विश्व स्तरीय बाल कविता प्रतियोगिता
शैली थिएटरले संस्थागत विद्यालय संघ, नेपाल (इसान) सँगको सहकार्यमा ‘विश्व बाल कविता महोत्सव–२०७७’ आयोजना गरेको छ ।
कोभिड–१९ संक्रमणको जोखिम घटाउन सरकारले लकडाउन गरेपछि घरमै बसिरहेका बालबालिकालाई सिर्जनशील बनाउने लक्ष्यसहित कविता महोत्सव आयोजना गरिएको महोसव निर्देशक नवराज बुढाथोकीले बताए ।
उनले भने, "पहिलो चरणमा राष्ट्रिय स्तरको मात्रै प्रतियोगिताको सूचना सार्वजनिक गरेको शैलीले विश्वका अधिकांश देशमा लकडाउन भएकाले त्यहाँ रहेका नेपाली बालबालिकालाई समेत जोड्नका लागि यसको दायरा फराकिलो पारिएको छ । त्यसैगरी कविता पठाउनका लागि अन्तिम अवधि पनि थपिएको छ ।"
उनका अनुसार नेपालमा एसइई तयारी गरिरहेका वा त्यसभन्दा तलको कक्षामा अध्ययनरत विद्यार्थीको समकक्षी हुने विश्वका कुनै पनि देशमा रहेका नेपाली बालबालिकाले कविता पठाउन सक्नेछन् ।
कविता पठाउने अन्तिम मिति बैशाख मसान्त तोकिएको छ । प्रतियोगितामा समावेश हुने कविताको भाषा भने नेपाली नै हुनुपर्ने संयोजक सरस्वती अधिकारीले जानकारी दिइन् ।
कविताको शीर्षक वा विषयवस्तु छनोटमा प्रतियोगीहरू स्वतन्त्र रहने भए पनि यसको भिडियोमा भने चार मिनेटको सीमा तोकिएको छ । कविता लिखित र प्रतियोगीले नै वाचन गरेको भिडियो गरी दुवै संरचनामा पठाउनु पर्ने उनले बताइन् ।
यसअघि हरेक बर्ष राष्ट्रिय बाल नाटक महोत्सव गरिरहेको शैलीले यस बर्षदेखि कविता महोत्सव पनि सँगै लिएर जाने योजना बनाइरहेको सह–निर्देशक सुवास सुवेदीले बताए । उनका अनुसार राष्ट्रिय बाल नाटक महोत्सवको समयमा प्रतियोगितामा उत्कृष्ट २० कविताले वाचनको मौका पाउनेछन् भने उत्कृष्ट ५ कविता पुरस्कृत हुनेछन् ।
प्रतियोगितमा कविता पठाउन शैलीले इमेल ठेगाना [email protected] र जानकारी लिन सहनिर्देशक सुवास सुवेदीको मोबाइल नं. ९८४६१३८००५ तथा संयोजक सरस्वती अधिकारीको मोबाइल नं. ९८४९९३७४६५ सार्वजनिक गरेको छ ।
शैली थिएटरको फेसबुक पेजमा म्यासेज गरेर पनि जानकारी लिन सकिने संयोजक अधिकारीले जानकारी दिइन् ।