काेराेना भाइरस महामारी: मृत्युकाे जाेखिममा महिलाभन्दा पुरुष बढी
अहिलेसम्म हामीले कोभिड १९ को जोखिममा वृद्धहरु बढी रहेको थाहा पाएका छौं तर जोखिमको अर्को मुख्य कारक पनि देखापरेको छ। अर्थात् पुरुषहरु बढी जोखिममा रहेको देखिएका छन् ।
ग्रहम लावटोन
लक डाउन भएको केही समयपछि वुहाउनस्थित अस्पतालको अभिलेखबाट लैंगिक भिन्नताअनुसार कोभिड १९ को असर फरक पर्ने संकेत देखापर्यो ।
३० जनवरीमा सांघाइ जियाओतोङ युनिभर्सिटी स्कूल (Shanghai Jiaotong University School) अफ मेडिसिनको एक समूहले कोभिड १९ बाट संक्रमित ९९ जनामा केन्द्रित भएर गरेको एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गर्यो । ती सबै १ देखि २० जनवरीका बीच जिनिन्टन वुहाउन अस्पताल (Jinyintan Wuhan hospital) मा भर्ना भएका थिए । भर्ना भएकाहरु मध्ये महिलाहरु भन्दा पुरुषहरु धेरै थिए ।
मृत्यु हुनेहरु मध्ये लैंगिक भिन्नता पनि थियो । उदाहरणका लागि २१ देखि ३० जनवरीका बीच वुहानका २१ वटा अस्पतालबाट प्राप्त तथ्यांक अनुसार मर्नेहरुमध्ये ७५ प्रतिशत पुरुष थिए ।
त्यसपछि अन्य देशहरुमा गरिएका अध्ययनहरुले पनि यी पहिलेका निष्कर्षहरुलाई नै पुष्टि गर्दै गएका छन् । उदाहरणका लागि इंगल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा सघन हेरचाह गर्न भर्ना गरिएका सिकिस्त बिरामीहरुमध्ये लगभग ७० प्रतिशत पुरुष थिए । महिलाका तुलनामा पुरुषहरुको संख्या अधिक थियो ।
न्युयोर्क शहरका अस्पतालहरुमा ४००० भन्दा बढी कोविड १९ बिरामीमाझ अर्को अध्ययन गरिएको थियो । ती मध्ये ६२ प्रतिशत पुरुष नै थिए ।
यो भिन्नता संक्रमणको दर अन्तरका कारणले भएजस्तो देखिँदैन । न्युयोर्कमा गरिएको सो अध्ययनले पुरुष र महिला दुवैलाई समानतवरले भाइरस लाग्न सक्ने भए पनि पुरुषहरु सिकिस्त हुने र मृत्यु हुने संभावना बढी रहेको देखियो ।
धूमपान र एसीइ टु
अघिका कोरोना भाइरसजन्य रोगहरु सार्स र मर्सले पनि पुरुषलाई अनुपातिक रुपमा बढी असर गरेको देखिएको छ । सामान्यतः यो श्वासप्रणालीमा संक्रमण हुँदा त्यस्तो हुँदैन । इंगल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डको रिपोर्टमा पनि २०१७ र २०१९ का बीचमा भाइरल निमोनिया (इनफ्लुएन्जाको कारण) ले ग्रसित बिरामीहरुको लैगिक तथ्यांक हेरिएको थियो । यस टोलीमा पनि पुरुषहरुकै संख्या अधिक रहेको थियो । जसमा ४६ जना महिला मर्दा ५४ जना पुरुषको मृत्यु भएको थियो ।
लैंगिक भिन्नताको संभावित कारण धूमपान हो । चीनमा आधाभन्दा बढी पुरुष धूमपान गर्छन् । त्यहाँ धूमपान गर्ने महिलाहरु भने ५ प्रतिशत मात्र छन् । तमाखुको धुवाँको कारण फोक्सोका कोशिकाहरुमा प्रोटिनको सतह (एसीइ २) उत्पादन हुन्छ । त्यो भाइरसले तिनै कोशिकाहरुमा संक्रमण गर्दछ । यसको अर्थ धूमपानले त्यस्ता कोशिकाहरुलाई भाइरस संक्रमित हुन अति संवेदनशील बनाउँछ भन्ने पनि हुन सक्छ ।
