के यो महाप्रलयको संकेत हो ?
हाम्रा विभिन्न धर्मग्रन्थले पृथ्वीको महाप्रलयको ठोकुवा गरेका छन् । के कोरोनाभाइरसको यो महामारी यस्तै प्रलयको पूर्वसंकेत वा चेतावनी हो त ? एकथरी मानिस यसको बहसमा जुटेका छन् ।
धेरै धार्मिक ग्रन्थले संसारको अन्त्यको कुरा गरेका छन्, र कोरोनाको महामारीले धेरै मानिसलाई त्यो भविष्यवाणी याद दिलाएको छ । तर, भिन्नाभिन्नै धर्महरुले त्यस्तो अन्त्यको फरक फरक कारण र नतिजा देखाएका छन्।
एउटै धर्मग्रन्थमा आधारित पश्चिमा धर्महरु यहुदी, इसाई र इस्लाम धर्ममा संसारको अन्त्यको मिल्दोजुल्दो व्याख्या पाइन्छ । यी तीन धर्ममा संसारको सृष्टि ईश्वरले गरेको र ईश्वरले नै त्यसको अन्त्य गर्ने उल्लेख छ।
इसाई धर्मग्रन्थमा ‘अपोकलिप्स’को उल्लेख छ। यसको शाब्दिक अर्थ अर्कै भएपनि अहिलेको बुझाइमा ‘संसारको अन्त्य’ भन्ने बुझिन्छ । अपोकलिप्स प्रलयको रुपमा आउने भनिन्छ । आजकाल धेरै हलिउड चलचित्रमा यस्ता अपोकलिप्स देखिन्छन् । ‘जजमेन्ट डे’ वा ‘कयामत’ भनिने यो दिनमा ईश्वरले मानिसको मूल्यांकन गर्छन्, पापीलाई सजाय दिने र धर्मात्मालाई स्वर्ग लैजाने गर्छन् भनिन्छ । राम्रो काम गरेमा कयामतको दिनमा पनि राम्रो फल पाइन्छ भन्ने आशय छ।
संसारको अन्त्य प्रलयबाट हुन्छ भनेर हिन्दु धर्ममा पनि भनिएको छ । तर, यहाँ प्रलयबाट संसार अन्त्य नभएर फेरि शुरु हुन्छ अर्थात् हिन्दु धर्ममा हाम्रो ‘जजमेन्ट’ निरन्तर हुन्छ । प्रत्येक जुनीपछि हाम्रो जजमेन्ट हुन्छ, र हामीले कर्मको फल एक जुनीबाट अर्को जुनीमा पाउँदै जान्छौं।
हिन्दु दर्शन अनुसार चार युगको एक चक्रपछि एउटा प्रलय आउँछ, संसारको विनाश हुन्छ, र संसार पानीमुनि डुब्छ । तर, प्रलय आउनुभन्दा अगाडि त्यसका लक्षणहरु देखिन्छन् । महामारी, प्राकृतिक प्रकोप र भोकमरीले प्रलयको संकेत गर्दछ ।
हालसालै अस्ट्रेलियाको आगलागी, कोरोनाको महामारी जस्ता थुप्रै अप्रिय घटना भएका छन्, र कोरोनाले सृजना गरेको आर्थिक संकट बढ्दै जाँदा कतै भोकमरी शुरु हुन लागेको त होइन ? भन्ने चिन्ता पनि बढ्दै गइरहेको छ । कोरोनाको कहरबाट मानव सभ्यता उम्कियो भने पनि विश्वव्यापी तापक्रम वृद्धि, जलवायु परिवर्तन, बढ्दो वातावरण विनाश, र बढ्दो सामाजिक र आर्थिक असमानताले मानवजातिको ठूलो प्रतिशत संकटमा पर्ने निश्चितप्रायः छ ।
भनिन्छ, कयामतको दिनमा सूर्य पश्चिमबाट उदाउँछ । सूर्य पश्चिमबाट उदाउनु भनेको आश्चर्यजनक र अभूतपूर्व प्राकृतिक घटनाहरुको प्रतीक पनि हुन सक्छ, जुन हामीले हालसालै धेरै देखिरहेका छौं र भविष्यमा अझ धेरै देख्नेछौं । भनेपछि के हाम्रो संसार सँच्चिकै त्यो प्रलयको संघारमा छ त?
के प्रलय पछि सार्न सकिन्छ ?
