कोरोना महामारी: निको भए ५ लाख ५८ हजार संक्रमित, उपचाररत १५ लाखमध्ये ५६ हजार गम्भीर
कोरोनाभाइरसको महामारीबाट विश्वभर संक्रमितमध्ये ५ लाख ५८ हजारभन्दा बढी उपचारपछि निको भइसकेका छन्।
संक्रमण फैलिएका २ सयभन्दा बढी मुलुकमा हालसम्म २२ लाखभन्दा बढी संक्रमित भएकोमा शुक्रबार साँझ साढे ७ बजेसम्ममा 'क्लोज केस' (७ लाख ७ हजारभन्दा बढी) मध्ये ७९ प्रतिशत निको भएका छन् भने २१ प्रतिशतको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या हालसम्म एक लाख ४८ हजारभन्दा बढी छ। यसले मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहे पनि संक्रमणपछि निको हुने दर ठूलो रहेको देखाउँछ।
यस्तै, उपचार चलिरहेका सक्रिय संक्रमितको संख्या १५ लाखभन्दा बढी छ। तीमध्ये ९६ प्रतिशत (१४ लाख ४२ हजारभन्दा बढी) बिरामीको अवस्था सामान्य छ भने चार प्रतिशत अर्थात् ५६ हजारभन्दा बढी गम्भीर छन्।
संक्रमण फैलिएका मुलुकहरुमध्ये सबैभन्दा बढी प्रभावित अमेरिकामा ६ लाख ७८ हजारभन्दा बढी संक्रमित भएकोमा ५७ हजार उपचारपछि निको भएका छन्। यस्तै, संक्रमित ५ लाख ८५ हजारभन्दा बढीको उपचार चलिरहँदा १३ हजार हाराहारीका बिरामीको अवस्था जटिल छ। वर्ल्डोमिटर्सका अनुसार, अमेरिकामा हालसम्म कोरोना संक्रमणबाट ३४ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ।
यस्तै, युरोपेली मुलुक स्पेनमा कुल संक्रमित १ लाख ८५ हजारमध्ये ७४ हजारभन्दा बढी उपचारपछि घर फर्किसकेका छन्। त्यहाँ ९० हजारभन्दा बढीको उपचार चलिरहेकोमा ७ हजारभन्दा बढी अवस्था गम्भीर छ। संक्रमितमध्ये हालसम्म १९ हजारभन्दा बढीको मृत्यु भएको छ।
यस्तै, संक्रमणबाट तेस्रो बढी प्रभावित मुलुक इटालीमा कुल संक्रमित १ लाख ६९ हजारमध्ये ४० हजारभन्दा बढी उपचारपछि निको भइसकेका छन्। हालसम्म कोरोना महामारीबाट २२ हजारभन्दा बढीको मृत्यु भएको इटालीमा उपचाररत १ लाखभन्दा बढी संक्रमितमध्ये निकै कम अर्थात् २ हजार ९ सयको मात्र स्वास्थ्य स्थिति गम्भीर छ।