यद्यपि लस एन्जलसस्थित क्यालिफोर्निया युनिभर्सिटी की हुवा लिण्डा काइले गरेको विश्लेषण अनुसार यो परिकल्पनालाई तथ्यांकले साथ दिएको छैन ।
चीनमा कोभिड १९ का कारण गम्भीर बिरामी परेकाहरु मध्ये १२.५ प्रतिशत मात्र धूमपान गर्नेहरु छन् । उनी भन्छिन्, जो सामान्य जनसंख्यामा धूमपान गर्नेहरुको अनुपातमा धेरै कम हो ।
अर्को संभावना के पनि छ भने सामान्यतः पुरुषहरु (विशेष गरी वृद्धहरु) को स्वास्थ्य महिलाहरुको भन्दा खराब रहन्छ । जसले गर्दा उनीहरुमा उच्च रक्तचाप, मधुमेह, क्यान्सर, फोक्सो र मुटुसम्बन्धी रोगको दर उच्च हुन्छ । यी सबै कोविड १९ सँग गम्भीरतासाथ जोडिएका छन् ।
न्युयोर्कका अर्का लेखकले यी मापकहरुको विश्लेषण गरेपछि कोभिड १९ को गम्भीरताका लागि मुख्य जोखिमको कारक लैंगिक भिन्नता होइन भन्ने थाहा भएको थियो ।
प्रतिरक्षा मतभेद
संभवत एउटा तर्क महिलाहरुमा प्राकृतिक रुपमै बलियो रोग प्रतिरोधी क्षमता हुन्छ भन्ने पनि हुन सक्छ । अक्सफोर्ड युनिभर्सिटीका इम्युनोलोजिस्ट फिलिप गोल्डर भन्छन्, “पुरुष र महिलाहरुको प्रतिरक्षा प्रणालीमा पर्याप्त अन्तरहरु छन् र यसले विभिन्न संक्रामक रोगहरुको परिणाममा महत्वपूर्ण प्रभाव पार्छ ।”
एउटा मुख्य भिन्नता भनेको के हो भने महिलाहरुको प्रत्येक कोशिकामा दुईवटा एक्स (X) क्रोमोजोम्स हुन्छन् तर पुरुषहरुमा एउटा मात्र । “एक्स (X) क्रोमोजोममा धेरै महत्वपूर्ण प्रतिरक्षा जीन (क्रिटिकल इम्युन जीन) हरु रहेका हुन्छन्,” गोल्डरले भने । उनका अनुसार विशेषरुपले टीएलआर ७ नामको प्रोटिनको जीन जसले कोरोना भाइरस जस्ता सिंगल स्ट्रेण्ड आर एन ए भाइरस पत्ता लगाउँछ ती एक्स (X) क्रोमोजोममा हुन्छ ।
“फलस्वरुप पुरुषको तुलनामा महिलामा त्यस्ता प्रतिरक्षा कोशिकाहरु दोब्बर हुन्छन् जसले कोरोनाभाइरस बिरुद्ध प्रतिरोधात्मक क्षमता महिलाहरुमा बढी हुन्छ” उनी भन्छन् ।
सामान्यत महिलाहरुको कोशिकामा एउटा एक्स क्रोमोजोम निस्क्रिय रहन्छ । टीएलआर ७ जीन प्रतिरक्षा कोशिकाबाट केही गरेर बच्नु भनेको महिलाहरुले अधिक प्रोटिन उत्पादन गर्छन् भन्ने हो ।
त्यहाँ महिलामा हुने यौन हर्मोनहरु एस्ट्रोजन र प्रोजेस्टरोनले प्रतिरक्षा प्रणालीलाई सहयोग गर्छ तर यसले कोभिड १९ मा के गर्छ भनेर अझै अनुसन्धान गरिएको छैन ।
अर्को एउटा संभावना सामान्यतः पुरुषहरु कम स्वच्छ हुन्छन् । जोन्स हप्किन्स विश्वविद्यालयका कुनिहिरो मत्सुसिता भन्छन्, “उनीहरुले हात धुने जस्ता आधारभूत सरसफाइका उपायहरु पालन गर्ने संभावना कम हुन्छ ।”
लैंगिक अन्तर सम्बन्धमा चीनमा गरिएको एक अध्ययनले अस्पतालमा कोभिड १९ संक्रमित पुरुषले फ्लु र व्याक्टेरियासहित अन्य भाइरस बोक्ने संभावना अधिक रहने औंल्याएको छ । यसले पुरुषहरुमा कोभिड १९ को गम्भीर लक्षणहरु बढाउन सक्छ ।