'९० वर्षमा केके आयाे केके, तर याे ‘हल्ला’ जस्तो कहिल्यै आएको थिएन'
“मेरो नाम जानुका ढुंगाना हो। म अहिले ९० वर्षमा हिँड्दै छु । यो ‘हल्ला’ शुरु भएपछि म बाहिर कहिं गएको छैन।
मलाई छोरा, बुहारी, नाती-नातिनाले घरबाट कतै नहिंड्न भनेका छन्। खोला पारि काँईली छोरीको नयाँ घर बनेको छ।
त्यो सम्म हेर्न जान पाएको छैन। वैशाख कति गतेसम्म चाहिं बन्दै हुन्छ भन्छन्। मान्छे मर्ने हल्ला छ, भन्छन्।
कतै जान नपाएर छटपटी त भा'को छ। तर यो ‘हल्ला’ मा कतै हिंड्न हुँदैन भन्छन्। बाटोमा तगेरो लगाएका छौँ। कोही पनि आउँदैनन्। म पनि कतै जान्न।
साबुनपानीले हात धोइरहन्छु। विहानै उठेर जप गर्छु। नजिकै मन्दिरमा भगवानसँग सबै राम्रो होस् भन्छु। धागोको बत्ती पनि कात्छु। दिनको त्यस्तै २ हजार बत्ती कात्छु । श्लोक भन्छु, रामायण पढ्छु। गीताका राग पनि पढ्छु। किताबै पढेर दिन बिताउँछु। मैले पढ्न भने ५,६ वर्षको उमेरमा मेरो बासँग सिकेको हुँ।
पहिला पहिला भुईँचालो आयो, सलह (फट्याँग्रो जस्तै एक प्रकारको किरा जसले बालि नष्ट पार्थ्यो) आयो, कांग्रेस आयो, माओवादी पनि आयो । तर यो ‘हल्ला’ जस्तो कहिल्यै आएको थिएन। काग्रेस आएको बेला घर छोडेर अरु जंगल जान्थे। माओवादी आएको बेला उनीहरु आफैं जंगल गए।
हाम्रो पुरानो घर उदयपुरकै लेखानीमा थियो। त्यहाँ हिँउ पनि आउँथ्यो। विहान आएको हिउँ दिउँसो १२ बजे सम्म सक्किसक्थ्यो। तर अहिले यो खै के ‘हल्ला’ आयो। धेरै दिन भयो सकिएको छैन। बुढा बुढीलाई यो हल्लाले झन् गाह्रो पार्छ भन्छन्। यो ‘हल्ला’सकिए पछि त सबैसँग भेट्न पाइन्छ भन्ने लाग्छ।”
कथा किन ?
अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तीमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ । संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागी हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ । जो अहिले तेस्रो सातामा छ ।
विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ । हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तिकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना । २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखी हिमालखबर पनि जोडिएको छ ।
मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो । भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन् । एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन् । अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छैँ ।
संयोजक, कथा कोरोना टीम
@KathaCorona
सम्पादक
himalkhabar.com
@HImal_khabarv