भारतमा संक्रमितको संख्या २० हजार नाघ्यो, एकै दिन ५३ जनाको मृत्यु
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २० हजार नाघेको छ। गएको आइतबार र सोमबार नयाँ संक्रमित भेटिने क्रम केही घटे पनि मंगलबार फेरि बढेको छ।
मंगलबार एक हजार ५४१ नयाँ संक्रमित भेटिएका छन्। सोमबार ९२४ र आइतबार १२५० संक्रमित भेटिएका थिए।
शनिबार भने दुई हजार १३ नयाँ संक्रमित भेटिएका थिए। भारतमा एकै दिन भेटिएका नयाँ संक्रमितको संख्या यो हालसम्मकै ठूलो हो।
मंगलबार भारतमा एकै दिन अहिलेसम्मकै बढी ५३ जनाको मृत्यु भयो। योसँगै मृत्यु हुनेको संख्या ६४५ पुगेको छ। अहिलेसम्म त्यहाँ तीन हजार ९७५ संक्रमित निको भएका छन्। सक्रिय संक्रमितको संख्या १५ ४६० छ।
भारतका दिल्ली, पंजाब र हरियाणा बढी प्रभावित छ। त्यहाँ पूर्णरुपले बन्दाबन्दी गरिएको छ। महाराष्ट्र, राजस्थान लगायत राज्य पनि प्रभावित छन्। भारतले देशभरिका १७० जिल्लालाई ‘रेड जोन’ मा राखेको छ।