जापानमा कोरोनाभाइरस संक्रमणको प्रारम्भिक रोकथाम, यसरी भयो सम्भव
गत वर्षको डिसेम्बर महीनामा चीनको वुहान शहरबाट शुरु भई अहिले विश्वव्याधिका रूपमा देखिएको कोरोनाभाइरस संक्रमण जनवरी महीनाको १६ तारिखमा जापानमा पहिलोचोटि देखियो। संक्रमण पीडित अन्य विकसित देशहरूको तुलनामा यहाँ फैलिने गति आरम्भमा न्यून थियो।
संक्रमित बिरामीको संख्या फैलिनबाट बचाउन जापानी परम्परागत व्यवहार, सरसफाइ र वैज्ञानिक अनुसन्धानमा आधारित सरकारी नीतिले प्रभावकारी भूमिका खेलेको अनुमान लगाइन्छ। यस लेखमा जापानमा कोरोनाभाइरसको संक्रमणका सम्बन्धमा वस्तुगत तथ्याङ्कका आधारमा स्तम्भकारको स्थलगत अनुभव पस्कने प्रयास गरिएको छ।
संक्रमणको गति
वुहान शहरको भ्रमण गरेर ६ जनवरी, २०२० मा जापान फर्केका ३० वर्षीय जापानी युवक कोरोनाभाइरस संक्रमित भएको कुरा जापान सरकारले १६ जनवरीमा पहिलो केसका रूपमा सार्वजनिक गरेको थियो। त्यसको एक हप्तापछि वुहान भ्रमणबाट फर्केर आएका अरू दुई जना कोरोनाभाइरस संक्रमित जापानी भेटिए।
त्यसको एक हप्तापछि वुहानबाट आएका चिनियाँ पर्यटकबाट एक जापानी बस ड्राइभरमा यो रोग सर्याे। २९ जनवरीदेखि पटक पटक गरी जापान सरकारले वुहान शहरमा रहेका हजारौं जापानी नागरिकलाई चार्टर्ड उडानबाट देश फर्काई उनीहरू सबैलाई टोकियो वरपरका सरकारी भवनहरूमा लगेर क्वारेन्टिनमा राख्यो।
यसरी फर्केका मध्ये १० जनालाई कोभिड-१९ लागेको थियो। ३ फेब्रुअरीदेखि चीनको हुबेई प्रान्त (जहाँ वुहान शहर पर्दछ) र १२ फेब्रुअरीदेखि जेजियांग प्रान्तबाट आएका विदेशीलाई जापान प्रवेश बन्देज गरियो। १३ फेब्रुअरीमा टोकियो छेउको कानागावा प्रिफेक्चरकी ८० वर्षीया महिलाको कोभिड-१९ का कारणले मृत्यु भयो। परिवारका सदस्य मार्फत रोग सरेर कोभिड-१९ का कारणले जापानमा मृत्यु हुने उनी पहिलो व्यक्ति थिइन्।
संक्रमणको पहिलो एक महीनासम्म देखिने बिरामीहरू कि त चीनको वुहान शहर घुमेर आएका कि उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेका मान्छेहरू मात्र थिए। त्यसै ताका जापान आएका तीन हजारभन्दा बढी यात्रु तथा क्रु मेम्बर बोकेको डाइमण्ड प्रिन्सेस् नामक क्रुजमा केही यात्रु संक्रमित भएको थाहा पाएर सो क्रुजलाई टोकियो नजिक योकोहामा पोर्टमा क्वारेन्टिनमा राखिएको थियो, जसमा ७१२ जना यात्रुहरु संक्रमित भएको पाइयो। जापान प्रवेश गर्नुभन्दा पहिले नै संक्रमण भएका हुनाले ती बिरामीहरूलाई जापानभित्र संक्रमित कुल बिरामी संख्यामा गनिएको छैन।
