कोभिड १९ नियन्त्रणमा कोरियाको सफलताः संक्रमित साढे १० हजारमध्ये साढे ७ हजार निको भए
दक्षिण कोरियामा बुधबार संसदीय निर्वाचन भयो। जनता मास्क र पञ्जा लगाएर भोट दिन लाइनमा बसे। कोरोनाभाइरस (कोभिड१९) ले आक्रान्त भइरहेको वेला यो दृश्य विश्वकै लागि आश्चर्यजनक थियो।
दक्षिण कोरियाले कोभिड१९ नियन्त्रणमा पाएको सफलताकै कारण निर्वाचन संभव भएको हो। त्यहाँ अहिलेसम्म १० हजार ५९१ जना संक्रमित फेला परेका छन्। तर, सक्रिय संक्रमित भने दुई हजार ७५० जना मात्र छन्।
अहिलेसम्म त्यहाँ संक्रमित भएका सात हजार ६१६ जना निको भइसकेका छन्। २२५ जनाको भने मृत्यु भएको छ। त्यहाँ २० जनवरीमा पहिलो संक्रमित भेटिएका थिए। त्यसको एक महीनासम्म संक्रमितको संख्या साढे तीन सय थियो।
३ मार्चमा सबैभन्दा बढी ८५१ संक्रमित भेटिए। तर, त्यस यता संक्रमितको संख्या निरन्तर घट्यो। पछिल्लो पाँच दिनमा जम्मा १३१ संक्रमित भेटिएका छन्।
त्यही समयमा पाँच जनाको मृत्यु भएको छ। मार्च २४ मा एकै दिन नौ जनाको मृत्यु भएको थियो। एकै दिन मृत्यु हुने यो नै अहिलेसम्मको ठूलो संख्या हो।
संक्रमण सुरु भएपछि सरकारले प्रभावित क्षेत्र लकडाउन गरेर मोबाइल एपको माध्यमबाट सूचना संकलन थालेको थियो। सूचना प्राप्त हुनासाथ स्वास्थ्यकर्मी घरै पुगेर शंकास्पदहरुलाई आइसोलेसनमा पठाउँथे।
त्यस्ता व्यक्तिको तुरुन्त जाँच हुन्थ्यो। हरेक दिन २० हजारसम्म शंकास्पद संक्रमितको जाँच गरिएको थियो।
अहिले दक्षिण कोरियामा नयाँ संक्रमित निकै कम भेटिन थालेका छन्। बुधबार २७ जना नयाँ संक्रमित फेला परे। त्यसको अघिल्लो दिन पनि २७ जना नै संक्रमित फेला परेका थिए।