अमेरिकामा घटेन कोरोनाभाइरस संक्रमण र मृत्युदर, मृतकको संख्या ४५ हजार नाघ्यो
अमेरिकामा विगत १५ दिनदेखि संक्रमित र मृत्युदर औषतमा स्थीर देखिएको छ। जसकारण त्यहाँ संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ। सक्रिय संक्रमितको संख्या ६ लाख ९० हजारभन्दा बढी छ भने ४५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
मंगलबार मात्र त्यहाँ दुई हजार ८०८ जनाको मृत्यु भयो। करीब २६ हजार नयाँ संक्रमित फेला परेका छन्।
विगत १५ दिन यता हरेक दिन औषतमा दुई हजारको मृत्यु भएको छ। १५ दिनमा पाँच दिन मात्र दुई हजारभन्दा कमको मृत्यु भएको छ। अप्रिल १६ मा एकै दिन दुई जार ६१८ जनाको मृत्यु भएको थियो।
पछिल्लो २१ दिन यता हरेक दिन २५ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिने गरेका छन्। अप्रिल ४ मा सबैभन्दा बढी ३४ हजार ४०३ नयाँ संक्रमित भेटिएका थिए।
सबैभन्दा बढी आक्रान्त भएको न्यूयोर्कमा अहिलेसम्म १९ हजार ६९३ जनाको मृत्यु भइसकेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या दुई लाख ७२ हजारभन्दा बढी छ।
न्यूयोर्कमा अस्पतालमा बेड अभाव भएपछि पाल टाँगेर बिरामी राखिएको छ। शव राख्नका लागि रेफ्रिजेनेरेटरसहितका गाडी अस्पतालबाहिर राखिएका छन्।