फेब्रुअरी महीनाको अन्तसम्ममा जापानमा दैनिक १० जना जति थपिंदै गई कुल बिरामीको संख्या २४० पुगेको थियो। मार्च महीनाको मध्यबाट टोकियो लगायतका शहरी क्षेत्रहरूमा संक्रमण वृद्धि भई एकै दिनमा ४०-५० जना थपिदैं जाँदा २० मार्चसम्ममा बिरामीको कुल संख्या १,००० नाघ्यो। यसरी जापानमा कोभिड-१९ बिरामीको संख्या १,००० पुग्न झण्डै २ महीना लागेकोमा एकाएक संक्रमण दर बढ्दै गएर त्यसको ११ दिनपछि अर्थात् ३१ मार्चमा बिरामीको संख्या २,००० नाघ्यो। त्यसपछि दैनिक बिरामीको संख्या ३०० को हाराहारीमा वृद्धि भएर ३ दिन अर्थात् ३ अप्रिलमा संक्रमितको संख्या ३,००० र ७ अप्रिलमा ४,००० नाघ्यो। त्यसपछि अहिले दुई दिनमा १,००० जति बिरामी थपिँदै आएका छन्। १३ अप्रिल, २०२० सम्ममा कोभिड-१९ बाट टोकियोमा मात्र २,१०० जना र जापानभरिमा ७,६०० जना संक्रमित भएका छन्। यसमध्ये १,३५३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने १४२ जनाले ज्यान गुमाएका छन्।
संक्रमण रोकथामका लागि अपनाएका उपायहरू
फेब्रुअरी महीनाको अन्त्यतिर संक्रमितको संख्या तीव्र गतिले बढ्न थालेपछि जापानी प्रधानमन्त्री सिन्जो आबेले संक्रमण रोक्नका लागि जापानभरिका सबै स्कूलहरू २ मार्चदेखि अप्रिलको पहिलो हप्तासम्म बन्द गर्ने घोषणा गरे। त्यस्तैगरी ५ मार्चदेखि चीन तथा दक्षिण कोरियाबाट आउने सबै यात्रु १४ दिनको अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने नियम लगाइयो।
१६ मार्चबाट थप ४ देशहरू (स्पेन, इटली, स्वीट्जरल्याण्ड र आइसल्याण्ड) का केही क्षेत्रहरूबाट आउने यात्रुलाई जापान प्रवेशमा रोक लगाइयो। २० मार्चदेखि टोकियो लगायत वरपरका चिबा, साइतामा र कानागावा प्रिफेक्चरका गभर्नरहरूले सप्ताहान्तमा अत्यावश्यक काम नपरीकन घरबाट बाहिर ननिस्कनका लागि अपिल गरे। सकेसम्म कर्मचारीले घरबाटै काम गर्नसक्ने वातावरण मिलाएर बाहिरको भीडभाड कम गर्नका लागि टोकियोका अफिसहरूलाई आह्वान गरियो।
संक्रमणको दर अझै बढ्दै गई मार्चको अन्त्यतिर टोकियो मेट्रोपोलिटनमा मात्र एकै दिनमा ६०-७० जना नयाँ बिरामी थपिएर जापानभरिमा संक्रमितको संख्या १,७०० जति पुगेको बेला यहाँ पनि फ्रान्स वा स्पेनको जस्तो भयावह अवस्था आउने त होइन भन्ने डर उत्पन्न भयो। किनभने १,७०० जना जति बिरामीहरू भएका फ्रान्स र स्पेनमा १८ दिन पछि ती देशहरूमा बिरामीको संख्या क्रमशः ३७,००० र ७९,००० जति पुगेका थियो।
टोकियोका विभिन्न अस्पतालमा कोभिड-१९ का बिरामीहरूको उपचारका लागि शुरुमा १४० बेड तयार पारिएको थियो, जुन अपुग भएर मार्चको अन्त्यमा ५०० पुर्याई चाँडै नै ४,००० बेड तयार पार्ने योजना बनाइयो। २०२० को जुलाई महीनामा आयोजना गरिने भनिएको टोकियो ओलम्पिक खेललाई कोभिड-१९ को विश्व महामारीको कारणले यो वर्ष स्थगित गरेर अर्को वर्षको जुलाईमा गरिने निर्णय गरियो।
२९ मार्चमा जापानका सुप्रसिद्ध हास्यकलाकार केन सिमुराको कोरोनाका कारण मृत्यु भएको समाचारले जापानीलाई मात्र नभएर जापानवासी विदेशी समुदायलाई समेत स्तब्ध बनायो। यस घटनाले कोरोनाभाइरस संक्रमणलाई रोक्नका लागि टोकियोले सशक्त कदम चाल्नु पर्ने प्रतिक्रिया जनस्तरमा यत्रतत्र सुनिन थाल्यो।
