नर्स प्रसुनाको मोडलिङ्, संगीत, अभिनय र समाजसेवा
बेलायतबाट नर्सिङमा मास्टर्स गरेकी धादिङकी प्रसुना कडेल नेप्लिज नर्सिङ एसोसिएसन, बेलायतकी अध्यक्ष हुन् जो 'फिजिकल केयर नर्सिङ' को काम गर्दै आएकी छन्। तर उनलाई यो भन्दा बढी मोडलिङले चर्चा दिलाएको छ।
नर्सिङमा करिअर बनाउन बेलायत गएको बताउने प्रसुना भन्छिन्, “सानैदेखिको इच्छा थियो। मोडलिङले तान्यो।”
काठमाडौंमा छँदा लोकदोहोरीका भिडियोमा अभिनय गरेकी उनी बेलायत गएपछि सौन्दर्य प्रतियोगिताहरूमा भाग लिन पुगिन्। फ्रेस अफ प्युरिटी नामक 'ब्यूटी कन्टेस्ट' की प्रतिस्पर्धी प्रसुनालाई मिस पब्लिक च्वाइस र मिस पर्सनालिटीको उपाधिले हौसला बढायो।
सन् २०१५ को 'रुल द रन वे' प्रतियोगितामा संसारभरिबाट पाएको भोटले 'पब्लिक च्वाइस' अवार्ड पाएकी उनलाई मोडलिङमा राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास बढाएको बताउँछिन्।
किङडम स्कूल अफ आर्टबाट थिएटर एक्टिङ कोर्स तथा इन्टरनेशनल स्कूल अफ स्क्रिन एक्टिङबाट डिप्लोमा गरेकी उनले इलाहावादको प्रयाग संगीत पाठशालाबाट गुरुदेव कामतमार्फत शास्त्रीय संगीतसमेत सिकेकी छन्।
यतिबेला भने मोडल प्रसुना नेपालमै छन्, मोडलिङमा होइन, भूकम्पले क्षति भएका विद्यालयको पुनःनिर्माणमा। भूकम्पलगत्तै राहत वितरणमा खटिएकी उनी गोरखा र सिन्धुपाल्चोकमा विद्यालय भवन निर्माणमा लागेकी छन्।
सिन्धुपाल्चोकको सिपाघाटमा गंगा–जमुना नर्सरी सेन्टर र गोरखाको धावनमा प्रभात उच्च माविको भवन निर्माण भइरहेको उनी बताउँछिन्। हुम्लामा प्रसूति केन्द्र खोल्ने सपना बुनेकी उनी समाजसेवाले आत्मसन्तुष्टि दिने गरेको बताउँछिन्।
-शिव मुखिया