कोरोना भाइरसले हिन्दु समाजमा मात्रै होइन, पश्चिमा जगतमा पनि यो संसार अन्त्य गर्ने प्रलय पो हो कि ? भन्ने प्रश्न जन्माएको छ । न्यूयोर्क टाइम्स र अरु पत्रिकाहरुमा पनि अपोकलिप्स र यससम्बन्धी धार्मिक साहित्यको समसामयिक अर्थका बारे थुप्रै लेख प्रकाशित छन्।
युनिभर्सिटी अफ क्यालिफोर्नियामा बौद्ध धर्म पढाइरहेकी भेस्ना वालेसलाई उद्धृत गर्दै एलिजाबेथ डिआसले न्यूयोर्क टाइम्समा लेखेकी छिन्, “बौद्ध धर्ममा प्रलयको कारण मानवजातिको सामूहिक कर्म हो । मानिसले एकअर्कालाई र पृथ्वीलाई नराम्रो व्यवहार गरेपछि यस्तो हुन्छ भनिन्छ । यस्तो महामारी र समस्यालाई प्रलयको चेतावनीको रुपमा लिन सकिन्छ । हामीले फेरि राम्रो काम गर्यौं, एकअर्काप्रति करुणापूर्ण व्यवहार गर्यौं, सामाजिक असमानता घटायौं र पृथ्वीलाई माया गर्यौं भने प्रलय पछि सार्न पनि सक्छौं । कोरोनाको महामारीले मानिसले के के नराम्रो काम गरिरहेको छ र त्यसले पृथ्वीलाई कसरी हानि गरिरहेको छ भन्ने थाहा पाउने मौका दिएको छ । हामीले यो चेतावनीको अर्थ बुझेर काम गर्न सक्यौं भने संसारको अन्त्य हुनु पर्दैन।”
हुन पनि कोरोनापछिको क्वारेन्टिनले मानवले पृथ्वीलाई कतिसम्म दोहन गरिरहेको रहेछ भन्ने प्रष्ट पारेको छ । प्रदूषण नहुँदा प्रकृति फुलेको छ, चराचुरुंगी, जनावर रमाएका छन्, र काठमाडौं वरिपरिका हिमाल देखिन थालेका छन् । विश्वभर नै स्वच्छ भएको प्रकृतिका फोटोहरुले तपाईं हाम्रा सामाजिक सञ्जाल भरिपूर्ण छन् । आखिर मानव क्रियाकलापले नै प्रकृति र मानवजातिलाई असीमित हानि गरिरहेको रहेछ भन्ने प्रष्ट भएको छ ।
र, एक किसिमले कोरोनाको प्रकोप यति चाँडै सर्वत्र फैलिनुमा पनि मानव क्रियाकलाप नै दोषी छ भन्न सकिन्छ । मानिसले आविष्कार गरेका विमानहरु नभएका भए, विमानमा चढेर मानिसहरु संसारको एकछेउदेखि अर्को छेउसम्म एकैछिनमा नपुग्ने भए कोरोनाको संक्रमण जहाँ शुरु भएको थियो, त्यहींका मानिसलाई मात्र हानि गरेर केही समयमा शान्त हुन्थ्यो भन्ने तर्क पनि गर्ने गरिन्छ ।
हिन्दु धर्ममा भने यस्तो चेतावनीपछि प्रलय टार्न सकिने उल्लेख छैन, प्रलय अवश्यम्भावी छ भनिएको छ । मानिसले संसारको अन्त्य रोक्ने जति नै कोसिस गरेपनि त्यो भएरै छोड्छ । त्यसपछि आउने नयाँ संसार भौतिक रुपमा मात्रै नभएर नैतिक रुपमा पनि नयाँ हुन्छ । भनिन्छ, सत्ययुगदेखि कलियुगसम्म आउँदा नैतिकताको पतन भइसकेको हुन्छ, र संसारको पुनर्सृष्टि हुँदा नैतिकताको पनि नयाँ चक्र शुरु हुन्छ।
पृथ्वीले मानिसलाई दिइरहेको चेतावनी सुन्नुको अर्थ पृथ्वीलाई हानि गर्ने सबै प्रविधिहरु त्याग्नु पर्ने हुन्छ । विमान मात्रै नभएर उद्योग, खनिज तेल, विद्युत, इन्टरनेट, प्लास्टिक, इलेक्ट्रोनिक सामग्री, पक्की सडक, लगायतका थुप्रै मानव निर्मित प्रविधिले पृथ्वीलाई हानि गरिरहेका छन् । र, यी सबै यति अपरिहार्य भइसकेका छन् कि सिंगो मानव समाजले यिनीहरुलाई त्याग्ने प्रश्न नै उठ्दैन ।
के हामी पृथ्वीको चेतावनी सुनेर त्यसअनुसार काम गर्न सक्छौं ? यो अहिलेको मानव जीवनका लागि असम्भवप्रायः लाग्दछ । विमानहरुले विश्वव्यापी तापक्रम वृद्धिलाई बढाइरहेछन् भन्दै गत वर्ष स्वीडेनकी किशोरी ग्रेटा थनबर्गले संयुक्त राष्ट्रसंघको वातावरण सम्बन्धी सम्मेलनमा भाग लिन इंग्ल्यान्डबाट १४ दिनको जहाज यात्रामार्फत न्यूयोर्क पुगेकी थिइन् । तर, ग्रेटा र उनीजस्ता अरु वातावरण अभियन्ताले पनि यी सबै प्रविधि एकसाथ त्याग्न सक्छन् त ?