१ अप्रिलमा टोकियोका स्कूलहरू मे महीनाको पहिलो हप्तासम्म बन्द राखिने निर्णय भयो। बजारमा मास्क किन्न नपाइने भएपछि हरेक परिवारलाई धुन मिल्ने कपडाका दुई थान मास्क हुलाक मार्फत वितरण गर्ने प्रधानमन्त्री सिन्जो आबेले घोषणा गरे।
३ अप्रिलपछि जापान प्रवेश गर्ने जापानी तथा विदेशी नागरिक सबैले तोकिएको ठाउँमा १४ दिनका लागि अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने नियम लगाइयो। त्यस्तैगरी अमेरिका, चीन, कोरिया लगायतका ७३ देशबाट आउने विदेशीलाई जापान प्रवेश गर्न रोक लगाइयो। जापानीले भने संसारको जुनसुकै देशबाट जहिले आए पनि प्रवेश गर्न पाउने छन्। १२६ देशबाट जापान आउने ईएमएस, एअर मेल र २७ देशबाट आउने सबै प्रकारका चिठ्ठी पत्रहरू जापान बोर्डर भित्र प्रवेश नगराइने निर्णय गरियो।
जापानमा संक्रमित नयाँ बिरामी पत्ता लाग्ने बित्तिकै उनीहरूलाई कोरोनाभाइरस कहाँ, कहिले, कस्तो संसर्गबाट सरेको हुनसक्छ भनी अध्ययन गरिन्छ। सो अध्ययनका आधारमा संक्रमण क्लस्टरहरू पत्ता लगाई क्लस्टर बन्न सक्ने सम्भावित ठाउँ तथा इभेन्टहरू निगरानीमा राख्ने रणनीति अपनाएको छ। संक्रमणको दर न्यून रहँदाका बखतमा ८० प्रतिशतभन्दा बढी बिरामीको संक्रमण रुट पत्ता लाग्दथ्यो तर बिरामीको संख्या बढ्दै जाँदा थोरैको संक्रमण रुट मात्र पत्ता लाग्ने भएको छ। भवन भित्र धेरै जना भेला हुने ठाउँहरू जस्तै अस्पताल, स्पोर्ट्स सेन्टर, कन्सर्ट हल, नाइटक्लब, केयरसेन्टर, प्रहरी कार्यालय आदिमा संक्रमणका क्लस्टर पाइएका छन्। संक्रमण रुट थाहा नभएका बिरामीहरूलाई लक्षण नदेखिएका तन्दुरुस्त मानिसहरूबाट भाइरस सरेको अनुमान गरिन्छ। टोकियोमा देखिएका संक्रमित मध्ये ६० प्रतिशत जति ५० वर्षभन्दा कम उमेरका छन्।
मार्च महीनासम्म देखिएका सबै संक्रमित बिरामीलाई अस्पतालमा भर्ना गरी उपचार गराइन्थ्यो। अप्रिल महीनादेखि टोकियोमा बिरामीको चाप अस्पतालले नथेग्ने गरी बढ्न थालेपछि सामान्य लक्षण भएका संक्रमितलाई तोकिएका होटेलहरूमा लगेर राखी उपचार गराउने व्यवस्था मिलाइएको छ। सिकिस्त बिरामीहरू मात्र अस्पतालका भेन्टिलेटर र एक्मो सुविधासम्पन्न कोठामा राख्न थालिएको छ।
जापानमा कोरोनाभाइरसको संक्रमण परीक्षण गराउनका लागि बिरामीमा तोकिएका लक्षणहरू देखिएको हुनुपर्दछ। खोकी तथा कफले गर्दा सास फेर्न गाह्रो भएको, ३७.५°C भन्दा माथिको ज्वरो लगातार चार दिनसम्म (बूढाबूढी तथा दीर्घरोगीलाई दुई दिनसम्म) आएको खण्डमा अस्पताल जानुभन्दा पहिले टेलिफोनमा परामर्श लिनुपर्छ। डाक्टरले कोरोना संक्रमणको शंका गरेमा बिरामीलाई पारामेडिक्सले घरबाट सीधै तोकिएका अस्पतालमा लग्छन्, जहाँ कोरोनाभाइरस परीक्षण गर्नका लागि नमूना संकलन गरिन्छ।
