कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी जोगाउन ‘नर्सिङ रोबोट’, बन्दैछ भेन्टिलेटर पनि
चीन र इटालीमा जस्तै कोरोना संक्रमित बिरामीबाट स्वास्थ्यकर्मीलाई जोगाउन स्वदेशमै बनेको नर्सिङ रोबोट तयार छ भने भेन्टिलेटर बनाइँदैछ ।
कोभिड–१९ महामारीमा संक्रमित बिरामीको हेरचाह र उपचारका क्रममा विश्वमा धेरै स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मीको सेवा कसरी सुरक्षित हुनसक्छ ? संसारभर बहस भइरहेको छ ।
नेपाली युवा इञ्जिनियर टोलीले यसका लागि रोबोट उपयुक्त ठानेका छन् । र, यस्तो रोबोटको नाम पनि दिएका छन्— नर्सिङ रोबोट ।
हे.लिंक (उदाउँदा ‘स्टार्टअप’ उद्यम, बन्ला त अर्थतन्त्रको अंश ?)
यो रोबोटले बिरामीलाई आवश्यक खाना र औषधि उनीहरुसम्म पुर्याउनेछ ।
चीन, इटाली र पछिल्लोसमय अमेरिकाले स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न रोबोटको प्रयोग थालेका छन् ।
यसले स्वास्थ्यकर्मीलाई हेरचाह तथा औषधि उपचार लागि पटकपटक बिरामीसमक्ष गइरहनुपर्ने बाध्यता हटाई संक्रमणबाट बचाउने अपेक्षा गरिएको छ ।
मुलुकमै पहिलोपटक रोबोटिक सेवा विस्तार गरेको पाइला टेक्नोलोजीले अहिले यस्तै रोबोट बनाएको हो । यसअघि यो कम्पनीले ब्यांक, होटल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका ठाउँमा रोबोट सेवा शुरु गरिसकेको छ ।
काठमाडौं दरबारमार्गस्थित नौलो स्टुरेण्टमा रोबोटमार्फत ग्राहकलाई खाना पुर्याउने सेवा सञ्चालन गरेको पाइलाले त्यहीँ रोबोटलाई नै परिमार्जन गरेर स्वास्थ्य सेवामा प्रयोग गर्न लागेका हुन् ।
हे.लिंक (‘सरकारी साथ पाउने हो भने स्टार्टअपले अर्थतन्त्रमा अभूतपूर्व परिवर्तन ल्याउनेछ’)
५ वैशाखमा यो रोबोटको ललितपुरस्थित सुमेरु अस्पतालमा परीक्षण पनि गरिएको थियो ।
पाइलाका संस्थापक विनय राउत कोरोना आफुहरुले बनाएको रोबोट बारे स्वास्थ्य मन्त्रालयसँगै अस्पतालहरुलाई पनि जानकारी गराएको र सबैबाट सकारात्मक प्रतिक्रिया पाएको बताउँछन् ।
“रोबोट तयार छ, प्रयोग गर्न चाहनुहुनेले सम्पर्क राख्न हामी आग्रह गर्दछौं”, रावत भन्छन् ।
पाइला टेक्नोलोजीका अर्का संस्थापक आयुस कसजु यो रोबोटका लागि भारतका नीति अस्पताल र भारतीय जनता पार्टीका नेताले समेत चासो देखाएको बताउँछन् ।
यसअघि पनि पाइलाले बनाएका रोबोटहरु विभिन्न प्रयोजनका लागि अमेरिका लगायतका मुलुकमा निर्यात भइसकेको छ ।
कम्पनिले कोभिड–१९ को संक्रमण कम गर्न थप दुई वटा रोबोट पनि बनाएको छ । जसमध्ये एकले संक्रमण रोक्न स्प्रे छर्ने र अर्कोले अल्ट्राभायोलेट लाइटमार्फत संक्रमण रोक्ने काम गर्छ ।
यसअघि चीनका विभिन्न अस्पतालहरुले बिरामीलाई खाना, औषधि पुर्याउन र बेडका तन्ना मिलाउन, अस्पतालजन्य फोहोर संकलन गर्न रोबोट प्रयोगमा ल्याएका थिए।
बन्दैछ भेन्टिलेटर
पाइलाले रोबोट बाहेक सिकिस्त बिरामीको उपचारका लागि अत्यावश्यक भेन्टिलेटर पनि बनाउन थालेको छ ।
अहिले देशमा कोरोना संक्रमित सिकिस्त बिरामीको संख्या बढेमा उपचारमा आवश्यक भेन्टिलेटरको अभाव छ ।
राउत वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालालगायतका चिकित्सकहरुसँगको सल्लाहमा भेन्टिलेटरको डिजाइन तयार पारेको र अहिले बनाइने क्रममा रहेको बताउँछन् ।
“भेन्टिलेटरको पहिलो उत्पादन यही साता सार्वजनिक गर्दैछौ”, उनी भन्छन् ।