'बजारमा ठूलो पसल खोल्ने सपना अधुरै छ'
“मेरो नाम अजिता सुनार हो । मेरो घर चितवनको टाँडीमा पर्छ । मैले १२ कक्षा सम्म पढेको छु । हामी चार जना दिदी बहिनी छौं । आमाले हामी छोरीहरुलाई सानैदेखि आफनै खुट्टामा उभिन, स्वाभिमानी बन्न र आत्मर्भिर बन्नका लागि प्रेरित गरिरहनुहुन्थ्यो ।
मेरो विवाह तीन वर्ष अगाडि भएको हो । श्रीमान वैदेशिक रोजगारीमा हुनुहुन्छ । घरखर्चका लागि पैसा पनि पठाइरहनुहुन्थ्यो । तर पनि आफैं केही गरौं भनेर सिलाई पसलको शुरुवात गरें । घरमा सासुले पनि साथ दिनुभएकोले आफनो सिप, परिश्रम र ऋण लिएको पैसाले काम शुरु गर्न खासै अप्ठ्यारो भएन । अरु दुई जना दिदीलाई पनि काम सिकाई त्यहिं ज्यालादारीमा काम गर्न पनि लगाएँ। सामान्य कपडाहरु बेच्नका लागि पनि राख्न थालें ।
आफनो मिहिनेतको पहिलो पाइला सफलतातिर गएको देखेर म अझ हौसिएँ । बजारतिर मूल सडककै छेउमा अझ ठूलो पसल खोल्नेबारेमा सोच्दै थिएँ । एक्कासी कहिल्यै नसुनेको यो कोरोना सरुवा रोगले मेरो काममा पनि रोग लगायो । आम्दानीको स्रोत ठ्याम्मै सुक्यो । अर्डर पनि फाट्टफुट्ट नजिकको मात्र आउँछ । त्यो पनि आम्दानीको सट्टा उधारो मै जान्छ ।
श्रीमानलाई पनि यहाँबाट के भन्ने ? कोरोनाको कारण काम नभएकोले अहिले उहाँको पनि तलव छैन । न त फर्केर आउनै मिल्ने रहेछ । अब आम्दानी नभएपछि कसरी घर खर्च चलाउनु, पसलको भाडा, कामदारको ज्याला अनि ऋणको व्याज कसरी तिर्नु ?
श्रीमान एकातिर हुनुहुन्छ । सासु लिएर म अर्को तिर छु । म एक्लोले कता के गर्ने, कसरी समाधान निकाल्ने भनेर विचलित भइरहेकी छु । बेचैन मनलाई शान्त पार्न आमाको घर नजिकैको बारीमा मौसमी फसल, मकै गोडमेल, अदुवा, खुसार्नी लगाउन जान्छु । आशा छ, यो कोरोनाको रोग छिटै सकिएला र बजारमा ठूलो पसल खोल्ने मेरो सपना पूरा गर्न पाउँला कि ?“
कथा किन ?
अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तीमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ । संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागी हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ । जो अहिले तेस्रो सातामा छ ।
विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ । हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तिकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना । २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखी हिमालखबर पनि जोडिएको छ ।
मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो । भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन् । एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन् । अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छाैं ।
संयोजक, कथा कोरोना टीम
@KathaCorona
सम्पादक
himalkhabar.com
@HImal_khabar