उपत्यकाको बन्दाबन्दीः जोखिमबारे बुझेकाहरू नै रमिता हेर्न सडकमा
अत्यावश्यक कामविना घरबाट निस्कन रोक लगाइए पनि भाइरस संक्रमणको जोखिमबारे बुझेकाहरूले नै नियम उल्लंघन गर्ने गरेका छन्। कतिसम्म भने, सजाय स्वरूप कोरोनाभाइरसबारे सचेतना कक्षा दिने प्रहरीलाई नै उनीहरूले महामारीबारे बुझाउँछन्।
महानगरीय प्रहरी प्रभाग मंगलबजार ललितपुरकी प्रमुख, प्रहरी निरीक्षक चन्चला श्रेष्ठ लकडाउन (बन्दाबन्दी) पालना गराउन सडकमा खटिएकी थिइन्। एक अधबैंसे पुरुष भेटिए। बाहिर निस्कनुको कारण सोध्दा ती व्यक्तिले विश्वलाई नै प्रभावित पारेको कोरोना महामारीको जोखिमप्रति सरोकार नभए झैं सहजै भने, ‘दिनभर घर बसेर खुट्टा दुखिसक्यो, एकछिन खुट्टा तन्काउन निस्केको।’
जवाफ सुनेर प्रहरी निरीक्षक श्रेष्ठ अवाक् बनिन्। त्यसपछि ती पुरुषलाई रोकेर कोरोनाभाइरस संक्रमण कसरी हुन्छ, घरमा बस्न किन जरुरी छ भनेर बुझाउन खोजिन्। तर, कुरा पूरा हुन नपाउँदै पुरुषले भने, ‘मलाई सबै थाहा छ । तर, कत्ति घरमा बस्नु, यहीं नजिकैसम्म निस्कँदा त के हुन्छ र ?’
यो उदाहरण दिंदै श्रेष्ठले संक्रमणको जोखिमबारे बुझेका मानिसहरू नै विभिन्न बहाना बनाएर घरबाट निस्कने गरेको बताइन्। उनको आफ्नो क्षेत्रमा दैनिक कम्तिमा ५० जना काम नै नपरी सडकमा निस्कने गरेका छन्।
सवारी पासको पनि दुरुपयोग भइरहेको बताउँदै उनले भनिन्, “अस्पताल जान एउटा नम्बरको गाडीले लिएको पास अर्को नम्बरको गाडीले चलाएको पायौं। कहाँ किन जान लागेको भनेर केरकार गरेपछि बल्ल ती व्यक्तिले एक राउन्ड लगाएर लकडाउन हेर्न निस्किएको बताए।” यस्ता व्यक्तिहरुका कारण साँच्चिकै समस्यामा परेर निस्कने व्यक्तिहरुलाई अप्ठ्यारो परेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ।
अत्यावश्यक सामान किन्न भन्दै नजिकैको पसलमा नगई टाढा जाने, समूह बनाएर किनमेलमा जानेहरूका कारण जोखिम भएको उनी बताउँछिन्। उनका अनुसार, बन्दाबन्दी उल्लंघन गर्ने व्यक्तिहरूलाई तीन घण्टा रोक्ने नियम भए पनि अवस्था हेरेर छोड्ने गरिएको छ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राई पनि शिक्षित वर्गले नै बन्दाबन्दी बढी उल्लंघन गर्ने गरेको बताउँछन्। उनी भन्छन् “कुकुर डोर्याउँदै सडकमा निस्कनेहरू पनि हुनुहुन्छ, सम्झाउँदा मास्क र पन्जा लगाएर सुरक्षित हिंडेकै छ भन्ने जवाफ आउँछ।” त्यसरी निस्कनेलाई तीन घण्टासम्म सडकमै रोकेर कोरोनाभाइरसको बारेमा सचेतना दिइन्छ। “उल्लंघन गर्नेहरूलाई भाइरस संक्रमणको जोखिमबारे कत्तिको जानकारी छ भनेर सोध्दा हामीले भन्दा राम्ररी उहाँहरूले बुझाउनुहुन्छ”, राई भन्छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर १४ की वडाध्यक्ष शोभा सापकोटाको क्षेत्रमा पर्ने भुवनेश्वरी मन्दिरसँगै पार्क छ। बन्दाबन्दीको वेला पनि मानिसहरू पार्कमा टहलिन निस्किने गरेपछि भीडका कारण जोखिम बढेको उनले बताइन्। “साँझ घुम्न आउनेहरूको भीड बढेपछि पार्कमा चाबी लगाएका छौं”, उनले भनिन्।
सापकोटाको वडामा मर्निङ वाक गर्न निस्कनेहरूको पनि उस्तै भीड बढ्यो। अहिलेको संवेदनशील समयमा घरभित्रै सामान्य व्यायाम गरेर बस्न वडावासीलाई आग्रह गर्दा पनि नसकेपछि स्थानीय युवा दस्ता नै बनाउनुपरेको उनी बताउँछन्। “स्थानीय युवालाई टोलटोलमा परिचालन गर्न थालेपछि भीड कम भएको छ”, उनी भन्छिन्।
उनकै वडा क्षेत्रका कालीमाटी, बल्खुमा तरकारी र फलफूलका ठूला व्यापार केन्द्र छन्। जहाँ तरकारी लिन दिनहुँ बिहान सबेरैदेखि व्यापारीहरूको घुइँचो लाग्ने क्रम बन्दाबन्दीको वेला पनि उस्तै भएपछि नयाँ नियम लागू गरिएको वडाध्यक्ष सापकोटा बताउँछिन्। उनका अनुसार, विभिन्न ठाउँबाट ल्याइएका तरकारी राति २ बजेदेखि ४ बजेसम्म बजारमा झार्ने र ५ बजेसम्म होलसेल व्यापारीहरुले लगिसक्नुपर्ने व्यवस्था गरिएको छ।
अत्यावश्यक वस्तु किनमेलको लागि वडाले बिहान ५ देखि तीन घण्टासम्मको समय तोकेको छ। तर, दिनको एक समय मात्रै तोक्दा पसलहरूमा बढी भीडभाड भएको गुनासो आएपछि साँझ पनि खोल्ने तयारी गरिरहेको सापकोटाले जानकारी दिइन्।
अत्यावश्यक वस्तु किनमेल गर्न कहाँ कस्तो व्यवस्था ?
