बन्दाबन्दीको २१ दिनः १२ बालिका याैनहिंसामा
सरकारले कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी आह्वान गरेका पछिल्ला २१ दिनमा देशभर भएका अपराधका तथ्यांकले बालिका र गृहणी सबैभन्दा जोखिममा रहेको देखिएको छ।
बालिका र गृहिणी अरुबाट होइन, आफन्त र छिमेकीबाटै असुरक्षित पाइएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार, बन्दाबन्दीपछि ३० चैतसम्म १५ वटा जबर्जस्ती करणी र करणी उद्योगका घटना दर्ता भएका छन् । जसमध्ये नाबालकबाट ५ बालिका बलात्कृत भएका छन् । बलात्कारका अन्य घटनामा ७ बालिका, २ युवती र एक महिला छन्।
बालक सुधारौं
२६ चैतमा गुल्मीको कालिगण्डकीमा १२ वर्षे बालकले ६ वर्षीयालाई करणी गरेको जाहेरी गुल्मी प्रहरीमा परेको छ । सधैं सँगै खेल्ने छिमेकी बालबालिका घटनाका दिन पनि सँगै थिए । साँझ बालिकाले आफूलाई असहज भएको बताएपछि आमाले प्रहरीलाई खबर गरेकी थिइन् । बालक यतिबेला प्रहरी हिरासतमा छन्।
२६ चैतमै सिरहाको लहान नगरपालिकामा १५ वर्षीय बालकले ५ वर्षकी बालिकालाई यौनहिंसाको शिकार बनाए । आँप बगैंचामा भएको यो घटनाका आरोपी फरार छन्।
११ चैतमा झापाको भद्रपुर नगरपालिका हिमाली चोकका १५ वर्षे बालकले आफूहरुसँग खेलिरहेकी ९ वर्षीया बालिकालाई सँगै नखेलाउने भन्दै धम्काएर करणी गरे । यस्तै रुपन्देहीको गंगानगरमा ५ वर्षीया बालिकालाई १३ वर्षका बालकले करणी गरेको जाहेरी इलाका प्रहरी कार्यालय रन्यौरामा परेको छ । पर्साको धोबिनी गाउँपालिका, पिपरमा खेतमा काम गरिरहेकी ९ वर्षकी बालिकालाई १३ वर्षे बालकले करणी गरेको जाहेरी परेको छ।
“यताका वर्षहरुमा सामान्य अवस्थामा समेत करणीमा नाबालकको संलग्नता बढ्दो देखिन्छ,” काठमाडौं जिल्ला अदालतमा बालबिजाइँ मुद्दा हेर्ने मुख्य न्यायाधीश ब्रजेश प्याकुरेल भन्छन्, “ “बन्दाबन्दीमा किन बढिरहेको छ, अध्ययन आवश्यक देखियो।”
तेह्रथुम, म्याङलुङ नगरपालिकामा १९ चैतमा भएको करणी उद्योगका दोषी फरार छन् । उनले स्थानीय १२ वर्षे युवतीलाई करणी प्रयास गर्दा बालिकाले धारिलो हतियारले प्रतिकार गरेकी थिइन । घटनामा बालिका समेत घाइते भएकी छन् । प्रहरीले घटनापछि आफ्ना बालबालिकालाई सुरक्षित राख्न अभिभावकहरुलाई अनुरोध गरिरहेको छ।
यस्तै फेदाप गाउँपालिकाको पोक्लावाङका ४१ वर्षीय कालीबहादुर लिम्बूलाई प्रहरीले २६ चैतमा हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ । लिम्बूमाथि १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । प्रहरीले हिरासतमा लिएपछि लिम्बूलाई गाउँकै एक फरक क्षमताकी १७ वर्षे बालिकालाई समेत पटक–पटक करणी गरेको आरोपमा अर्को जाहेरी परेको छ।
बालिका बलात्कारकै आरोपमा बाजुरा, बुढीनन्दा नगरपालिकाका सौरिया लुहार, मुगुका २२ वर्षीय प्रनन्द बिक, २० वर्षीय धर्मराज रावल, सर्लाही लालबन्दीका ३० वर्षीय चन्द्रबहादुर वाइबा, गुल्मी मुसिकोटका २० वर्षीय प्रेम गुरुङमाथि पनि प्रहरीमा जाहेरी परेको छ।
उच्च अदालत पाटनका न्यायाधीश टेकनारायण कुँवरका भनाइमा, अभिभावकत्वमा देखिएको समस्याकै कारण बालबिजाइँका घटना भइरहेका छन् । चितवन र हेटौंडाका दुई मुद्दाको उदाहरण दिँदै कुँवर कतिपय अवस्थामा बालकहरुले मोबाइलमा अश्लिल सामग्री हेर्ने र त्यसबाट उत्पन्न जिज्ञासा मेट्न करणी गर्ने गरेको पाइएको बताउँछन्।
“अभिभावकहरुले सामान्य अवस्थामा भन्दा अहिलेको बन्दाबन्दीमा बालबालिकालाई विशेष ध्यान दिन आवश्यक छ”, कुँवर भन्छन्।
सहयोगको नाममा बलात्कार
प्रहरीले ३० चैत बिहान २२ वर्षीया एक युवतीलाई काठमाडौंको बाफलमा बेहोस अवस्थामा फेला पार्यो । तत्काल वीर अस्पताल लगियो।
होसमा आएपछि युवतीले आफू बलात्कृत भएको बताइन् । धादिङकी ती युवती बन्दाबन्दीमा काठमाडौं आउनैपर्ने भएपछि ना.६ ख ५६१५ नम्बरको ट्रकमा चढेकी थिइन् । मौकाको फाइदा उठाउँदै सहचालक कृष्णमुर्मु सतारले थानकोट चेकपोष्ट नजिकै ती युवतीलाई बलात्कार गरे। बलात्कारपछि बाफल सडकमा बेहोस अवस्थामा छाडिदिए । अहिले सतार प्रहरी हिरासतमा छन्।
२९ चैतमा रुपन्देहीको मर्चवारी गाउँपालिका श्रीरामपुरमा १८ वर्षे राजेश चौहानले छिमेकी २२ वर्षीया महिलाको बलात्कार गरे । घटनाको अघिल्लो दिनसम्म भाउजू भनेर आदर गर्ने महिलालाई घरमा कोही नभएको मौकामा उनले करणी गरेका थिए।