डिजिटल ब्यांकिङ कारोबार २० प्रतिशतले बढ्यो
बन्दाबन्दी (लकडाउन)को समयमा डिजिटल ब्यांकिङ कारोबार सबैभन्दा प्रभावकारी र सजिलो माध्यम बनेको छ ।
डिजिटल ब्यांकिङ कारोबार गरिरहेका ग्राहकबाट अन्य समयको तुलनामा चासो र रुची उल्लेख्य बढेको नेपाल राष्ट्र ब्यांकले जानकारी दिएको छ । राष्ट्र ब्यांकका अनुसार बन्दाबन्दीपछि डिजिटल ब्यांकिङ कारोबार औषतमा २० प्रतिशतले बढेको छ ।
राष्ट्र व्यांकका प्रवक्ता गुणाकर भट्टका अनुसार सर्वसाधारणको सेवाका लागि सबै ब्यांक तथा वित्तीय संस्थालाई सहजीकरणको काम गर्न आग्रह गरिएको छ ।
दैनिक ब्यांकिङ कारोबारमा कुनै समस्या र गुनासो आएको अवस्थामा तुरुन्त सम्पर्क गर्न राष्ट्र ब्यांकले सम्बन्धित सरोकारवाला निकायका विभाग प्रमुखलाई जिम्मेवारी दिएको छ ।
राष्ट्र ब्यांकले ब्यांक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन, सर्वसाधारणको जिज्ञासाको जवाफ दिन र सेवाग्राहीलाई पर्ने समस्या सम्बोधन गर्न विभागिय प्रमुखलाई सिधै सम्पर्क गर्न सक्ने गरी वेबसाइटमा सूचना सार्वजनिक पनि गरेको छ ।
भट्टका अनुसार मोबाइल ब्यांकिङ, तथा भुक्तानी प्रणालीमा समस्या भए सहजीकरण गर्ने काम गरिएको छ । ब्यांक तथा वित्तीय संस्थालाई बन्दाबन्दीमा पर्ने समस्यालाई दृष्गित गरेर राष्ट्र ब्यांकले सहजीकरण गरिरहेको पनि उनले बताए ।
राष्ट्र ब्यांकका अनुसार अहिले मोबाइल ब्यांकिङ कारोबार गर्ने सेवग्राहीको संख्या ९८ लाख पुगेको छ । यसमध्ये अहिले बन्दाबन्दीका कारण हुने डिजिटल कारोबारमा ३० प्रतिशत मात्रै सक्रिय प्रयोगकर्ता छन् ।
यी प्रयोगकर्ताबाट पनि उल्लेख कारोबार भइरहेको छ । यी प्रयोगकर्ता मोबाइल वालेट प्रयोग गर्ने र भुक्तानी प्रणालीको प्रयोग गरेर रकम ट्रान्सफर गर्न सक्ने प्रयोगकर्ता भएकोले पनि अन्य समयको तुलनामा कारोबार रकम भने बढेको उल्लेख छ ।
बन्दाबन्दीको समयमा किराना र तरकारीसहितका अत्यावश्यक वस्तुको किनमेलका लागि अनलाइन कारोबार हुने गरेको छ । यस्तो कारोबार अन्य समयमा न्युन हुने गरेको भएपनि अहिले भने बढेको छ ।
बैंकर्स संघ नेपालका अध्यक्ष भुवन दाहालका अनुसार सबै ब्यांकले आआफ्नो वेबसाइटमार्फत सेवा र शाखा खुल्ने जानकारी दिएका छन् । कुनै पनि ग्राहक सम्बन्धित ब्यांकको वेबसाइट हेरेर वा सम्पर्क गरेर जाँदा सहजै सेवा पाउने अवस्था छ । सम्पर्क नगरी जाने र कुन ब्यांकको शाखा कहाँ खुलेको छ भन्ने जानकारी लिएर मात्रै ब्यांकसम्म जान दाहालले आग्रह पनि गरेका छन् ।
बन्दाबन्दीको समयमा एउटा व्यांकले जम्मा १० वटा मात्रै पास पाएकोले यसैबाट सबै सेवा सञ्चालन गर्न समस्या छ । त्यसैले समय मिलाएर शाखा खोल्ने व्यवस्था भने मिलाइएको दाहाल बताउँछन् ।
मोबाइल ब्यांकिङ, इन्टरनेटको प्रयोगबाट हुने कारोबार, कार्डको प्रयोग, डिजिटल बालेटसहितको प्रविधिको प्रयोग गर्न पनि प्रोत्साहन गरिएको जानकारी दाहालले दिए ।
उनले भने ‘बन्दाबन्दीको समयमा कुनै पनि ग्राहकलाई समस्या नहोस भनेर ब्यांक तथा वित्तीय संस्था निरन्तर सेवामा प्रतिवद्ध छौं ।’
कृषि विकास ब्यांकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्यायका अनुसार अहिलेको समयमा हामीले मोबाइल ब्यांकिङलाई प्रोत्साहन गरेका छौं ।
ग्राहकले आफैं रजिस्टेशन गर्न सक्ने र यो इन्टरनेट ब्यांकिङको सेवा लिन सक्ने सुविधा दिइएको छ । उनका अनुसार नयाँ ग्राहक भने खाता खोल्नै लागि ब्यांकमा आउनैपर्छ । त्यसपछि भने आफैंले सेवा र सुविधा लिन सक्ने व्यवस्था मिलाइदिएको छ । उनका अनुसार खाता भएको ग्राहकले भने अहिले पनि अनलाईन सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ ।
घरमा पैसा सकिने र ब्यांकसम्म पुग्न पुर्ने ग्राहकलाई भने नजिकैको जुनसुकै ब्यांकबाट पनि सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ । जुनसुसकै ब्यांकको एटीएमबाट निःशुल्क पैसा निकाल्न पाइने सुविधा दिइएको बैंकर्स संघका अध्यक्ष दाहालले बताए ।