हिन्दु धर्ममा भने यस्तो चेतावनीपछि प्रलय टार्न सकिने उल्लेख छैन, प्रलय अवश्यम्भावी छ भनिएको छ । मानिसले संसारको अन्त्य रोक्ने जति नै कोसिस गरेपनि त्यो भएरै छोड्छ । त्यसपछि आउने नयाँ संसार भौतिक रुपमा मात्रै नभएर नैतिक रुपमा पनि नयाँ हुन्छ । भनिन्छ, सत्ययुगदेखि कलियुगसम्म आउँदा नैतिकताको पतन भइसकेको हुन्छ, र संसारको पुनर्सृष्टि हुँदा नैतिकताको पनि नयाँ चक्र शुरु हुन्छ।
कतै कतै चाहिँ प्रलयबाट पार लाउने पात्र बारेका कथाहरु पनि छन् । हिन्दु धर्ममा कल्की अवतारको कथा छ भने यहुदी धर्मग्रन्थमा अन्तिम समयमा एकजना मसिहा आउँछन् भनिएको छ । इसाई र मुसलमानले चाहिँ त्यो मसिहा पाइसके, तर पनि इसाई धर्ममा अपोकलिप्सको समयमा येशु ख्रिष्टको पुनर्जन्म हुन्छ पनि भनिन्छ । तर, अन्तिम समयका यस्ता पात्रले पनि संसारको अन्त्यलाई रोक्छन् नै भनेर कतै भनिदैन।
प्रश्नको घेरामा ईश्वर
पश्चिमा अपोकलिप्स र हिन्दु प्रलय दुवैको अवधारणामा संसारको अन्त्य अवश्यम्भावी छ भन्ने भाग्यवादी सोच देखिन्छ, र यो विश्वासले मानिसको भाग्य र कर्मको बारेमा प्रश्न उब्जाउँछन् । अंग्रेजीमा ‘डिटर्मिनिज्म्’ भर्सेस ‘फ्रि विल’को चर्चा गरिन्छ ।
डिटर्मिनिज्म् अर्थात भविष्यमा के हुन्छ त्यो पहिल्यै लेखिएको छ भन्ने धारणा, र पश्चिमा धर्महरुको सन्दर्भमा “संसार ईश्वरको रचना हो र यहाँ ईश्वरको जे इच्छा छ त्यो मात्रै हुन्छ” भन्ने धारणा । यदि संसारको अन्त्य हुनु नै छ भने यसमा मानव जातिको भूमिका के हो ? मान्छेको निर्णय गर्ने शक्ति कहाँ छ त ? मान्छेले ‘फ्रि विल’ ले केही गर्न सक्छ कि सक्दैन ? ईश्वरले संसारको सृष्टि गरेका थिए र उनले नै अन्त्य गर्ने हो भने मानव जातिले त्यसलाई रोक्ने कोसिस गर्नुको केही अर्थ छ कि छैन?
हिन्दु धर्ममा एकातर्फ यो सारा संसार ईश्वरको लीला हो, यहाँ ईश्वरको इच्छाले जे सोचेको छ त्यही हुन्छ र मान्छे निमित्त मात्रै हो भन्ने धारणा पाइन्छ। अर्कोतर्फ कर्मको फल पाइन्छ भन्ने दर्शन पनि हिन्दु समाजमा गहिरिएर बसेको छ । अर्थात्, आफूले जे गरिन्छ त्यसैको फल पाइने हो, त्यसैले राम्रो कर्म गर्नुपर्छ । कसैले अनाहक दुःख पायो भने पूर्वजन्मको फल भन्ने वा धेरै सुख पायो भने पनि पूर्वजन्ममा राम्रो काम गरेको थियो होला भन्ने हाम्रो चलन छ, र यो जुनीको लागि मात्रै होइन, अर्को जुनीका लागि पनि पुण्यकाम गर्न खोज्ने चलन पनि छ।
भनिन्छ, सत्ययुगमा मानिसमा शतप्रतिशत नैतिकता हुन्छ र त्यसपछि प्रत्येक युगमा घट्दै आएर कलियुगमा २५ प्रतिशत मात्रै नैतिकता बाँकी रहन्छ। मानिसको नैतिकताको पतन हुनु नै छ भने पापी मानिसको भूमिका के हो ? मान्छे आफ्ना कार्यहरुका लागि जिम्मेवार हुन्छ कि हुँदैन ? निमित्त मात्रको भूमिकाको लागि उसले सजाय पाउने कि नपाउने ?
