लकडाउनमा भेला भएर तास खेल्ने ९ जना पक्राउ
लकडाउन वेला अरुका घरमा नजाने तथा भेलाजम्मा नहुने सरकारको अनुरोधको बेवास्ता गर्दै अर्काको घरमा गएर तास खेल्ने ९ जना पक्राउ परेका छन्।
उदयपुरका दुई छुट्टाछुट्टै ठाउँबाट उनीहरुलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार, बेलका नगरपालिका २ का सूर्यबहादुर बस्नेतको घरमा तास खेल्ने स्थानीय सम्राट राई, सीताराम बस्नेत र सुनसरी बराहक्षेत्र नगरपालिका ९ का गणेश मगरलाई नियन्त्रणमा लिएको हो ।
घरधनी बस्नेतसहित पक्राउ परेकाहरुको साथबाट रु ३ हजार २ सय ९५ नगद र तास बरामद भएको थियो । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट गएको टोलीले बेलकाकै ३ नम्बर वडाका रामबहादुर माझीको घरमा तास खेलिरहेका स्थानीय दिपक माझी, जसबहादुर माझी, कर्साङ लामा र राजन माझीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
घरधनी माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट रु ४ हजार २ सय २० र तास समेत बरामद गरिएको प्रहरीको भनाइ छ ।
प्रदेश प्रहरी कार्यालयले आवश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै १४ वटै जिल्ला प्रहरी कार्यालय मार्फत लकडाउनको उल्लङ्घन गर्नेलाई कारवाही गरिने सार्वजनिक अपिल गरिएको प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।
लकडाउन शुरु भएदेखि ११ चैत यता प्रदेश १ मा लडडाउनको पालना नगर्ने करीब ४ हजार मानिस र २ हजार बढी सवारी साधनलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।
सानो लापरवाहीले आफू लगायत घरपरिवारका सदस्य, छरछिमेक हुँदै सम्पूर्ण मानव जातिनै जोखिममा पर्ने भएको हुँदा यस महामारीलाई फैलनबाट रोक्न घरमै सुरक्षित बस्न सबैलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
कमल रिमाल