जापानमा यूरोप र अमेरिकाको जस्ता बिरामीहरू हप्ता दिनभित्रै हजारौंको संख्यामा ओभरशूट नहुनुका पछाडि यहाँको रहनसहन, सरसफाइ तथा परम्परागत जनचेतनाले सहयोगी भूमिका खेलेको अनुमान लगाइन्छ। यहाँका मानिसहरू हात मिलाएर अथवा गाला जोडेर अभिवादन गर्दैनन्। टाढैबाट शिर झुकाउँछन्। यहाँ हरेक वर्ष जाडोमा मौसमी ज्वरो (सिजनल फ्लु) फैलिने गर्दछ, जसबाट बच्नका लागि घरबाट बाहिर निस्किदा प्रायः सबैले नाक, मुख मास्कले छोप्ने यहाँको नियमित चलन हो। रुघाखोकी तथा अन्य कारणले आफू अस्वस्थ महसुस गरेको अवस्थामा बाहिर जानुपर्दा सबैले मास्क लगाएर मात्र घरबाट निस्कन्छन्। बाहिरबाट घर फर्किंदा पनि साबुनपानीले हात हुने तथा मुख कुल्ला गर्ने गरिन्छ।
संकटकालको घोषणा
४ अप्रिलदेखि टोकियोमा मात्र १०० जनाभन्दा धेरै बिरामी दैनिक थपिंदै गएपछि टोकियो तथा वरपरका तीन प्रिफेक्चरमा जनतालाई अत्यन्त जरुरी काम बिना घरबाहिर नजान र अत्यावश्यक सेवाभन्दा बाहेकका व्यापार व्यवसाय बन्द गर्नुपर्ने गरी संकटकाल घोषणा गर्नका लागि जनदबाब बढ्दै गयो। ८ अप्रिलदेखि राजधानी टोकियो, चिबा, साइतामा, कानागावा, ओसाका, ह्योगो र फुकुओका गरी सात प्रिफेक्चरमा ६ मईसम्मको एक महीने संकटकाल (स्टेट अफ इमर्जेन्सी) लागू गरियो। त्यसको दुई दिन पछि आइची प्रिफेक्चर र होक्काइदो प्रिफेक्चरका गभर्नरहरूले पनि संकटकाल घोषणा गरे।
मार्च महीनामा जापानी संसदले पास गरेको परिमार्जित कानून अनुसार लागू गरिएको यहाँको संकटकाल अन्य देशको लकडाउन जस्तो सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था चाहिं होइन। अत्यावश्यक सेवाअन्तर्गतका व्यवसाय खुला छन्, जसमा निम्न ८ समूह पर्दछन् -
(१) अस्पताल, क्लिनिक र औषधि पसलहरू, (२) सुपरमार्केट, होम सेन्टर, कन्भिनियन्स स्टोर, (३) रेस्टुराँ (बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म), (४) होटेल, गेस्ट हाउस, (५) सार्वजनिक यातायात, (६) उद्योगधन्दा, (७) वित्तीय संस्था, (८) क्लिनिङ्ग, ब्यूटी पार्लर।
त्यसैगरी निम्न ६ समूहका व्यवसायहरू बन्द गरिएको छ- (१) नाइटक्लब तथा बार, (२) शैक्षिक संस्थाहरू, (३) स्पोर्ट्स क्लब, बलिङ्ग, पाचिङ्को, (४) सिनेमा हल, नाट्यघर, (५) पुस्तकालय, प्रदर्शनी कक्षहरू र (६) ठूला सपिङ्ग सेन्टर र कम्प्लेक्सहरू।
सरकारी अफिसहरूमा सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा बसेर काम गर्नुपर्ने भन्दा बाहेकका कर्मचारीहरूलाई घरबाट टेलिवर्क गर्न लगाइएको छ। प्राइभेट अफिसहरूमा पनि सोहीअनुसार गर्न गराउनका लागि आह्वान गरिएको छ। सर्वसाधारणलाई सकेसम्म घर बाहिर ननिस्कन भनिएको छ। तर जरुरी काम परेर बाहिर निस्कने व्यक्तिलाई कारबाही गर्ने कानून छैन।
झण्डै एक लाखको हाराहारीमा रहेकाे जापानवासी नेपालीको मध्ये अहिलेसम्म दुई जना मात्र नेपाली संक्रमित भएको खबर छ। यहाँको नेपाली समुदायमा संक्रमणको जोखिम उच्च छ किनकि धेरैजसो नेपालीहरू दैनिक सयौं ग्राहकसँग नजिक भएर काम गर्नुपर्ने सर्भिस सेक्टर (रेस्टुराँ, बार, कन्भिनियन्स स्टोर, होटेल आदि) व्यवसायमा संलग्न छन्।