ललितपुर महानगरपालिकाः
बन्दाबन्दीमा नगरवासीको सुविधाका लागि ललितपुर महानगरले खाद्यान्न पसल दिनभर खोल्न दिंदै आएको छ। ठूला स्टोरहरु बिहान १० बजेदेखि साँझ ७ बजेसम्म र साना पसल र तरकारी/फलफूल पसल बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खोल्न निर्देशन दिइएको छ। तर, पसल जाने निहुँमा एकै व्यक्ति पटक पटक बाहिर निस्कन थालेको भेटिएपछि केही वडामा अहिले उपभोग्य वस्तु किनमेलका लागि निश्चित समय तोकिएको छ।
ललितपुरका नौ वटा वडामा बिहान ५ देखि ८ बजेसम्म र साँझ ६ देखि ७ बजेसम्म पसल खोल्न दिने निर्णय गरेको महानगरपालिकाका प्रवक्ता राजु मर्हजनले बताए। स्थानीय प्रहरी प्रशासन, सम्बन्धित वडाका वडाध्यक्षहरूसहित बसेको बैठकले बिहीबार यस्तो निर्णय गरेको हो। महर्जनले भने, “भीडभाड कम होस् भनेर खाद्यान्न पसलहरू दिनभर खोल्न दिँदा मानिसहरू पटक पटक निस्केको पाइएपछि निश्चित समय तोकेका हौं।”
काठमाडौं महानगरपालिकाः
काठमाडौं महानगरले अत्यावश्यक किनमेलको लागि निश्चित समय तोकेको छैन। वडाहरुले नै अवस्था हेरेर समय निर्धारण गरेर बन्दाबन्दीलाई व्यवस्थित गरिरहेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए।
उनले भने, “हामीले त उपभोग्य वस्तुका पसलहरू दिनभर खोल्न दिने भनेका हौं। तर, दिनभर खोल्न दिँदा मानिसहरू पटक पटक बाहिर निस्केको पाइएपछि कतिपय वडा आफैंले निश्चित समय तोकेका छन्।”
किनमेल गर्ने बहानामा एउटै घरका तीन जनासम्म निस्केको पाएपछि वडाले कडाइ गर्न थालेको महर्जनले बताए।
भक्तपुर नगरपालिकामा विशेष व्यवस्था
भक्तपुर नगरपालिकामा तरकारी किनमेल गर्न दैनिक दुई पटक खुला गर्ने गरिएको छ। तरकारी पसलहरू बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म तथा खाद्यान्न पसल भने दिनभर खुला हुँदै आएको छ।
नगरपालिकाले प्रत्येक घरलाई एउटा पास दिएको छ, जुन अत्यावश्यक किनमेल गर्न जाँदा अनिवार्य बोक्नुपर्छ। एक घरबाट एक जना र दिनको एक पटक मात्र निस्कन पाउने व्यवस्था गरेको नगर प्रमुख सुनिल प्रजापतिले बताए।
हरेक वडाले आवश्यकता अनुसार स्वयंसेवक परिचालन गर्ने गरी नगरपालिकाले प्रत्येक वडामा स्वयंसेवक अंकित ५० वटा ज्याकेट दिएको छ। राहत वितरण, कोरोनाभाइरस सम्बन्धी सचेतना, घरबाट ननिस्कन आह्वान लगायतका काम स्वयंसेवकले गर्नेछन्।
नगरपालिकामा दिनभर एउटा गाडी महामारी सम्बन्धी जानकारी दिन माइकिङ गर्दै हिंड्छ भने प्रत्येक बिहान फोहोर संकलन गर्ने दश वटा गाडीले सचेतना सम्बन्धी जानकारी सुनाउँछ। भक्तपुरले आफ्ना नागरिक अत्यावश्यक काम बाहेक कोही पनि बाहिर ननिस्किऊन् र कारबाहीको भागीदार नबनून् भन्ने किसिमले काम गरिरहेको नगर प्रमुख प्रजापतिले बताए।
सरकारले ११ चैतदेखि लागू गरेको बन्दाबन्दीको समय पछिल्लो पटक थपेर १५ वैशाखसम्म बढाइएको छ। बन्दाबन्दी उल्लंघन गर्नेलाई एक महीनादेखि ६ महीनासम्मको जेल सजाय र रु.१ सयदेखि ६ सयसम्म जरिवाना हुनसक्छ।