कोरोनाभाइरस महामारीः एकै दिन थपिए ८४ हजार नयाँ संक्रमित, अमेरिकामा बढ्यो, इटलीमा घट्दै
विश्व महामारीको रुपमा फैलिइरहेको कोरोनाभाइरस संक्रमितको संख्या १५ अप्रिल एकै दिनमा ८४ हजार ५१५ नयाँ थपिएका छन् । याे संख्या १० अप्रिलपछिकाे बढी हाे । पछिल्लो चारदिनमा नयाँ संक्रमितकाे संख्या घट्दो क्रममा देखिएका थियो ।
नयाँ संक्रमितकाे संख्या ११ अप्रिलमा ८० हजार ९६१, १२ अप्रिलमा ७२ हजार ५२३, १३ अप्रिलमा ७१ हजार ५७२, १४ अप्रिलमा ७३ हजार ९६६ ले बढेको थियो। १० अप्रिलमा भने ९४ हजार ६२९ नयाँ संक्रमित बढेपछि क्रमशः घट्दो क्रममा थियो ।
अमेरिकामा पनि घट्दो क्रममा रहेको संक्रमितको संख्या १५ अप्रिलमा फेरि बढेको छ । अमेरिकामा हिजो एकै दिनमा ३० हजार २०६ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १४ अप्रलमा जम्मा २६ हजार ९४२ जना मात्र नयाँ संक्रमित थपिएका थिए ।
पछिल्लो समय इटलीले भने नयाँ संक्रमित थपिने क्रमलाई रोकेको छ । हिजो १५ अप्रिलमा त्यहाँ जम्मा दुई हजार ६६७ जना मात्र नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १४ अप्रिलमा दुई हजार ९७२ जना नयाँ संक्रमित थपिएका थिए ।
अहिलेसम्म विश्वभरि कोरोनाभाइरस संक्रमितको संख्या २० लाख ८२ हजार ३०४ छन् । जसमध्ये पाँच लाख १० हजार ३४१ जना निको भइसकेका छन् भने एक लाख ३४ हजार ६१५ जनाले ज्यान गुमाइसकेका छन् ।