बन्दाबन्दीमा रेष्टुरेन्टः कोही होम डेलिभरीमा, कोही खाद्यान्न बिक्रीमा
बन्दाबन्दीपछि फेरिएको परिस्थितिलाई ध्यान दिंदै आम उपभोक्ताको माग अनुसार केही रेष्टुरेन्टले होम डेलिभरी सेवा दिन थालेका छन् भने कतिपयले उपभोग्य वस्तुको अनलाइन व्यापारमा हात हालेका छन्।
बिदा, उत्सव, खुशियाली र भेटघाटको बहानामा मानिसहरू खानपिन र रमाइलो गर्न रेष्टुरेन्टमा पुग्छन्। अझ नयाँ वर्षको वेला त हरेकजसो रेष्टुरेन्टहरूलाई ग्राहकको स्वागत गर्ने र परिकार चखाउँदैमा भ्याइनभ्याई हुन्छ। न्यू इयर इभदेखि नयाँ वर्षारम्भको दिन रेष्टुरेन्टहरू गुलजार बन्छन्। यो नयाँ वर्ष २०७७ मा भने कोरोनाभाइरस (कोभिड–१९) को महामारीले सबै क्षेत्रलाई जस्तै रेष्टुरेन्ट व्यवसायलाई पनि असर गर्यो।
सरकारले लागू गरेको बन्दाबन्दीका कारण अहिले अधिकांश रेष्टुरेन्ट बन्द छन्। केही रेष्टरेन्टले भने आफ्ना नियमित ग्राहकहरुको सुविधाको लागि ‘होम डेलिभरी’ सेवा सञ्चालन गरिरहेका छन्।
काठमाडौं उपत्यका, पोखरा, सौराहामा मात्रै २५ सय रेष्टुरेन्ट छन्। बन्दाबन्दीपछि यी रेष्टुरेन्टका करीब ४५ हजार कर्मचारी अहिले आआफ्ना घरमा छन्।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसनका अध्यक्ष अरनिको राजभण्डारी सामान्य समयमा पनि खुशियाली मनाउन, साथीभाइ भेटघाट गर्न रेष्टुरेन्ट जाने प्रचलन बढ्दै गएको नेपाली समाजलाई कोरोनाभाइरसको प्रकोपले बदल्ने देख्छन्। कोरोना संकट टरे पनि मानिसको व्यवहार परिवर्तन हुनसक्ने र त्यसले रेष्टुरेन्ट व्यवसायमा असर पर्ने उनको तर्क छ।
उनी भन्छन्, “महामारीले मनोविज्ञानमा पारेको असरका कारण सामान्य अवस्थामा फर्किए पनि अब साथीभाइ जमघट गर्ने र रेष्टुरेन्टमा गएर मीठो खाने जस्ता व्यवहारहरू परिवर्तन हुनसक्छ।”
रेष्टुरेन्टका परिकार मगाउन केही सेवाग्राहीको माग भए पनि बन्दाबन्दीको समयमा सेवा दिन समस्या भएको अध्यक्ष राजभण्डारीको बताउँछन्। “सेवाग्राहीलाई सेवा दिन कर्मचारी चाहिन्छ, तर कर्मचारीको स्वास्थ्यलाई जोखिममा राखेर हामी होम डेलिभरी सर्भिस दिन सक्दैनौं”, उनी भन्छन्।
होम डेलिभरी सेवामा बोता र बाजेको सेकुवा
बन्दाबन्दीपछि कतिपय रेष्टुरेन्टहरूले ग्राहकको अर्डर अनुसार घरैमा परिकार लगिदिने सेवा थालेका छन्। काठमाडौं महाराजगन्जस्थित बोता रेष्टुरेन्टको मुख्य कार्यालयले नयाँ वर्षको शुरूआतसँगै मःमः को होम डेलिभरी सेवा शुरु गरेको छ। बोताका म्यानेजर भुवन आचार्यका अनुसार, चक्रपथभित्रका सेवाग्राहीले मात्रै यो सेवा पाउनेछन्।
आचार्य भन्छन्, “बोताको मःमःको स्वाद लिनुभएका धेरै सेवाग्राहीले होम डेलिभरीको माग गरेपछि १ वैशाखदेखि सेवा शुरू गरेका हौं।” कम्तिमा रु.१ हजार बराबरको मःमः अर्डर गरेपछि रेष्टुरेन्टले घरमा निःशुल्क लगिदिने गरेको छ।
यस्तै, बत्तीसपुतलीस्थित बाजेको सेकुवा रेष्टुरेन्टले एक सातादेखि होम डेलिभरी सेवा सञ्चालन गरिरहेको छ। यो रेष्टुरेन्टले पनि चक्रपथभित्रका ग्राहकलाई मात्र सेवा लक्षित गरेको छ। बाजेको सेकुवाका हेड अफ अपरेसन सञ्जीवकुमार तिमिल्सिनाले धेरै जनालाई सेवा दिन कर्मचारी ठूलो संख्यामा जम्मा भएर काम गर्नुपर्ने र कर्मचारी तथा ग्राहकको स्वास्थ्य सुरक्षामा ध्यान दिंदै निश्चित सेवा मात्र दिइरहेको बताए।
बाजेको सेकुवाले ‘भोज डिल’ को सहकार्यमा होम डेलिभरी गरिरहेको छ। ग्राहकको अर्डर लिने बाहेक रेष्टुरेन्टले विभिन्न ठाउँमा सेवामा खटिएका प्रहरी, एम्बुलेन्स चालक र डाक्टरहरुलाई खाना खुवाउने गरेको तिमिल्सिनाले जानकारी दिए। “यस बाहेक खाना खान नपाएकाहरू कतै भएको जानकारी पाए पुर्याइदिने समेत गरेका छौं”, उनले भने।
परिकार छाडेर खाद्यान्न डेलिभरी
बन्दाबन्दीपछि समयको माग अनुसार कतिपय रेष्टुरेन्टले कामको प्रकृति थोरै परिवर्तन गरेका छन्। विभिन्न रेष्टुरेन्टका परिकार होम डेलिभरी गर्ने फूडमान्डुले अहिले तरकारी, फलफूल, मासु, अण्डा, बेकरी लगायतको समान डेलिभरी गर्न थालेको छ। फूडमान्डुका संस्थापक मनोहर अधिकारीले सबैजसो रेष्टुरेन्टहरू बन्द भएकाले फरक सेवाग्राहीको सुविधाका लागि काम गरिरहेको बताए।
यस्तै, गृहिणी, विद्यार्थीले घरमै बनाएका परिकार तथा केही रेष्टुरेन्टसँगको सहकार्यमा खाजा र खानाको होम डेलिभरी गर्दै आएको फूडमारियोको नियमित सेवा पनि बन्दाबन्दीका कारण ठप्प छ। बजारको माग अनुसार तरकारी र खाद्यान्नको होम डेलिभरी गर्न शुरु गरेको कम्पनीका संस्थापक रोहित तिवारीले बताए। उनका अनुसार, १ वैशाखबाट खाद्यान्न, तरकारी र मासुको होम डेलिभरी गर्ने तयारी गरिएको छ।
खाद्यान्नको अनलाइन व्यापारका लागि फूडमारियोले पाँच वटा कम्पनीसँग सहकार्य गर्ने तयारी गरेको छ। काठमाडौं र ललितपुरका सेवाग्राहीलाई लक्षित गरिएको अनलाइन पसलमा फुडमारियोको एप र फोन मार्फत अर्डर गर्न सकिने तिवारीले जानकारी दिए।