हिन्दु सृष्टिचक्रको सन्दर्भमा भाग्य र कर्म सम्बन्धी अरु पनि प्रश्न उठ्छन्, यदि संसारमा सबै कुरा हुन्छ भने के पाप पनि ईश्वरकै इच्छाले हुन्छ ? तर, ईश्वरले किन पाप गराउँछन् ? के ईश्वरले मानिसको खुशी चाहँदैनन् ? त्यसो भए त्यस्तो ईश्वरलाई किन पूजा गर्ने ?
भनिन्छ, सत्ययुगमा मानिसमा शतप्रतिशत नैतिकता हुन्छ र त्यसपछि प्रत्येक युगमा घट्दै आएर कलियुगमा २५ प्रतिशत मात्रै नैतिकता बाँकी रहन्छ। मानिसको नैतिकताको पतन हुनु नै छ भने पापी मानिसको भूमिका के हो ? मान्छे आफ्ना कार्यहरुका लागि जिम्मेवार हुन्छ कि हुँदैन ? निमित्त मात्रको भूमिकाको लागि उसले सजाय पाउने कि नपाउने ? प्रलय अवश्यम्भावी हो भनेर मानिसले आफ्नो क्रियाकलापको जिम्मा नलिन पाउँछ ? मानिसले पृथ्वीलाई गरेको हानि अवश्यम्भावी नै थियो कि त्यसका लागि मानव जाति दोषी छ ?
यदि दोषी छ भने उसले कसरी प्रायश्चित वा पश्चात्ताप गर्ने ? उसले पृथ्वीमाथि गरेका दुव्र्यवहार सबै रोक्यो भने पनि प्रलयमा पृथ्वीको विनाश हुनु नै छ भने प्रायश्चित वा पश्चात्ताप गर्नुको के अर्थ छ? यस्ता प्रश्नहरुको उत्तर धर्मग्रन्थमा पाइदैन।
भाग्य र कर्मबीचको यो खिंचातानीमा सामान्यता कर्ममा विश्वास गर्ने मान्छे पनि यस्तो संकटको बेलामा चाहिँ भाग्यवादी बनेको देखिन्छ । “हुने कुरा टर्दैन, काल नआई मर्दैन”, जस्ता उखानहरु लोकप्रिय देखन्छन् । मानिसले व्यक्तिगत जीवनमा जतिसुकै फ्रि विलमा विश्वास गरेपनि आफूले नियन्त्रण गर्न नसक्ने घटनाका सामु भने भाग्यवादी बन्नुको विकल्प देखिंदैन । र, त्यसैले शायद यस्तो समयमा धर्मग्रन्थ, प्रलय र अपोकलिप्स् सम्बन्धी साहित्यमा रुचि बढेको देखिन्छ।
स्वयंको खोजी
यति आधुनिक समयमा पनि, शिक्षा र प्रविधि यतिसम्म अघि बढिसक्दा पनि मानिस किन धर्मग्रन्थतिर फर्किन्छ भन्ने प्रश्न पनि बेलाबेलामा उठिरहेको छ । विशेषगरी पश्चिमा मुलुकमा पनि आस्था र विश्वासको प्रचुरता देखेर कहिलेकाहीं हामीलाई अचम्म लाग्छ । मानिसले चिरकालदेखि सोधेका प्रश्नहरुको उत्तर धर्मग्रन्थमा मात्रै पाइने भएकाले पनि त्यस्तो भएको हुनसक्छ । हामी को हौं ? यो संसारमा किन आयौं ? जीवनको अर्थ के हो ? के यो संसार सधैं रहिरहन्छ ? संसार रहेन भने मानव जातिको भविष्य के हो ? हामी कहाँ जान्छौं ? जस्ता प्रश्नको उत्तर धार्मिक र आध्यात्मिक परम्परामा मात्रै पाइन्छन्।
हुन त अहिले आधुनिक विज्ञानले पनि यीमध्ये केही प्रश्नको उत्तर दिन्छ । संसार ‘बिग ब्याङ’ बाट शुरु भएको थियो, त्यसको लाखौं वर्षपछि पृथ्वीमा जीवन देखियो, र कुनै दिन सूर्यको आकार फैलिंदै गएर पृथ्वीलाई विनाश गर्छ, लाखौं वर्षपछि ब्रह्माण्ड फेरि आफैंमा समेटिएर सानो कण जस्तो हुन्छ र फेरि अर्को बिग ब्याङबाट अर्को सृष्टि शुरु हुन्छ भन्ने ज्ञान अहिले विद्यालयहरुमै पढाइन्छ।
तर, यसको आध्यात्मिक पक्षको जवाफ भने विज्ञानले दिएको छैन । वा, दिएको भए पनि मानिसले चित्त बुझाएका छैनन् । हामी जान्न चाहन्छौं, जीवनको मूल तत्व के हो ? निर्जीव र सजीव बीचको फरक के हो ? साँच्चिकै ब्रह्माण्ड आफैंमा समेटिएर कण जस्तो भयो भने, हाम्रो के होला ? के सबै जीवन यो ब्रह्माण्डबाट नासिन्छ ? मानव जीवनको केही अर्थ छैन?
