“गरिबीले सँगै बाँच्न त दिएन नै, कोरोनाले सँगै मर्न पनि नदिने हो कि?'
अफ्नै देश फर्कन पाए हुन्थ्यो, हामीजस्ता वैदेशिक रोजगारीमा आएकालाई नेपालले फिर्ता लैजाने हो कि हैन त्यो पनि थाहा छैन ।
“मेरो नाम सुष्मा परियार हो । म २४ वर्षकी भएँ । मेरो घर मकवानपुरको हेटौंडामा छ। अहिले मैले दुबईबाट यो कथा भन्दैछु । मैले सीटीईभीटीबाट ल्याब टेक्निसियनको अठार महिने तालिम लिएर केही समय नेपालमा काम गरें। त्यसपछि वैदेशिक रोजगारीका लागि दुबईको अलफाहाहिदी आएँ ।
मैले ६ महिनादेखि यहाँको एउटा ब्युटी पार्लरमा काम गर्दै थिएँ । कोरोना भाइरसको महामारी फैलिएपछि त्यो पनि एक महिनादेखि बन्द छ । अघिल्लो महिनाको तलब पाएँ । यो महिना काम छैन । कोठामै थुनिएकी छु । कम्पनीले तलब दिन्छ कि दिंदैन, त्यो पनि थाहा छैन ।
यहाँ पूर्णरुपमा लकडाउन छ । बाहिरको कुरो केही थाहा हुँदैन । हामी सातजना महिला एउटै कोठामा बस्छौं । सातमध्ये ४ जना नेपाली, एक फिलिपिनो र २ जना पाकिस्तानी छौं । हामी संगै बस्ने एकजना साथीलाई कोरोना लागेर उपचारका लागि अस्पताल लगिएको छ ।
मलाई पनि खोकी लागेको छ । सँगै बसेकाले कोरोना भाइरसको जोखिम बढ्छ भन्ने सुनेकी छु । मलाई त एकदमै डर लागेको छ । बाहिर २४ घन्टे लकडाउनले गर्दा डाक्टरलाई चेक गराउन निस्कन पनि सकेकी छैन । सँगै बस्ने हामी सबैले एकैचोटि भाइरस टेष्ट गर्न पाए हुन्थ्यो जस्तो लागेको छ ।
नेपाल सरकारले 'जोजहाँ हुनुहुन्छ, त्यहिं बस्नुस्' भनेको छ । तर दुबई सरकारले 'तिमीहरुका नागरिक फिर्ता लग' भनेर सबै देशलाई खबर गरिसकेको छ । हामी त एकदम अन्योलको अवस्थामा छौं । हामीजस्ता वैदेशिक रोजगारीमा आएकालाई नेपालले फिर्ता लैजाने हो कि हैन त्यो पनि थाहा छैन ।
खासमा मेरो स्वास्थ्य पहिलादेखि नै कमजोर हो । यस्तो अवस्थामा त झन् मेरो शरीरले कोरोनासँग कसरी लड्ला र? यो कोरोनाको भेलमा दुर्भाग्यवश मलाई केही भइहाल्यो भने 'मेरो लाशलाई नेपाल लगिएला कि नाई? दुबई सरकारले मेरो लाशलाई के गर्ला ?' भनेर सम्झँदा पनि मन नै थरर्र काँप्छ ।
अरुका परिवारमा श्रीमान-श्रीमती र परिवारका सदस्य सँगै हुनुहुन्छ होला । हामी त दुवैजना बाहिरै छौं । मेरो श्रीमान् साउदीमा हुनुहुन्छ । उहाँको कम्पनीमा काम त चल्दैछ । साँझपख वहाँसँग सँधै फोनमा कुरा हुन्छ, भन्नुहुन्छ, “गरिबीले हामीलाई सँगै बाँच्न त दिएन, यो कोरोनाले सँगै मर्न पनि नदिने हो कि" । मलाई पनि त्यस्तै लाग्न थालेको छ ।“
कथा किन ?
अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तीमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ । संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागी हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ । जो अहिले तेस्रो सातामा छ ।
विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ । हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तिकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना । २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखी हिमालखबर पनि जोडिएको छ ।
मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो । भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन् । एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन् । अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छैँ ।
संयोजक, कथा कोरोना टीम
@KathaCorona
सम्पादक
himalkhabar.com
@HImal_khabar