उदयपुरमा थप ११ जनामा कोरोनाभाइरस संक्रमण
प्रदेश-१ को उदयपुरमा मंगलबार थप ११ जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। योसँगै उदयपुरमा मात्रै २३ जनामा संक्रमण पुष्टि भएको छ। यसअघि गएको ५ वैशाखमा त्यहाँ १२ जनामा संक्रमण पुष्टि भएको थियो।
पछिल्लो संक्रमणको घटनासँगै देशभर कोरोना संक्रमितको संख्या ४२ पुगेको छ। जसमध्ये चार जना उपचारपछि घर फर्किसकेका छन्। संक्रमितहरुको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा ५ वैशाखमा संक्रमित देखिएका व्यक्तिहरुको सम्पर्कमा रहेका स्थानीय समुदायका २ सय ६० जनाको नमूना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको हो। यस्तै, थप २९ जनाको विराटनगरस्थित कोशी अस्पतालमा नमूना परीक्षण गर्दा शंकास्पद देखिएका आठ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गरिंदा आठ जनामै संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्ला ११ संक्रमितमध्ये ९ जना पुरुष र २ जना महिला छन्। यी सबैको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।