विश्वासले प्रमाण खोज्दैन । तर, बुझ्नुपर्ने कुरा के हो भने यी धार्मिक दर्शनहरु पनि एक व्यक्तिको नियन्त्रण बाहिरका घटना बुझ्न मानवले नै सृजना गरेका हुन् । त्यसैले आजको समयमा मानवसँग यी घटना बुझेर धारणा बनाउन, उपाय अवलम्बन गर्न, अनुकूलका वैचारिक र आध्यात्मिक पथ पहिल्याउन अझ धेरै स्रोत साधन उपलब्ध छन् ।
धर्मग्रन्थ नमान्ने हो भने विज्ञानको उत्तर हुन्छः “जीवन केही होइन । ब्रह्माण्डको लामो यात्रामा सिंगो मानव जातिको इतिहास निमेष पनि होइन । सबै ध्वस्त हुन्छ र हाम्रो नामोनिशान रहँदैन । मानवले म केही हुँ भन्ने सोच्नु र आफ्नो अस्तित्वमा गर्व गर्नु मूर्खता हो ।”
तर, धर्मग्रन्थहरुमा भने यसको अर्कै उत्तर पाइन्छ । पश्चिमा धर्महरुले भन्छन्, आत्मा अमर छ । प्रलय आएर संसार ध्वस्त भएपछि सबै आत्माहरु ईश्वरमा लीन हुन्छन् । पूर्वीय दर्शनहरुले भन्छन्, आत्मा अमर छ, त्यसलाई केहीले पनि नाश गर्न सक्दैन । प्रत्येक प्रलयपछि संसारको फेरि सृष्टि हुन्छ, र आत्माहरुले फेरि मत्र्यलोकमा अनेकौं जुनी पाउँछन्।
मानिसलाई चित्त बुझ्ने र अत्यास कम गर्ने यस्ता उत्तर धर्मग्रन्थमा मात्रै भएर होला, आधुनिक युगमा पनि ती दर्शनहरुको आकर्षण उत्तिकै छ । एबीसी रेडियो न्याशनलको वेबसाइटमा अपोकलिप्स सम्बन्धी लेखमा शवान हेगर्टी लेख्छिन्, “अपोकलिप्स सम्बन्धी साहित्यको काम मानिसलाई तर्साउने मात्रै होइन, सान्त्वना दिने पनि हो । यस्तो साहित्यले अप्रत्याशित र भयावह घटनाको सामना कसरी गर्ने भनेर सिकाउँछन्, र मानव जातिले विगतमा कसरी यस्ता घटनाको सामना गरेको थियो भन्ने पनि उदाहरण दिन्छन् ।”
हो, विश्वासले प्रमाण खोज्दैन । तर, बुझ्नुपर्ने कुरा के हो भने यी धार्मिक दर्शनहरु पनि एक व्यक्तिको नियन्त्रण बाहिरका घटना बुझ्न मानवले नै सृजना गरेका हुन् । त्यसैले आजको समयमा मानवसँग यी घटना बुझेर धारणा बनाउन, उपाय अवलम्बन गर्न, अनुकूलका वैचारिक र आध्यात्मिक पथ पहिल्याउन अझ धेरै स्रोत साधन उपलब्ध छन् । अर्थात् धर्म दर्शन र विज्ञान दर्शन दुबैलाई प्रश्न गर्न सक्ने, सन्तुष्ट वा असन्तुष्ट हुनसक्ने विवेक हामीसँग छ ।