सागका विजेता खेलाडीलाई पुरस्कार रकम ब्याङ्क खातामै
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका खेलाडीहरुले बुधबारदेखि पुरस्कार रकम पाउन थालेका छन्।
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सिफारिश गरेको पदक विजेता खेलाडीहरुको नामावली स्वीकृत गरेपछि बुधबारबाट कोष लेखा तथा नियन्त्रण कार्यालय (कोलेनिका) ले खेलाडीहरुको खातामा पुरस्कार रकम पठाउन थालेको छ ।
गएको वर्ष मंसीर १५–२४ मा आयोजित सागमा विभिन्न पदक जित्ने ४ सय ९१ जना खेलाडीको लागि रु.१९ करोड ५३ लाख पुरस्कार रकम कोलेनिकामा जम्मा भएको छ।
केही खेलाडीले खातामा पुरस्कार रकम प्राप्त भएकोबारे जानकारी गराएको राखेपका राष्ट्रिय टिम तयारी निर्देशक महेन्द्र राईले बताए। उनका अनुसार, सबै खेलाडीको खातामा पुरस्कार रकम जान केही दिन लाग्नेछ। उनले भने, “केही खेलाडीको खातामा आजै पुरस्कार रकम जम्मा भएको छ। केही दिनभित्र सबै खेलाडीको खातामा पुरस्कार रकम पुगिसक्नेछ।”
सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई जनही रु.नौ लाख, रजत विजेतालाई रु.६ लाख र कांस्य जित्नेलाई रु.तीन लाख दिने घोषणा गरेको थियो।