अमेरिकाका ३१ राज्यले दिए चालू शैक्षिक सत्रभरि विद्यालय बन्दको आदेश
अमेरिकाका कम्तीमा ३१ राज्यका गभनर्सले कोरोनाभाइरस संक्रमण घटाउन बाँकी शैक्षिक सत्रभरि विद्यालय बन्दलाई निरन्तरता दिन आदेश वा सुझाव दिएका छन् ।
फ्लोरिडा, टेक्सास, वाशिङ्टन लगायत २६ राज्य र वाशिङ्टन डीसीले विद्यालय बन्द गर्न आदेश जारी गरिसकेका छन् । फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले शनिबार पत्रकारहरुसँग भने, “निश्चित पनि यो राम्रो अवस्था होइन तर, स्कूल बन्द गर्नु नै उत्तम निर्णय हो भन्ने हामीलाई लाग्यो ।”
संघीय सरकारले सामाजिक दूरीको आदेशलाई विस्तारै हटाउँदै जाने घोषणा गरेको छ । टेक्सास, मिनिसोटा लगायत राज्यले त्यसको कार्यान्वयन पनि थालिसकेका छन् । तर, बालबालिकाहरु अझै विद्यालय जाने अवस्था नभएको सीएनएनले जनाएको छ।
धेरै राज्यले विद्यार्थीलाई दूर शिक्षाका माध्यमबाट पढाउन सुझाव दिएका छन् । क्यालिफोर्निया, इडाहो, मेन, दक्षिण डकोटा र टेनेसीले दूर शिक्षाबाट पढाउन सिफारिस गरेका छन् । सीएनएनले शिक्षा सम्बन्धि पोर्टल ‘एजुकेशन विक’लाई उधृत गर्दै जनाए हनुसार यो निर्णयले विद्यालयमा पढ्ने तीन करोड ३२ लाख बालबालिका प्रभावित हुनेछन् ।
अलाबामा, अलास्का, फ्लोरिडा, जर्जिया, मिचिगन, मिसिसिपी, विस्कन्सन लगायत २७ राज्यले त अनिवार्य विद्यालय बन्दको आदेश दिएका छन् ।