बन्दाबन्दीमा भर्चुअल मनाेरञ्जन
कवि श्रवण मुकारुङ कविता सुनाउँछन्। गायक एड्रिन प्रधान गीत गाउँछन्। दीपक बज्राचार्यको ब्यान्ड ‘रिदम’ ले हरेक दिन कन्सर्ट गर्छ। नाट्यकर्मी केदार श्रेष्ठ नाटकमै व्यस्त छन्। लेखक कृष्ण धरावासी वेलावेला साहित्य र लेखनीका कुरा गर्न आइपुग्छन्।
बन्दाबन्दीमा अधिकांश घरभित्रै छन्। तर, लेखक, गायक, कलाकार, सञ्चारकर्मी लगायतले घरभित्रै थुनिएकाहरुलाई दिक्दारी लाग्न दिएका छैनन्। कोही कथा सुनाउँदै छन्। कोही खेल खेलाउँदैछन्। कोही नृत्य सिकाउँदैछन्। बन्दाबन्दीमा भर्चुअल संसार झनै गतिशील छ।
सञ्चारकर्मी दिलभूषण पाठक घरबाट निस्किएका छैनन्। तर, उनको टेलिभिजन कार्यक्रम ‘टफ टक’ रोकिएको पनि छैन। हरेक हप्ता बिहिबार हिमालयन टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम उनी घरैबाट चलाउँछन्। उनले फेसबुकबाटै कार्यक्रम प्रत्यक्ष प्रसारण गरिरहेका छन्। उनले बन्दाबन्दीमा ‘टफ टक तपाइसँग’ को १९ औं भाग प्रशारण गरिसकेका छन्।
उनले कोरोनाभाइरस (कोभिड १९) मा नै केन्द्रित भएर कार्यक्रम चलाइरहेका छन्। बन्दाबन्दी हुने जानकारी लगतै फेसबुकबाट लाइभ कार्यक्रम चलाउने योजना गरेका थिए। कार्यक्रमका सहभागीको क्यामेरा एगंल, लाइट, ब्याकग्राउन्ड घरैमा बसेर मिलाउँछन्।
उनी भन्छन्, “स्टुडियोबाटै लाइभ कार्यक्रम गर्दा त प्राविधिक कुराहरुको धेरै ख्याल गर्नु पर्छ भने घरको बन्द कोठाबाट काम गर्न पक्कै सजिलो छैन, तर नसकिने भन्ने पनि होइन रहेछ।” अहिले हातै बाँधेर बस्ने अवस्था नरहेकाले बन्दाबन्दीको सकस र चुनौतीलाई अवसरको रुपमा प्रयोग गरेको उनी बताउँछन् ।
कोरोनाभाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीको १९औँ दिनसम्म आइपुग्दा घरै बसेर प्रविधिमार्फत काम गर्नेहरु धेरै भइसकेका छन्। त्यसका लागि इन्टरनेट सबैभन्दा उपयोगी माध्यम बनेको छ।
सञ्चारकर्मी आशा थापा र भावना गुरुङले ६ हप्तादेखि ‘संकटमा साथी’ पडकास्ट कार्यक्रम सुरु गरेका छन्। तीन अंकसम्म उनीहरुले कोभिड १९ बारे चेतनामूलक जानकारी दिए। संकटको समयमा सूचना सम्प्रेशन गर्ने उद्देश्यले पडकास्ट सञ्चालन गरिएको थापा बताउँछिन्। ‘संकटमा साथी’ एङ्कर र साउण्ड क्लाउडमा पनि सु्न्न सकिन्छ ।
उनी भन्छिन्, “हामीलाई लाग्छ विपतका वेला सूचना र जानकारीहरु गाँस, बास र औषधी जत्तिकै महत्वपूर्ण छन्। पडकास्टमार्फत यस्ता सूचना र जानकारी दिने हेतुले कार्यक्रम सुरु गरेका हौँ।” ‘संकटमा साथी’ बारे लाई फेसबुक, टुईटर, इन्सटाग्राम लगायतका सामजिक संजालमार्फत जानकारी लिन सकिने उनी बताउँछिन्।
‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’ ले फेसबुकबाटै नाटक देखाइरहेको छ। कोभिड–१९ को संक्रमणबाट सुरक्षित हुन क्वारेन्टाइनको महत्व बुझाउन अभियान थालेको नाट्यकर्मी केदार श्रेष्ठ बताउँछन्। उनको नाटक ‘मान भर्सेस मती’, नम्रता केसीको ‘राजेन्द्रलक्ष्मी’ र दयाहाङ राईद्धारा निर्देशित ‘जालिनी’ लगायत नाटक प्रदर्शन भइसकेका छन्। उनी भन्छन्, “क्वारेन्टाइनमा कोही पनि मानसिक रुपमा विक्षिप्त नहोस् र एक्लो पनि महसुस नहोस् भनेर अभियान थालिएको हो।”
बन्दाबन्दीमा मनोरञ्जन, सूचना र जनचेतनाका लागि विभिन्न सामाजिक सञ्जालमार्फत उमेर समूहलाई लक्षित गरेर पनि कार्यक्रम बनाइएका छन्। त्यस्ता कार्यक्रमले घरबन्दी भएका मानिसलाई तनाव कम गर्न सहयोग पुगेका छ।
बालबालिकाका लागि पनि भर्चुअल माध्यमबाट कथा सुनाउन थालिएको छ। कथालयले ५ देखि १३ वर्षसम्मका बालबालिका लक्षित ‘स्टोरी टाइम इन नेपाल’ फेसबुक कार्यक्रम चलाइरहेको छ। ११ चैतदेखि सुरु प्रत्यक्ष कथा वाचन हरेक दिन पाँच हजारसम्मले हेर्ने कथालयका प्रमुख कार्यकारी अधिकृत राजीवधर जोशी बताउँछन्।
‘कर्णाली रिडर्स सोसाइटी’ ले पुस्तकहरुमाथिको छलफल कार्यक्रम गरिरहेको छ। दैनिक विभिन्न पुस्तकमाथि चर्चा गरिने अभियानका सदस्य सचिन तिमिल्सेना बताउँछन्। पाँच जनाको समुह मिलेर कर्णाली रिडर्स् सोसाइटीको फेसबुक पेजबाट लाइभ कार्यक्रम गरिरहेको उनको भनाइ छ।
पाठक र पुस्तकबीचको दूरी अझै निकट बनाउन अभियान थालिएको उनी बताउँछन्। “कर्णाली रिडर्स सोसाइटीको कार्यक्रममा लेखक, पाठक जो कोही पनि आफूले अध्ययन गरेको पुस्तकका विषयमा चर्चा गर्नसक्नुहुन्छ, सामाजिक दूरी कायम राख्दै भर्चुअल दुनियाको माध्यमबाट मनको दुरी घटाउन यस्तो प्रयास गरेका हौँ”, उनी भन्छन्।
पत्रकार, लेखक, साहित्यकार, शिक्षक, कलाकार लगायत विभिन्न क्षेत्रमा रहेको व्यक्तिले अहिले फेसबुक र अन्य सामाजिक सन्जालबाट विभिन्न सूचना, सन्देश र मनोरन्जनात्मक कार्यक्रम दिइरहेका छन्। कवि श्रवण मुकारुङ्गले हरेक दिन कविता वाचन गरिरहेका छन् । ‘क्वारेन्टाइनमा कविता’ शिर्षक दिएर उनले नेपालका कविहरुका छोटो आयामका कविता सुनाउँछन्। उनी भन्छन्, “राहत बोकेर घरघरमा जान म सक्दिन, तर कवि भएकाले पाठक माँझ कविता लिएर जान सक्छु।”