बन्दाबन्दीमा अपराध: काइँयो किनिमाग्दा गयो सातवर्षे अंशुको ज्यान
बन्दाबन्दीका २६ दिनमा घरायसी झैझगडा र सामान्य विवादकै कारण आवेगमा हत्या प्रयास र हत्यासम्मका घटना भएका छन्।
बन्दाबन्दी (लकडाउन) शुरु भएकै दिन गएको ११ चैतमा पर्साको वीरगन्ज महानगरपालिका–१ छप्कैयाका २९ वर्षीय सञ्जय सर्राफ (सञ्जयकुमार साह) आत्तिंदै नारायणी क्षेत्रीय अस्पताल आए। उनको हातमा सातवर्षे छोरी अचेत थिइन्। जाँच्नासाथै बालिकालाई मृत घोषणा गरियो। चिकित्सकले घटनाबारे सोध्दा सञ्जयले छोरीले सलको पासो लगाएर झुन्डिएको बताए।
प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठायो। सातवर्षे बालिकाले आफैं पासो लगाएर आत्महत्या गरेको घटनाले प्रहरीलाई सशंकित बनायो। प्रहरीले अनुसन्धानका लागि बालिकाका पितालाई नियन्त्रणमा लिएर सार्वजनिक अपराधमा म्याद लियो।
घटनाको केही दिनमा आएको पोष्टमार्टम रिपोर्टले बालिकाको आत्महत्या नभई हत्या भएको देखायो। उनको घाँटीको हड्डी भाँचिएर हत्या भएको प्रतिवेदन आएपछि प्रहरी हत्यारा खोजीमा लाग्यो। प्रहरीको पहिलो शंका उपचारका लागि छोरी लिएर जाने बुवामाथि थियो। तर, उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गरिरहेका थिए।
सबै प्रमाण र पोष्टमार्टम रिपोर्टको तथ्यपछि अन्ततः आरोपित सञ्जयले छोरी अंशुको हत्या गरेको स्वीकारेको पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र शाहीले बताए। “कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेका छौं”, उनले भने।
काइँयो किनिमाग्दा गयो ज्यान
सरकारले बन्दाबन्दी घोषणा गरेको पहिलो दिन अंशु घरमै खेल्दै थिइन्। उनी बुवासँग माथिल्लो तलाको कोठामा थिइन् भने भाइ र पाँच महीनाकी बहिनी आमासँग घरको तल्लो तलामा थिए। बालसुलभ चञ्चलता अनुसार अंशु आमाको सललाई साडी बनाएर लगाउँदै ऐना हेर्दै थिइन्।
खेल्ने क्रममै उनले बुवासँग नयाँ काइँयो किनिदिन भनिन्। संजयले बन्दाबन्दीका कारण बजार बन्द भएकाले काइँयो ल्याउन नसक्ने भन्दै छोरीलाई सम्झाए। तर अबोध छोरीले मानिनन्। भनेको चिज नपाएपछि उनी रुन थालिन्।
टेम्पु चालक सञ्जय कामका क्रममा प्रायः घर बाहिरै हुन्थे। बन्दाबन्दीमा घर बसेका उनीसँग लाडिन पाएकी छोरीले आफ्नो माग राखिरहिन्। रोइकराइ गर्न थालेपछि सञ्जयले एक थप्पड लगाए। अंशु झन् डाँको छोडेर रुँदै अर्को कोठामा गइन्। उनको रुवाइ रोकिएन।
सञ्जयले फेरि सम्झाउन खोजे। छोरी झनै ठूलो आवाजमा रुन थालिन्। उनले छोरीलाई चुप लगाउन धम्क्याए, उनको रुवाइ अझै साम्य भएन। त्यसपछि सञ्जयले आवेगमा आएर छोरीको घाँटी अठ्याए। केही छिनमै अंशुको रोदन मात्र रोकिएन, शरीर नै चलमल हुन छाड्यो। सञ्जयले उनी चुप लागेको ठाने। तर, पिताको क्षणभरको आवेगले अंशुको प्राण हरिसकेको थियो।
आवेगका क्रूर घटना
बन्दाबन्दीको पहिलो दिन नै हुम्लाको अर्को घटनामा पनि जन्मदाताको क्रूरता प्रहरीको तथ्यांकले देखाउँछ।
