'अहिले सिन्को घाँटीमा अड्के झैं भएको छ'
“म अस्मिता किसान। भलाटाकुरा, बाग्लुङ ३ मा बस्दै आइरहेको छु। म अहिले १८ वर्षकी भएँ। मेरो विहे भएको २ वर्ष भयो र ९ महिनाको नानी छ । हाम्रो घरका सबै जनाले भारी बोक्ने काम गर्थ्यौं । मेरो श्रीमान कहिले नजिकैको गाउँमा त कहिले बाग्लुङ बजारमा भारी बोक्ने काम गर्नु हुनुहुन्थ्यो।
कामको खोजीमा उहाँ ईन्डिया जानु भएको अहिले ५/६ महिना भयो। तर कहाँ, कुन ठाउँ जानुभयो, मलाई थाहा छैन। गएदेखि न त एक कल फोन गर्नु भएको छ, न त मसँग उहाँको नम्बर नै छ। चार महिना अघि मेरो सासु र ससुरा पनि यहाँबाट सरेर काम खोज्दै चितवन जानुभयो।
त्यसपछि म घरमा एक्लै भएँ। अनि नानी बोकेर माइतमा आएँ। मेरो आमा र बा पनि भारी बोक्ने काम गर्नुहुन्छ। आफूसँग न त पढाइ-लेखाइ छ। न त एक मुरी धान उब्जिने जग्गा नै। दैनिक ज्यालामा ढुंगामाटो ओसार्ने, भारी बोक्ने काम गरेर आफ्नो र छोरीको खर्च चलाई रहेको थिएँ। अहिले सिन्को घाँटीमा अड्के झैं भएको छ। काम चारैतिर बन्द छ। कतै कुनै काम छैन ।
कोरोनाबारे छिमेकी दिदीहरुको मुखबाट अलि अलि सुनेर थाहा भयो। यसबाट बच्न मान्छेसँग टाढा बस्ने, बाहिर जाँदा मास्क लगाएर जानु पर्छ भन्ने सुनेकी छु। सरकारले घर बाहिर नजान भनेको छ तर दाउरा लिन जानै पर्छ। आन्टीहरुसँग नजिकैको जंगलमा दाउरा खोज्न जान्छु। बाँकी समय घरमै सरसफाई गर्ने, पकाउने, अनि नानीसँग बस्ने गरेकी छु।
श्रीमानको केही अत्तोपत्तो छैन। त्यता पनि कोरोना बढेको छ भन्ने सुनेकी थिएँ। कोरोना भन्ने रोगको चारैतिर चर्चा छ। पीर मात्रै लागिरहन्छ। श्रीमानको बारेमा कहाँ फोन गर्ने कसलाई सोध्ने केही थाहा छैन।
भारी बोकेर कमाएको पैसाले जिवन चल्थ्यो। अहिले त त्यो पनि छैन। सबैले भन्छन घरमै बस्। तर घरमा खानेकुरो केही छैन। दुई चार दिन देखि छरछिमेकसँग सापट लिएर खर्च चलाई रहेका छौं। कोरोनाको बन्दले मेरो जिन्दगी अँध्यारो बनाइदिएको छ। कतिसम्म यसरी चल्ने हो, केही थाहा छैन ।“
कथा किन ?
अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तीमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ । संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागी हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ । जो अहिले तेस्रो सातामा छ ।
विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ । हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तिकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना । २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखी हिमालखबर पनि जोडिएको छ ।
मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो । भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन् । एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन् । अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छैँ ।
संयोजक, कथा कोरोना टीम
@KathaCorona
सम्पादक
himalkhabar.com
@HImal_khabarv