११ चैतदेखिको बन्दाबन्दी (लकडाउन) का कारण कामधन्दा ठप्प भएपछि काठमाडौं उपत्यका र आसपासका जिल्लामा ज्यालादारी मजदूरी गर्नेहरुको बिचल्ली भयो। तीमध्ये कतिपय सयौं किलोमिटर पैदल छिचोल्दै गन्तव्यतिर लम्किए, कतिपय सरकारबाट सहयोग र सहज व्यवस्थाको पर्खाइमा बसे।
तर, कुनै उपाय नदेखेपछि उनीहरु पनि कोसौं दूरको गाउँ पुग्ने हतारोमा पैदलै घिस्रिन थाले। सोमबार नेपालगन्जका युवा प्रेमबहादुर चौधरी घर जाने क्रममा चन्द्रागिरी नगरपालिकास्थित त्रिभुवन पार्कमा विश्राम गरिरहेका थिए। घर पुग्ने व्यग्रतालाई मनभित्रै गाँठो पारेर उनी सयौं किलोमिटर दूरी जति दिन लागे पनि पैदलै छिचोल्ने हिम्मत जुटाउँदै थिए।
घर जान हिंडेका नेपालगन्जका प्रेमबहादुर चौधरी (पहेंलो लुगामा) र उनका साथीहरु ।
“मजदूरी गर्ने ठाउँमा रासनपानी सकिइसकेको थियो, बस्ने कुनै उपाय नभएपछि जसरी पनि गाउँ त पुग्नैपर्यो भनेर हिंडेको हुँ”, उनले पीडा सुनाए। मलिन मुहारले अझै भन्दै थिए, "आधा बाटोसम्म कटाइदिए पनि ठूलो राहत हुन्थ्यो नि!"
पैदलै घर जान हिंड्ने हूलमा प्रेमबहादुर जस्ता ज्यालादारी मजदूर मात्र थिएनन्, ६ महीनाको काखे बच्चा च्यापेकी आमा, जीर्ण कायाका मानिसहरू पनि थिए।
भोकै प्यासै हिंडेका यी दीनदुःखीहरूलाई गाँस र ओत दिन चन्द्रागिरी नगरपालिकाका केही मनकारी हातहरू अघि सरे। काठमाडौंबाट बाहिरिने मुख्य नाका थानकोटमा स्थानीय बासिन्दाको सहभागितामा राजनीतिक दलका कार्यकर्ताले उनीहरूलाई खाने र बास बस्ने व्यवस्था मिलाए। यी यात्रुलाई सेवा गर्न ३५ जना स्वयंसेवक खटिएका थिए।
बन्दाबन्दीमा हिंडेरै घर जान लागेकाहरुलाई चन्द्रागिरी नगरपालिकाको त्रिभुवन पार्कमा खाना खुवाउँदै स्वयंसेवक ।
५ वैशाखयताको चार दिनमा ५ सयभन्दा बढीलाई बस मार्फत गन्तव्यमा पठाएका छन्। उनीहरुलाई पठाउनुअघि नगरपालिकाको त्रिभुवन पार्कमा अस्थायी शिविर बनाएर बास बस्ने र खानाको व्यवस्था मिलाएको सहयोग अभियानका मिडिया संयोजक दिनेश परियारले जानकारी दिए।
"रातबिरात नभनी सिन्धुपाल्चोक, दोलखा, रामेछापदेखि हिंडेर आएका बाँके, बर्दिया, दाङ, सल्यान, प्यूठान, रोल्पा, कैलाली लगायत जिल्लाका मानिसलाई बस मार्फत गन्तव्यतर्फ पठाइसकेका छौं", उनले भने। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सांसदहरुको सहयोग र समन्वयमा ५ वैशाखदेखि ८ गतेसम्ममा ५ सय २९ जनालाई गन्तव्यमा पठाएको उनले बताए।
खुशीको कुरा, चप्पलको तलुवा खियाएर भए पनि घरको आँगन टेक्ने रनाहामा हिंडेका प्रेमबहादुर पनि तिनै ५ सय २९ भित्र परेर सोमबार राति गन्तव्यतर्फ गुडे।
परियारका अनुसार, दैनिक काम गरे मात्र खान पाउने अवस्थाका र टाढाबाट आएका मानिसहरुलाई शिविरमा राखेर अनुकूल व्यवस्था मिलाएर पठाइएको हो। "६ महीनाको काखे बच्चा च्यापेर आउनेहरु पनि हुनुहुन्थ्यो, यस्ता मानिसहरु दयनीय अवस्थामा थानकोटबाट बाहिरिरहेको देखेर मन नमानेपछि स्थानीयहरु मिलेर सहयोग गरेका हौं", परियारले भने। स्थानीय युवाहरुको पहललाई सांसद, प्रदेशसभा सदस्य र दाताहरुको सहयोगले हौस्यायो।
सम्पर्कमा आएका वास्तविक पीडितहरु सबैलाई गनतव्यमा पठाइसकेको र अब व्यवस्थित हिसाबले सहयोग अभियान सञ्चालन गर्ने योजना रहेको परियारले बताए।
घर जाने पर्खाइ ।
अस्थायी शिविरमा खेल्दै ।