हुम्लाको मिमि प्रहरी चौकीले ११ चैतमा चंखेली गाउँपालिका वडा नम्बर ३ कालमवाडामा बाबुले ६ महीने छोरीको हत्या गरेको सूचना पायो। प्रहरी तत्काल घटनास्थल पुग्दा हत्याका आरोपित २९ वर्षीय दिनेश चौलागाई फरार थिए। आमा भावविह्वल थिइन्। श्रीमतीसँगको रिसमा दिनेशले ६ महीने छोरी रुफिकालाई मुक्का हान्दा उनको ज्यान गएको थियो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख, डीएसपी रामप्रसाद घर्ती मगरले श्रीमान्–श्रीमतीबीचको विवादका कारण छोरीको हत्या भएको बताए। अभियुक्त चौलागाईंलाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थिति गराइसकेको छ। अदालतको ४ चैतको आदेशले उनलाई पुर्पक्षका लागि थुनामा राखिएको छ।
कोरोनाभाइरस फैलिन नदिन लागू गरेको बन्दाबन्दीका पछिल्ला २६ दिनमा दुई बाबु सहोदर छोरीको हत्या आरोपमा पक्राउ परेका छन्। यस्तै, तीन महिलाको श्रीमान्बाट हत्या भएको छ भने एकजना गम्भीर अवस्थामा उपचाररत छिन्।
प्रहरीका अनुसार, गएको २६ चैतमा बाजुराको गौमुल गाउँपालिकाको बिज्या ढुङगामा ४० वर्षीय गोरख रोकायाले आफ्नै श्रीमती ३३ वर्षीया सेतु रोकायालाई भरुवा बन्दुकले गोली हानी हत्या गरे। प्रहरीले उनलाई बन्दुक सहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
यस्तै, नयाँ वर्षको पहिलो दिन खोटाङको बाह्रपोखरी गाउँपालिका खुर्सानेमा ५० वर्षका छकुमार राईले श्रीमती मेनुका राईको खुकुरी प्रहार गरी हत्या गरे। सोही दिन संखुवासभा खाँदबारी नगरपालिका तुम्लिङटारमा ३२ वर्षका दोमन हस्दाले सामान्य विवाद हुँदा आफ्नै श्रीमती ३४ वर्षीया बालकुमारी लिम्बूलाई गर्धनमा खुकुरी प्रहार गरी घाइते बनाए। उनको तुम्लिङटारस्थित मनकामना अस्पतालमा उपचार भइरहेको छ।
२ वैशाखमा बाँकेको बैजनाथ गाउँपालिका पहाडीपुरमा ३९ वर्षका पलसिंह मगरले घरायसी विवादका क्रममा श्रीमती दिलमाया मगरको टाउकोमा बाँसको भाटाले प्रहार गरी हत्या गरे। ३४ वर्षीया दिलमायाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो।
३० चैतमा कञ्चनपुरको कृष्णपुर नगरपालिका लालीगुराँस टोलमा २४ वर्षे सिमल रानाले ५५ वर्षका आफ्नै बुवा तौला रानालाई घरको आँगनमा हँसियाले घाँटी रेटेर हत्या गरे। यस्तै, पर्सामा उर्मिलादेवी पण्डितको सासू, ससुरा र देवरानी मिलेर हत्या गरे। प्रहरीले २३ चैतमा उनको शव परिवारका सदस्यले गुपचुप रूपमा जलाउँदै गरेको अवस्थामा फेला पारेको थियो । उर्मिलादेवीका श्रीमान् वैदेशिक रोजगारीमा थिए।
प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशी बन्दाबन्दीमा सामान्य अवस्थाको तुलनामा जघन्य अपराधको संख्या घटेको तर आवेश प्रेरित घटनामा वृद्धि भएको बताउँछन्। “मानिसले आफ्नो रिस र आवेग नियन्त्रणमा राख्न नसक्दा यस्ता घटनाहरु भएको देखिन्छ”, उनले भने।
नवजात शिशुका शवहरू फेला
प्रहरीले बन्दाबन्दीका पछिल्ला २६ दिनमा देशका विभिन्न भागबाट नवजात शिशुको ६ वटा शव बरामद गरेको छ।
२९ चैतमा बुटवल उपमहानगरपालिका तिनाउ नदीको बगरमा सालनाल सहितको अन्दाजी ६ महीनाको शिशुको शव बरामद भएको थियो। यस्तै, २८ चैतमा पोखरा महानगरपालिकाको मालेपाटन गोल चौतारा र जनकपुर उपमहानगरपालिकास्थित प्रादेशिक अस्पताल नजिकै गरी दुई नवजात शिशु मृत भेटिएका थिए।
यस अवधिमा प्रहरीले इटहरी उपमहानगरपालिका, मोरङको रतुवामाई कज्ला खोलाको किनार र रुकुमको सानोभेरी गाउँपालिका चाइनाबगरमा एक–एक शिशुको शव फेला पारेको छ। मोरङमा शिशुको शव फालेको आशंकामा प्रहरीले ३८ वर्षीया महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनका श्रीमान् वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ।