इतिहासमा पहिलोपटक पर्यटन ठप्प, नेपाललाई डेढ खर्ब नोक्सानी
सामान्य अवस्था थियो भने यति वेला सगरमाथा र अन्य हिमाल आरोहण गर्नेका लर्को हुन्थ्यो। होटल, ट्रेकिङ तथा एक्सपीडिसन, पर्यटनका संघसंस्थालाई भ्याइनभ्याइ हुने समय हो, यो।
हिमाल आरोहण गराउने अग्रणी संस्था सेभेन समिटबाट मात्र हरेक सिजनमा तीन सयभन्दा बढी आरोही त्यता जान्छन्। उनीहरुलाई सघाउन करीब १५ जना कामदार परिचालन हुन्छन्। तर, यो वर्ष सेभेन समिटका संचालक र कामदार आराममा छन्।
संक्रमणको जोमिखले यो वर्ष मुख्य सिजनमा नै पर्यटन क्षेत्र ठप्प छ। सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पा भन्छन्, ‘‘अहिले पर्यटन व्यवसायी र पर्वतीय पर्यटनको निम्ति किसानको मध्य असार झैँ हुनुपर्ने थियो, तर सबैतिर सुनसान छ।”
मुख्य सिजनमा कम्तिमा १५ हजार व्यक्ति आरोहण गतिविधिमा सक्रिय हुन्छन्। एक पर्यटकले कम्तिमा ६ जनालाई रोजगारी दिने नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा बताउँछन्। आरोहणमा जाने एक पर्यटकका लागि एक जना गाइड, दुई जना सहयोगी, एक जना कुक र दुई जना भरिया अनिवार्य पठाउनुपर्छ।
हिमाल आरोहण नभएपछि हिमाली क्षेत्र सुनसान छ। पर्वतीय पर्यटनमा आश्रित शेर्पा र उच्च हिमाली क्षेत्रका बासिन्दा फुर्सदमा छन्। यस्तो अवस्था इतिहासमै पहिलोपटक भोग्नु परेको अध्यक्ष लामा बताउँछन् ।
उनका अनुसार सन् १९५३ मा एण्डमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथामा मानव पाइला टेकेपछिको पहिलोपटक हिमाली गतिविधि शून्य भएको हो। यसअघि आरोहण भए पनि नभए पनि आरोहीको गतिविधि रोकिएको थिएन।
२०७१ सालको वसन्त ऋतुमा हिउँ पहिरोका कारण र २०७२ सालमा भूकम्पका कारण आरोहण भएन। त्यतिबेला सबै आरोही सगरमाथा पुगिसकेपछि भूकम्प गएको थिए। आरोहण नभए पनि हिमाली अर्थतन्त्र चलायमा भयो । अहिले भने न पर्यटकको चहलपहल छ, न स्थानीय नै सक्रिय छन्।
सगरमाथा शिखरमा अहिलेसम्म करिब ६ हजार ६०० जनाको मानव पाइला परेको छ। पछिल्ला हरेक वर्ष ५०० भन्दा बढी सगरमाथाको चुचुरोमा पुग्ने गरेका छन्। तर, आरोहणका लागि भने वर्षेनी एक हजार ५०० जना आधारशिविर पुग्ने नेपाल पर्वतारोहण संघले जनाएको छ। सगरमाथा आरोहणबाट सरकारले वार्षिक रु.५० करोड रोयल्टी उठाउँछ।
यो वर्ष सिजन सुरु हुनु अगाडि नै सरकारले सगरमाथा आरोहण स्थगनको निर्णय गर्यो। नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गएको २९ फागनुमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएका वा जारी गरिने अनुमतिपत्र स्थगित गर्ने निर्णय गरेको थियो। त्यस वेलासम्ममा वसन्त ऋतुको लागि पाँच देशका १३ आरोहीले अनुमति लिएका थिए।
पर्यटन विभागका अनुसार आमादब्लम, चुक्यिमा गो, पबुक खाङ, जक्र्या पीक र थोराङ पीक आरोहणका लागि १२ पुरुष एक महिलाले अनुमति लिएका थिए। विभागले त्यसका लागि रु.४ लाख २५ हजार ७०५ रुपैयाँ आरोहण रोयल्टी संकलन गरेको थियो। यो अनुमति पनि स्थगित भइसको छ।
सरकारको निर्णयसँगै ३० हिमाली क्षेत्रका होटल, गाइड, भरिया, सहयोगीसहित स्थानीय संघसंस्था कामबिहीन भए। जसकारण यो वर्ष हिमाली क्षेत्रको अर्थतन्त्र ठप्प छ। नेपालका १० वटा कम्पनीका ३३ वटा हेलिकप्टर पनि यति वेला उड्न पाएका छैनन्। सिजनमा निरन्तर ८/९ घण्टा उडान हुन्छ। पर्वतीय पर्यटनको चापले कुनै नेपालीलाई उद्दार गर्नुपर्दा चार्टर समय पाउनै मुस्किल हुने हेलिकोप्टर थन्किएका छन्।
कम्पनीहरुले उल्टै कर्मचारीको तलब घटाएर बस्नुपरेको वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेल शर्मा बताउँछन्। उनका अनुसार मुख्य सिजनमा काठमाडौंबाट लुक्ला मात्रै बिहानैै एकदेखि डेढ सय उडान भइसकेका हुन्छन्।
डेढ खर्बको नोक्सानी
विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड—१९) को संक्रमणको कारण नेपालको पर्यटन क्षेत्रले मात्रै एक वर्षमा करीब रु.१ खर्ब ५० अर्ब गुमाउने अनुमान गरिएको छ। सन् २०२० मा होटल, ट्राभल, ट्रेकिङ, पर्वतीय पर्यटन, रेष्टुरेन्ट एन्ड बार र अनौपचारिक पर्यटनबाट सन् २०२० मा यो क्षति हुने भएको हो।
पर्यटन क्षेत्रमा कार्यरत पाँच लाखभन्दा बढी जनशक्ति र सम्बन्धित पर्यटकीय संघ संस्थाले दिएको प्रारम्भिक प्रतिवेदनका आधारमा क्षतिको अनुमान गरिएको नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी बताउँछन्। उनी पर्यटन क्षेत्रमा संक्रमणले पारेको असरबारे अध्ययन गरिरहेका छन्।
पर्यटन क्षेत्रले कोरोना प्रभाव रोकिएको एक वर्षदेखि दुईवर्षसम्म गति लिन सक्दैन। कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा जम्मा ३ प्रतिशतको मात्रै योगदान दिने पर्यटन क्षेत्र सबैभन्दा छिटो र लामो समयसम्म प्रभावित हुने उनी बताउँछन्। पर्यटनले जीडीपीमा गत आव २०७५/७६ मा रु.६३ अर्ब योगदान गरेको थियो।
विश्व पर्यटन संगठनको तथ्याङ्क अनुसार सन् २०२० मा समग्र विश्वकै पर्यटन र एयरलाइन्सको क्षेत्रमा करीब सात खर्ब डलर क्षति हुनेछ। नेपालमा पर्ने यस्तो प्रभावमा होटल तथा रेस्टुरेन्टमा रु.५० अर्ब र एयरलाइन्समा करिब रु.४६ अर्बको छ।
नेपालको पर्यटनको सबैभन्दा ठूलो हिस्सा ओगट्ने पर्वतीय पर्यटनमा तेस्रो ठूलो प्रभाव पर्ने अनुमान छ। यो क्षेत्रमा करीब रु.१५ अर्ब नोक्सान हुनेछ। पूर्व सीईओ जोशी कुन क्षेत्रमा कति असर परेको छ भन्ने यकिन तथ्याङ्क आउन समय लाग्ने बताउँछन्। उनी भन्छन्, “माहामारी कति समय जान्छ भन्नै नसक्ने अवस्था भएकाले पर्यटन क्षेत्र सुनसन हुने अवधि तत्काल आँकलन गर्न सकिँदैन।”
