'स्कूल विदामा समयको भरपुर सदुपयोग गरिरहेकी छु'
“रोकथाम उपचारभन्दा राम्रो हो” अब हामी पनि यो भाइरसबाट संक्रमित हुनुभन्दा पहिलेदेखि सुरक्षित रहनु बुद्धिमानी हुन्छ ।
“मेरो नाम आयुष्ना अधिकारी हो । अहिले कक्षा ९ को परीक्षा दिएर सानोठिमीको आफ्नै घरमा बसिरहेकी छु । मैले कोरोना भाइरसको बारेमा संचारमाध्यमबाट सुनेकी थिएँ । यो भाइरसबाट नेपालमा अहिलेसम्म ४२ जना संक्रमित भइसकेको खबर आएको छ । यसको औषधि अझै पत्ता लागेको छैन । भनिन्छ नि “रोकथाम उपचारभन्दा राम्रो हो” अब हामी पनि यो भाइरसबाट संक्रमित हुनुभन्दा पहिलेदेखि सुरक्षित रहनु बुद्धिमानी हुन्छ ।
आफूलाई सुरक्षित राख्न म बेलाबेलामा साबुनपानीले हात धुन्छु । स्यानिटाइजरको प्रयोग गर्छु । पसल जानुपरेको खण्डमा माक्स लगाएर मुख छोप्छु ।
यो कोभिड–१९ को कारणले देश लकडाउन गर्नु अघि नै मेरो कक्षा ९ को परीक्षा सकिइसकेको थियो । सर र म्यामहरुले छिटो छिटो सम्पूर्ण पाठ्यक्रमका कोर्षहरु पढाएर पूरा गरिसक्नुभएको थियो । परीक्षाको तयारी गर्नका लागि भने चाहिं सोचेजस्तो समय पाइनँ । बन्दाबन्दीको कारण परीक्षाफल अझै आएको छैन । परीक्षाफल कस्तो आउँला भनेर मनमा एकदम डर लागिरहेको छ ।
अहिले मेरो स्कूलको छुट्टी हुने समय हो । यो कोरोनाको महामारी नआएको भए शायद म अहिले मेरो परिवारसँग स्कूल विदामा कतै घुम्न गएकी हुन्थे होला । तर के गर्नु यो परिस्थितिले घुम्न जाने योजना पूरा भएन ।
तर अहिले घरभित्रै बसिरहनु परिरहेको समयमा आफ्नो समयको राम्ररी सदुपयोग गरिरहेकी छु । एउटा खुल्ला किताब भन्ने वेबसाइटबाट कक्षा १० को कोर्षहरु डाउनलोड गरेर हरेक बिहान पढ्ने गरेकी छु । आफैंलाई नयाँ केही सिकिरहेजस्तो लागिरहेको छ । अरु फुर्सदको बेला आमालाई भान्छामा सघाउँछु । यो कामले पनि मलाई आत्मनिर्भर हुन सिकाइरहेको छ ।”
कथा किन ?
अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तीमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ । संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागी हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ । जो अहिले तेस्रो सातामा छ ।
विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ । हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तिकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना । २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखी हिमालखबर पनि जोडिएको छ ।
मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो । भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन् । एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन् । अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छाैं ।
संयोजक, कथा कोरोना टीम
@KathaCorona
सम्पादक
himalkhabar.com
@HImal_khabar