल उदयपुरबाट खटिएको चिकित्सकको टोलीले उनीहरुको ‘आरडीटी’ र ‘पीसीआर’ दुवै परीक्षण गरे। र्यापिड टेस्टमा नेगेटिभ देखिएका उनीहरुको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको पीसीआर परीक्षणको ५ वैशाखको रिपोर्टले पोजिटिभ देखायो।
यो रिपोर्ट आएसँगै प्रहरीले मस्जिदमा बसेका १६ जनालाई नै विराटनगरस्थित कोभिड–१९ अस्पतालमा पठाएको थियो।
यसलगत्तै भुल्के क्षेत्रलाई आधार बनाएर संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरेर जाँच अभियान शुरु भएको हो । र, २५१ जनाको मात्रै जाँच हुँदा बुधबार साँझसम्म २६ जनामा संक्रमण पुष्टि भएको छ।
“मंगलबारदेखि स्वास्थ्य सामग्रीको अभावमा जाँच प्रक्रिया अघि बढ्न सकेको छैन,” उदयपुर प्रहरी प्रमुख एसपी वीरबहादुर बुढाले भने, “स्थानीयहरु आत्तिनुभएको छ, सामग्री आएपछि जाँच प्रक्रिया सुचारु हुनेछ ।” उनका अनुसार अहिले उदयपुर जिल्लालाई नै सिल गरेर आवागमनमा कडिकडाउ गरिएको छ । यस्तै भुल्के क्षेत्रमा विशेष सावधानी अपनाइएको एसपी बुढाले बताए।
सप्तरीदेखि कैलालीसम्मको तार जोड्दै प्रहरी
प्रहरीले यतिबेला एउटा विशेष टोली बनाएर यी घटनाहरुको विस्तृत अनुसन्धान गरिरहेको छ । प्रहरीका एक डीएसपीको नेतृत्वमा रहेको टोलीले वीरगञ्ज र उदयपुरमा संक्रमण पुष्टि भएका १४ जनाको पुरानो यात्रा विवरण समेत भारतीय पक्षसँग मागेर अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार उदयपुर र वीरगञ्जमा संक्रमण पुष्टि भएका भारतीय नागरिकहरुले बताएको ‘ट्राभल हिस्ट्री’लाई नै आधार मानिएको छ । उनीहरुले बताएकै समयमै नेपाल प्रवेश गरेको र त्यसपछि भारत नगएको प्रहरी अनुसन्धानमा समेत खुलेको हो।
उदयपुरमा भेटिएका संक्रमित भारतीयहरु दिल्लीबाट आएका र २५ मंसीर (१० डिसेम्बर) मा जोगबनी नाका हुँँदै नेपाल भित्रिएका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनीहरुका साथमा भेटिएको रेलको टिकटले यही देखाउँछ । उनीहरुको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ जनामा संक्रमण देखिएको सार्वजनिक गरेको थियो।
उदयपुरका एसपी वीरबहादुर बुढाका अनुसार उनीहरु २५ फागुनमा सप्तरीबाट उदयपुर आएर मस्जिदमा बसिरहेका थिए । नेपाल आएपछि विराटनगर रानीस्थित मस्जिदमा ३५ दिन, विराटनगरकै अर्को मस्जिदमा ५ दिन बसेका थिए। त्यसपछि सुनसरीको भुताहामा २२ दिन र भोक्राहामा ८ दिन बसेर सप्तरीको बोदेबर्साइनमा सम्पन्न ३–५ फागुनको इज्तिमामा सहभागी भएका थिए।
इज्तिमा सम्पन्न भएपछि सुनसरीको भन्टाबारी, सप्तरीको कञ्चनरुप नपाको बरमझिया र चर्खिया तथा सप्तकोशी नपाको फत्तेपुर बजार र उदयपुरको सिवाही हुँदै २५ फागुनमा भुल्के पुगेका थिए । सबैजसो ठाउँमा पाँचदेखि सात दिन बस्दै पैदलै यात्रा गरेको दाबी संक्रमितहरुले गरेको प्रहरी स्रोत बताउँछ।
यसअघि ३० चैतमा वीरगञ्जमा भेटिएका संक्रमितमध्ये दुई जना भारतको नयाँदिल्ली र एक जना उत्तरप्रदेशका थिए । १४ जनाको टोलीमा रहेका उनीहरु वीरगञ्जको छपकैयाँस्थित यतिम खाना दारुल यातमा इस्लामिया (मक्का जामे) मस्जिदमा बस्दै गर्दा संक्रमणको पुष्टि भएको थियो । स्वदेश (भारत) जाने तयारीमा रहेका उनीहरु दुवै देशमा बन्दाबन्दी भएपछि वीरगञ्जमै रोकिएका थिए।
