कोरोना महामारी: निको भए ७ लाख संक्रमित
विश्वभर कोरोनाभाइरस (कोभिड-१९) का संक्रमितमध्ये उपचारपछि निको हुनेको संख्या ७ लाख नाघेको छ।
बुधबार दिउँसो सवा ३ बजेसम्मको विवरण अनुसार, कुल संक्रमित २५ लाख ७१ हजार ६ सयभन्दा बढी पुगेकोमा तीमध्ये ७ लाख १ हजारभन्दा बढी उपचारपछि निको भएका छन्। यस्तै, संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७८ हजार नाघेको छ।
विश्वभर कोरोनाभाइरसका सक्रिय संक्रमित १६ लाख ९२ हजारभन्दा बढीको अहिले उपचार भइरहेको छ। तीमध्ये ५७ हजार २ सयभन्दा बढीको अवस्था गम्भीर रहेको वर्ल्डोमिटरको तथ्यांकमा उल्लेख छ।
कोरोनाको प्रकोप सबैभन्दा बढी देखिएको अमेरिकामा ८ लाख १९ हजारभन्दा बढी संक्रमित छन्। तीमध्ये ८२ हजार ९ सयभन्दा बढी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ४५ हजारभन्दा बढीको मृत्यु भएको छ।
संक्रमणबाट दोस्रो बढी प्रभावित यूरोपेली मुलुक स्पेनमा २ लाख ८ हजारभन्दा बढी संक्रमितमध्ये ८५ हजार ९ सयभन्दा बढी उपचारपछि घर फर्किएका छन्। त्यहाँ संक्रमणबाट २१ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ। पछिल्लो पटक स्पेनमा ४ हजार २ सयभन्दा बढी नयाँ संक्रमित थपिंदा ४ सय ३५ जनाको मृत्यु भएको छ।
यस्तै, महामारीबाट आक्रान्त अर्को यूरोपेली देश इटालीमा हालसम्म १ लाख ८३ हजारभन्दा बढी संक्रमित भएका छन्। तीमध्ये ५१ हजार ६ सय जना उपचारपछि निको भएका छन् भने २४ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ।