'बाँचुञ्जेल परिवारसँग खुशीले बाँच्छु, भोलि के हुने हो हेर्दै जाऊँ।'
यो बन्दाबन्दीका कारण अरु कुरामा जतिसुकै दुःख भए पनि एउटा कुरा चाहिं राम्रो भएको छ। अरुबेला छोरा, बुहारी र नातिनी आ–आफ्नो काममा जान्थें। हामी बुढाबुढी मात्र घरमा हुन्थ्यौं। कामले गर्दा छोरा त धेरै राति आउँथ्यो। तर अहिले सबै जना घरमै सँगै बस्न पाएका छौं।
“मेरो नाम मैयाँ कुमारी शर्मा हो। म कुपण्डोल, ललितपुरमा बस्छु । आज (७ वैशाख) मेरो जन्मदिन हो। म ६४ वर्ष पूरा भएँ। मर्दै बाँच्दै गरेको मान्छे भएर होला हरेक वर्ष जन्मदिन आउँदा पनि खुशी लाग्छ। मलाई धेरैथरि रोग लागेको छ। तर औषधी, उपचार र परिवारको मायाले अहिलेसम्म बचाइराखेको छ।
विगत २० वर्षदेखि मैले सुगरको औषधी खाइरहेकी छु। अहिले पनि दिनमा ५ पटक इन्सुलिन लगाउनु पर्छ। प्रेसर र थाइराइडको औषधी पनि धेरै पहिलेदेखि खाइरहेकी छु। दुई वर्ष अगाडि पाठेघरको मुखमा क्यान्सर देखियो। धेरै दुःख पाएँ तर त्यसलाई पनि जितें। पछि फोक्सोमा क्यान्सर देखियो। अहिले त्यसैको उपचार गर्दैछु।
फोक्सोमा क्यान्सर धेरै नफैलियोस् भनेर मैले महिनामा एक पटक सुई लगाउन हस्पिटल जानु पर्छ। त्यो सुई यहाँ पाइँदैन दिल्लीबाट मगाउनु पर्छ। अहिले प्लेन, बस सबै बन्द छ। एक पटकलाई लगाउन पुग्ने सुई बाँकी छ भन्नु भाको छ, डाक्टरले । अर्को महिना ख्वै के गर्ने हो?
सुगरको बिरामी भएकाले नियमित रगत जचाउनु पर्छ। सधै रगत जँचाउन जाने ठाउँमा हिजो गएकी थिएँ। बन्द रहेछ, फर्केर आए। सुई लगाउन आज हस्पिटल जानुपर्छ। छोराछोरीले वडा अफिसमा कुरा गरेर जसरी भएपनि लैजान्छौं भनेका छन्। हेराैं, अब के हुन्छ।
म विहान तँग्रिनका लागि यसो हिंड्ने गर्थें। अहिले कतै निस्केकी छैन। फोक्सोका कारण मलाई खोकी लागिरहन्छ। त्यसैले घर भित्र पनि मास्क लगाएर बस्छु । बेला बेला साबुन पानीले हात धुन्छु । यो रोग लागेर धेरै मान्छे मरेको समाचारहरुमा देखाउँछ। नेपालमा पनि यो रोग लाग्ने मान्छे बढ्न थाले भन्छन् । के हुने हो भनेर डर लाग्छ।
यो बन्दाबन्दीका कारण अरु कुरामा जतिसुकै दुःख भए पनि एउटा कुरा चाहिं राम्रो भएको छ। अरुबेला छोरा, बुहारी र नातिनी आ–आफ्नो काममा जान्थें। हामी बुढाबुढी मात्र घरमा हुन्थ्यौं। कामले गर्दा छोरा त धेरै राति आउँथ्यो। तर अहिले सबै जना घरमै सँगै बस्न पाएका छौं।
तर छोरीहरु र ठूली नातिनीलाई भेट्न नपाएको एक महिना भइसक्यो। आज विहानै भिडियोमा फोन गरेर “ह्याप्पी बर्थ डे आमा” भने । म दंग छु।
यो कोरोनाले गर्दा के हुने हो कसैलाई थाहा छैन। अब मैले नियमित रगत जाँच्न, सुई लगाउन, अस्पताल जान पाउँला कि नपाउँला? पिर त लागिरहन्छ। तर बाँचुञ्जेल परिवारसँग खुशीले बाँच्छु, भोलि के हुने हो हेर्दै जाऊँ। ह्याप्पी बड्डे टु मी!”
कथा किन ?
अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तीमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ । संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागी हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ । जो अहिले तेस्रो सातामा छ ।
विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ । हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तिकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना । २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखी हिमालखबर पनि जोडिएको छ ।
मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो । भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन् । एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन् । अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छैँ ।
संयोजक, कथा कोरोना टीम
@KathaCorona
सम्पादक
himalkhabar.com
@HImal_khabar