एक लाखभन्दा बढी संक्रमित भेटिने बेलायत छैटौँ देश
एक लाखभन्दा बढी संक्रमित भेटिने बेलायत छैटौँ देश भएको छ। बिहिबार चार हजार ६१७ नयाँ बिरामी भेटिएसँगै त्यहाँ संक्रमितको संख्या एक लाख तीन हजार ९३ पुगेको छ।
बिहिबार मात्र त्यहाँ ८६१ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १३ हजार ७२९ पुगेको छ। बेलायत १० हजारभन्दा बढीको मृत्यु हुने पाचौँ देश हो।
एक लाख ३९ हजारभन्दा बढी संक्रमित भेटिएको जर्मनीमा मृत्युदर कम छ। त्यहाँ चार हजार ५२ जनाले ज्यान गुमाएका छन्।
एक लाखभन्दा बढी संक्रमित भेटिने ६ देश अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी र बेलायत हुन्। अमेरिकामा संक्रमितको संख्या ६ लाख ७७ हजारभन्दा बढी छन्। तर, अन्य देशमा दुई लाख पुगेका छैनन्।
यसैबीच बेलायतले कोरोनाभाइरस नियन्त्रणका लागि लगाएको बन्दाबन्दी कम्तीमा थप तीन साता लम्ब्याएको छ।
विदेश मन्त्री डोमिनिक राबले दैनिक प्रेस ब्रिफिङमा संक्रमण दरलाई अझै घटाउन नसकिएकाले बन्दाबन्दी थपिएको बताए। त्यहाँ गत २३ मार्चदेखि नै बन्दाबन्दी गरिएको छ।
बेलायत सरकारले मान्छेहरुलाई घरैमा बस्न अनुरोध गरेको छ। अधिकांश व्यवसाय बन्द गर्न आदेश दिइएको छ भने दुई जनाभन्दा बढीलाई जम्मा हुन दिइएको छैन।