र जान आउनका लागि सार्वजनिक यातायात प्रयोग गर्नुपर्ने भएकाले संक्रमणबाट जोगिन गाह्रो पर्ने अवस्था छ। यहाँका नेपालीहरूलाई सुसूचित गराउन तथा सम्भावित संक्रमितलाई आवश्यक सहयोग र परामर्शका लागि नेपाली दूतावास लगायत अन्य नेपाली संघसंस्थाहरू सक्रिय भएर लागिपरेका छन्।
संकटकाल लगाउनु भन्दा पहिलेदेखि नै हरेक दिन ती प्रिफेक्चरका गभर्नरहरुले टेलिभिजन तथा इन्टरनेटको माध्यमबाट संकटकालमा बन्द या चालू राख्नु पर्ने व्यवसायहरू, अवलम्बन गर्नुपर्ने नीति नियमहरू, दैनिक जनजीवनमा अप्ठ्यारो पर्दा अपनाउने उपायहरू, सम्पर्क स्थान तथा फोन नम्बर आदिका बारेमा बारम्बार जानकारी गराइरहेका छन्।
कोभिड-१९ महामारीले सर्वसाधारणको मनोबल कमजोर पारेको निराशाजनक परिस्थितिमा पनि सरकारको नेतृत्व तहबाट सकारात्मक संदेश प्रवाह गरिँदैछ। साथै कोरोना प्रकोपको विभिन्न पक्षका बारेमा विज्ञको गहन अध्ययन, अनुसन्धानको नतिजाअनुसार सरकारले समयसापेक्ष निर्णय गर्दै जाने आश्वासन पनि दिएको छ। संकटकाल व्यवस्थाले सामाजिक दूरी कायम राखेर मानिस-मानिस बीचको संसर्गलाई ७०-८० प्रतिशतकाे हाराहारीमा घटाएर एक महीना भित्रमा संक्रमणलाई न्यून पार्ने योजना बनाइएको छ।
आर्थिक राहत प्याकेज
कोभिड-१९को प्रभावलाई न्यूनीकरण गर्नका लागि जापान सरकारले पूरक बजेटको व्यवस्था गरेको छ। संक्रमणका कारणले संकटमा परेका जनताको उद्धारका लागि केन्द्रीय तथा स्थानीय सरकारले विभिन्न प्रकारका आर्थिक प्याकेजको घोषणा गरेका छन्। न्यून आय हुने १ करोड ३० लाख परिवारले तीन लाख जापानी येन राहत सहयोग पाउने छन्।
संकटमा परेका साना तथा मझौला उद्योगहरूलाई एक लाखदेखि बीस लाख येनसम्मको आर्थिक सहयोग हुने भएको छ। स्वरोजगारमा रहेका साना उद्यमीहरू तथा जागिर खुस्किएका परिवारहरूका लागि दुई लाख येनको ऋण सहयोग उपलब्ध छ। त्यस्तैगरी आफ्ना बालबच्चाको स्कूल बन्द भएर वा स्वयं बिरामी परेर जागिर गर्न नसकेका व्यक्ति वा परिवारका लागि पनि आर्थिक सहयोगको व्यवस्था छ।
जापानवासी नेपालीको अवस्था
जापानवासी नेपालीको जनसंख्या झण्डै एक लाखको हाराहारीमा छ र अहिलेसम्म दुई जना मात्र नेपाली संक्रमित भएको खबर आएको छ। यहाँको नेपाली समुदायमा संक्रमणको जोखिम उच्च छ किनकि धेरैजसो नेपालीहरू सर्भिस सेक्टर (रेस्टुराँ, बार, कन्भिनियन्स स्टोर, होटेल आदि) व्यवसायमा संलग्न छन्। दैनिक सयौं ग्राहकसँग नजिक भएर काम गर्नुपर्ने र जान आउनका लागि सार्वजनिक यातायात प्रयोग गर्नुपर्ने भएकाले संक्रमणबाट जोगिन गाह्रो पर्ने अवस्था छ। यहाँका नेपालीहरूलाई सुसूचित गराउन तथा सम्भावित संक्रमितलाई आवश्यक सहयोग र परामर्शका लागि नेपाली दूतावास लगायत अन्य नेपाली संघसंस्थाहरू सक्रिय भएर लागिपरेका छन्।
(लेखक टोकियोमा सूचना प्रविधिसम्बन्धी अध्ययन, अनुसन्धान तथा अध्यापन पेशामा संलग्न छन्।)