'एक छाक खानाले कसैको ज्यान बच्छ भने किन नखुवाउने?'
"मेरो नाम अमृता उप्रेती मैनाली हो । मेरो श्रीमान् अर्जुन मैनाली हो । हामी दुवै मेडिकल क्षेत्रमा काम गर्छाैं। हामी सर्लाही हरिवन नगरपालिका– ९ सुकेपोखरीमा बस्छौं ।
देशमा चैत ११ गतेबाट लकडाउन सुरु भयो । म त्यहि दिन चामल र पिठो किन्न भनेर घरबाट बजारसम्म गएको थिएँ । साँझको ८ बज्नै लागेको थियो । मैले एकजना महिला असाध्यै गलेको (थाकेको) अवस्थामा भेटें । उहाँको खोकिलामा २ वर्षको बच्चा थियो भने ६ वर्षकी छोरीलाई हातमा डोर्याउँदै हुनुहुन्थ्यो ।
कसैले पानी पनि खान दिएनन् भन्दै बिलौना गर्दै हुनुहुन्थ्यो । मेरो छोरी नभएकाले मलाई छोरीहरुको असाध्यै माया लाग्छ । मेरो स्कुटरको डिक्कीमा केही पोका बिस्कुट थियो । मैले बिस्कुट र एउटा मिनिरल वाटरको बोतल उहाँलाई दिए । मेरै आँखा अगाडि ६ वर्षकी बच्चीले त्यो सबै खाई सकिन् । मलाई भने कता कता नराम्रो लागेर आयो ।
उहाँहरु बर्दिवासको गौशालाबाट हिँड्दै आउनु भएको रहेछ । मैले उहाँ र बच्चाहरुलाई बजारबाट सुकेपोखरी घरसम्म लिएर आएँ । र, श्रीमानलाई सबै कुरा सुनाएँ । अनि हामीले मिलेर खाना खुवायौं ।
यो कोरोना बन्द शुरु भएपछि हामीले हाम्रो आँखै अगाडि बाटोमा गर्भ खेर गएर रगताम्मे भएका महिला देख्यौं । ५ महिनाको गर्भ रहेछ । आफैँ एउटा आमा पनि भएकाले सहन नसकिने रहेछ । उहाँलाई हामीले २ दिन घरमै राखेर हाम्रो अस्पतालको एम्बुलेन्सले भिमानसम्म लगिदियौँ ।
त्यसपछि त झन् मलाई बाटोमा हिड्दै गरेका अलि नचिनेको जस्तो र थकित अनुहार देख्यो कि बोलाई हाल्न मन लाग्न थाल्यो । कोही दाङबाट हिड्दै आएको भन्नु हुन्छ । कोही झापा इलाम पुग्ने कुरा गर्नुहुन्छ । थकाई र भोकले कमजोर भएर होला कति त यहिँ अगाडि आएर बेहोस पनि भए ।
हाम्रो आफ्नै अस्पताल भएकाले अलि अलि पैसा बचत गरेका थियौँ । त्यहि पैसाले चामल दाल किनेर अहिलेसम्म पुर्याएका छौँ । क्यान्सरको उपचार गराइरहनु भएका एकजना बुवाले मेरो मनलाई पनि शान्ति हुन्छ भन्दै अस्ति १ बोरा चामल दिनु भएको थियो । हामीले अहिले दैनिक ६०-७० जनालाई खाना खुवाउछौँ ।
हाम्रो घर हाइवेमा भएकाले रातभरि बत्ती बाली रहन्छौँ । कसैलाई किराना पसल जस्तो लाग्दो रहेछ कसैलाई मेडिकल जस्तो । आफूलाई आवश्यक पर्ने कुरा छ भन्दै बाटो हिँड्नेहरु सोधी रहन्छन् । दिउँसो बोलाउँदै खाना खुवाउँछौँ । राति भने बास बस्न पाइन्छ ? पानी पाइन्छ ? भनेर सोध्दै आउनेहरुलाई पनि खुवाउँछौँ । हामीले खुवाएको एक छाक खानाले कसैको ज्यान बच्छ भने किन नगर्ने भन्ने लाग्छ ।
कथा किन ?
अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तीमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ । संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागी हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ । जो अहिले तेस्रो सातामा छ ।
विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ । हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तिकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना । २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखी हिमालखबर पनि जोडिएको छ ।
मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो । भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन् । एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन् । अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छैँ ।
संयोजक, कथा कोरोना टीम
@KathaCorona
सम्पादक
himalkhabar.com
@HImal_khabar