बन्दाबन्दीसँगै लम्बिदै छन् भाडामा बस्ने विद्यार्थीका पीडा
बाँकेकी लक्ष्मी श्रेष्ठ एसईई परीक्षा दिएर उच्च शिक्षाका लागि काठमाडौं आएदेखि तीन साथीसँग मिलेर भत्केको पूलस्थित डेरामा बस्छिन्। उनी ११ कक्षाको परीक्षाको तयारीमा थिइन्। तर, कोरोनाभाइरसको संक्रमण रोक्न बन्दाबन्दी घोषणापछि परीक्षा अनिश्चित भएको छ।
उनीहरु काठमाडौँमै रोकिएका छन्। तीनै जनालाई बस्न, खान र पढ्न घरैबाट पैसा आउँथ्यो। बन्दाबन्दीका कारण घरबाट पैसा पठाउन सक्ने अवस्था छैन।
“‘दुई, चार दिनको बन्दाबन्दी होला, खुलेपछि घर जाने भनेर बसेको, यतै थुनिनु परेको छ” लक्ष्मीले दुखेसो गर्छिन्। घरबाट ल्याएको खाद्यान्नले २१ दिनसम्म धाने पनि अब सकिएको उनले बताइन्। अहिले सरसापट र सहयोग मागेर खाइरहेको उनी बताउँछिन्।
सरकारले बन्दाबन्दी लम्ब्याएसँगै बाहिर निस्कन कडाइ गरेको छ। समय लम्बिँदै जाँदा डेरामा बस्ने विद्यार्थी समस्यामा पर्न थालेका छन्।
सिन्धुलीकी मन्जु बुढाथोकी समाजशास्त्र विषय लिएर स्नातक अध्ययनरत छिन्। उनी भाइसँग डेरा बस्छिन् । बन्दाबन्दीमा रकम र खाद्यान्न दुवै सकिँदै गएको उनी बताउँछिन्।
गाउँबाट पठाइएको दाल, चामल र मरमसला सकिएको छ। उनी भन्छिन्, “बिरामी भएको वेला त आमाले ऋण गरेर पैसा पठाउनु हुन्छ र उपचार गर्छौँ। अरु वेला आफैँ गर्नुपर्छ। अब त राखेको पैसा र अन्न दुवै सकियो।” बन्दाबन्दी हुनुभन्दा अघिल्लो दिन भाइ घर गए पनि आफू रोकिएको उनले बताइन्।
चैत मसान्तको भाडा मिनाह गर्न सरकारले घरबेटीहरूलाई अनुरोध गरे पनि अधिकांश विद्यार्थीको समस्या भाडा कसरी तिर्नु भन्ने छ । दाङका सरोज केसी लोकसेवाको तयारी गर्न काठमाडौँ आए। पाटनमा डेरा लिएका छन्।
मासिक ६ हजार रुपैया बुझाउँछन्। “मध्यम वर्गीय परिवारको म कान्छो छोरो, लोकसेवाको तयारीमा छु, घरबाट पठाइदिएको रकम सकिन लाग्यो, यता घरभाडा कसरी तिर्ने हो भन्ने तनाव छ”, उनी भन्छन्। यस्तो वेला पनि घरबेटीले भाडा मागेको उनी दुखेसो गर्छन्।
दैलेखकी सुप्रिया सुनार यति वेला चाबहिलमा साथीको डेरामा बस्छिन्। ‘फार्मेशी’ पढिरहेकी उनी चैतसम्म होस्टेलमा बस्थिन्। होस्टेलमा बाँकी शूल्क बुझाउनु पर्ने भएपछि १ वैशाखमा साथीसँग बस्न आएकी हुन्।
परीक्षा रोकिएपछि उनी घर जान नयाँ बसपार्क गइन् । तर, बस नपाएपछि पुन फर्किएको उनी बताउँछिन्।
घरबाट पठाएको पैसा सकिन थालेपछि साथीसँग बस्न आएको उनी बताउँछिन्। “साथी पनि उतै गाउँकी नै हो, घरबाट नै खाद्यान्न र पैसा आउँथ्यो, अब त यता पनि खाद्यन्न सकिन थालेको छ”, उनी भन्छिन्।