गत वर्ष वसन्त ऋतुका लागि अनुमति लिएका ११३ टोलीबाट ८६८ जना आरोहणमा गएका थिए। रहेका थिए । यी आरोहीबाट सरकारले रु.४९ करोड ५९ लाख रोयल्टी उठाएको थियो। पर्यटन विभागकी प्रवक्ता मीरा आचर्यले यो वर्ष कसैलाई पनि आरोहण अनुमति नदिइएको बताइन्।
गत वर्ष सगरमाथा आरोहणमा जाने विभिन्न ४७ टिमले मात्रै आधारशिविरमा पुग्न रु.१ अर्ब २६ करोड खर्च गरेको नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा बताउँछन् । सरकारी रोयल्टी बाहेक नै उक्त खर्च भएको हो। सरकारलाई प्रत्येक विदेशी आरोहीले सगरमाथा चढ्न ११ हजार डलर रोयल्टी बुझाउनुपर्छ।
गुणस्तरीय पर्यटनमा धक्का
पर्वतारोहणमा आउनेहरु पाँचचारे होटलमा बस्ने, महंगो मूल्यको हवाई भाडा तिर्ने, जहाज चार्टर गर्ने, उद्दार तथा अन्य प्रयोजनमा पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक हुन्। र्छन् । वर्षभरी अन्य क्षेत्रबाट आउने पर्यटकको तुलना तीन महिनाका लागि आउने पर्वतीय पर्यटनको खर्चका हिसावले ठूलो हिस्सा हुने गरेको पनि सम्बन्धित पर्यटन व्यवसायीको भनाइ छ ।
एउटा पर्यटक आरोहणका निम्ति आउन प्रत्येक पर्यटकले एजेन्सी बुकिङ, आउने जाने हवाई टिकट, होटल बसाइ, आरोहणका लागि आवश्यक गाइदेखि सहयोगी र आवश्यक आरोहण सामाग्रीसमेतमा गरी औषत रु.४० लाख खर्च गर्छ। तर, राम्रा कम्पनी छान्ने र बढी सुविधा लिनेले रु.१ करोडसम्म खर्च गर्छन्।
सेभेन समिटले गत वर्षको तुलनामा यो वर्ष २० देखि ३० जना बढीलाई आरोहणमा पठाउने तयारी गरेको थियो। करीब १०० आरोहीले सगरमाथाको लागि आउने अन्तिम तयारी गरेका थिए। तर, महामारीका कारण अन्तिम समयमा आएर आरोहण रोकिएको सेभेन समिटका अध्यक्ष शेर्पा बताउँछन्।
नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष तथा एसियन ट्रेकिङका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पाका अनुसार समयमा नै सूचना जारी भएको र आरोहण सुरु नभइसकेकाले व्यवसायीलाई थप क्षति भएन। आरोहीलाई पनि व्यक्तिगत रूपमा कम मात्र असर पर्यो। तर, हिमाली क्षेत्रको अर्थतन्त्रमा भने ठूलो असर गरेको उनी बताउँछन्।
खुम्बु, अन्नपूर्ण र लाङटाङ क्षेत्रका ८५ प्रतिशत स्थानीय पर्यटनमा नै निर्भर छन्। तीन महीना काम गरेर परिवार पाल्ने र वर्षभरिको जोहो मिलाउने भरिया, गाइड, सहयोगी र त्यसक्षेत्रका व्यापारी प्रत्यक्ष मारमा परेका छन्। अर्बौ रुपैयाँ ऋण लिएर खुलेका होटललाई दीर्घकालीन असर पर्नेछ।