१३ चैत यता मक्का जामेमा बस्दै आएका उनीहरु त्यसअघि ८–१३ चैतमा वीरगञ्जकै छपकैयाँको अर्को एक मस्जिदमा बसेका थिए, भने ७ चैतका दिन सोही स्थानको बजार मस्जिदमा। त्यसअघि ८ फागुनदेखि ६ चैतसम्म पर्साकै सुगौलीस्थित विभिन्न मस्जिदमा बसेका उनीहरु बोदेबर्साइनमा ३–५ फागुनमा सम्पन्न इज्तिमा पश्चात त्यहाँ पुगेका थिए।
नयाँदिल्लीबाट १ पुसमा नेपालका लागि हिंडेको यो टोली मोरङको रानी नाका हुँदै २ पुसमा नेपाल प्रवेशपश्चात दुई दिन रानीकै मस्जिदमा बसेको थियो । त्यसपछि ४–१४ पुसमा सुनसरीको दुहबीस्थित जामे मस्जिदमा बसेका उनीहरु १६ पुसदेखि १ फागुनसम्म इनरुवाका विभिन्न मस्जिदमा बसेर, ३–५ को बोदेबर्साइनको धार्मिक भेलामा सहभागी भएका थिए । अहिले संक्रमण पुष्टि हुनु दुई दिन अघि २८ चैतदेखि उनीहरुलाई वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।
सप्तरीमा यो टोली बसेको मस्जिदबाटै उदयपुरको भुल्केमा आउजाउ गर्ने सप्तरी सुरुङाका १८ वर्षे युवामा पनि ७ वैशाखमा संक्रमण पुष्टि भएको हो।
यस्तै वीरगञ्जको नगवा बसपार्कमा चिया पसल संचालन गर्ने महिला १७ चैतमा वीरगञ्जबाट बस चढेर कैलाली पुगेकी थिइन् । जसको २९ चैतमा गरिएको कोभिड–१९ परीक्षण पोजिटिभ आएको थियो । यसबाहेक नयाँदिल्लीको पहाडगञ्जस्थित एक गार्मेन्ट उद्योगमा काम गर्ने रौतहटका १९ वर्षे युवामा पनि कोभिड–१९ संक्रमण पुष्टि भएको छ।
मस्जिद र मदरसाको अनुगमन बिहीबारबाट
राष्ट्रिय मुस्लिम आयोगको नेतृत्वमा बिहीबारदेखि देशभरका मस्जिद र मदरसाहरुमा स्वास्थ्यकर्मीसहितको टोलीले अनुगमन गर्ने भएको छ । यसका लागि देशभर अनुगमन समिति गठन गरिएको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले हिमालखबरलाई बताए ।
अन्सारीका अनुसार मदरसा र मस्जिदमा बसिरहेका ४ देखि १० जनासम्मको अनिवार्य जाँच गरिने र आवश्यकता हुँदा अरुको पनि जाँच हुनेछ । पहिलो चरणमा कोभिड–१९ संक्रमण पुष्टि भएका जिल्ला र त्यसको आसपासका जिल्लाका मस्जिद र मदरसाहरुमा अनुगमन र जाँचलाई तीव्रता दिन टोली बनिसकेको छ।
“हामी भोलिदेखि मस्जिद र मदरसाहरुमा अनुगमन गर्दैछौं,” अन्सारीले भने, “कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि मुस्लिम समुदायले पूर्ण रुपमा सरकारको साथ दिनेछ ।”
यसअघि आयोगले ७ वैशाखमा सर्वपक्षीय बैठक आयोजना गरेर कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक रणनीति बनाएको थियो । बैठकले कोरोना भाइरसले निम्त्याएको राष्ट्रिय संकटमा मुस्लिम समुदायले सरकारले गरेका सबै निर्णयहरूलाई प्रभावकारी ढंगले लागू गराउन सबै किसिमले सहयोग गर्ने निर्णय गरेको थियो।
आयोगका अनुसार अहिले देशभरका विभिन्न मस्जिद र मदरसाहरुमा १ सय ७० जना तब्लिगी जमातका विदेशी नागरिकहरु बसिरहेका छन् । जसमा ९८ भारतीय, ५९ पाकिस्तानी र १३ इन्डोनेशियालीहरु रहेका छन् । अध्यक्ष अन्सारीका अनुसार भारतमा गत महीना सम्पन्न इज्तिमामा सहभागी २० नेपालीहरुको जाँच भइसकेको र सबैको रिपोर्ट नेगेटिभ आएको बताएका छन्।