'दिनदिनै कमाएर परिवार पाल्नुपर्नेलाई बन्दमा झन् कति ताप होला !'
आजकल त कसैले खोक्दा पनि कोरोना नै लागेको कि भनेर मनमा डर लाग्छ। एकातिर यो रोगको डर छ, अर्कोतिर यो बन्दले मन आत्तिएको छ ।
“मेरो नाम चम्फामाया वाईबा हो। म ७६ वर्षकी भएँ। मेरो घर मकवानपुरको माण्डुमा हो। अहिले म हेटोडामा मेरो जेठो छोरा, बुहारी र नातिसँग बस्दै आएकी छु ।
कोरोनाको बारेमा धेरै कुरा त थाहा छैन। तर समाचारमा यो रोगको बारेमा भनेको सुन्छु। अलि अलि बुझे जस्तो लाग्छ। कहिलेकाहीं पढे-लेखेका केटाकेटीहरुले कुरा गरेको सुन्छु। पढे-लेखेकाले भनेका कुरा बुझ्नै गाह्रो।
जेहोस् यति चाहिं थाहा छ कि, सफा बस्नुपर्छ अनि मान्छेहरुसँग सकेसम्म टाढा बस्नुपर्छ। अब गाउँ घरमा छिमेकीहरु आइरहन्छन्। तपार्इं नआउनुस् टाढै बस्नुस् पनि कसरी भन्नु ?
मैले पनि बेलाबेलामा हात गोडा साबुन पानीले धुने गरेकी छु। हाम्रोमा पुलिसहरु बाटो-बाटोमा टन्नै देखिन्छन् र दिनकै माइक फुकेर सूचना दिइरहेको सुन्छु। गाउँको घरमा बुढा, कान्छी छोरी र ७ वर्षे नातिनी छन्। अस्ति फोन गरेकी थिएँ। “बारीको काम त भैइरहेको छ तर तेल मसला सकिन लागिसक्यो बजार झर्नुपर्ने! खै कहिलेसम्म बन्द हुने हो, बन्द खुलेन भने त बर्बाद नै हुन्छ” भन्दै थिई कान्छी छोरीले ।
मेरो घुँडा असाध्यै दुख्छ। एक हप्ता अघि पनि बिरामी भएकै कारण जेठो छोरोले बोलाएर जँचाउन बजार झरेको थिएँ, धन्न जँचाएर चाहिं आउन भ्याएँ। अहिले जेठोले “बाहिर निस्कन हुन्न आमा” भन्छ, उताबाट अर्को छोराले पनी “यो बन्द खुलेपछि लिन आउँछु” भन्छ। टीभी हेर्दा पनि जुनसुकै च्यानलमा पनि यही कोरोनाले कति मान्छेहरु मरिसके भनेर देखाउँछ ।
आजकल त कसैले खोक्दा पनि कोरोना नै लागेको हाे कि भनेर मनमा डर लाग्छ। एकातिर यो रोगको डर छ, अर्कोतिर यो बन्दले मन आत्तिएको छ । खै के हुन लागेको हो यो कलियुगमा।
अस्ति टीभी हेर्दै थिएँ । दिनहुँ कमाएर छाक टार्ने वीरगञ्जका बासिन्दाहरु बन्दका कारण काठमाडोदेखि हिंड्दै आएका । अनि बाटामा खानेकुरा खाने पैसा नभएर चिउरा र दालमोठ खाएर हिंड्दै घर पुगेका । त्यस्तो समाचार सुन्दा साह्रै दु:ख लाग्यो । दिनदिनै कमाएर परिवार पाल्नुपर्नेहरुलाई यो कोरोनाको बन्दमा झन् कति ताप होला ।“
कथा किन ?
अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तीमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ । संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागी हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ । जो अहिले तेस्रो सातामा छ ।
विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ । हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तिकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना । २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखी हिमालखबर पनि जोडिएको छ ।
मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो । भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन् । एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन् । अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छैँ ।
संयोजक, कथा कोरोना टीम
@KathaCorona
सम्पादक
himalkhabar.com
@HImal_khabar