'प्रजिअले प्रशासक भएर मात्र हाेइन नागरिक भएर साेच्नुपर्छ'
मेरो नाम दुर्गा बञ्जाडे। म जुम्ला जिल्लाको प्रमुख जिल्ला अधिकारी हुनुअघि सिन्धुपाल्चोकमा सहायक सिडिओ भएर काम गरेँ। भूईंचालोपछि सिन्धुपाल्चोक पुग्दा घरहरुको पुननिर्माण भइरहेको थियो। कतिपय जिल्लावासीहरुलाई घर बाहिरै व्यवस्थापन गर्नुपर्ने थियो भने कतिपय बस्तीलाई नै ठाउँ सार्नुपर्ने चुनौती थियो । अहिले कोरोनाको संक्रमणबाट जुम्ला जिल्लाबासीलाई घरभित्रै कसरी सुरक्षित राख्ने भन्ने सबैभन्दा ठूलो चुनौती हो।
अन्य देशको अनुभव हेर्दा शुरुको चरणमा 'लकडाउन' नै यस संक्रमणलाई नियन्त्रण गर्ने मूल ओखती रहेछ। जिल्लामा सबैसँग समन्वय गरेर जुम्लामा १० चैत्रदेखि नै लकडाउन शुरु गर्यौं।
अनि जिल्लावासीलाई यो महामारीबारे बुझाउन थाल्यौं। लकडाउन पूर्ण रुपमा कार्यान्वयन गराउने, दैनिक उपभोग्य सामग्रीको पहुँच सहज बनाउने र विशेष अवस्थाका अपाङ्ग, वृद्धवृद्धा, गर्भवती र सुत्केरीहरुलाई सेवा पुर्याउनुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ।
प्रमुख जिल्ला अधिकारीले एउटा प्रशासक मात्रै भएर हेरेर पुग्दैन। नागरिक भएर पनि सोच्नुपर्छ। खाध्य सामग्रीका लागि चन्दननाथ नगरपालिका बाहेक अन्य पालिकाका वासिन्दाहरु खलङ्गा आउनु नपरोस् भनेर उद्योग वाणिज्य संघ, कृषि विकास कार्यालय र अन्य निकायसंगको सहकार्यमा खाद्य सामग्री प्रत्येक पालिकामा पुर्याउने र वडा कार्यालयले घरसम्म पुर्याउने एकद्वार प्रणाली अपनाएका छौँ। प्रत्येक पालिकाले अस्पताल नै आउनुपर्ने गर्भवती, सुत्केरी र अन्य रोगीका लागि भएमा एम्बुलेन्स नभए निजी साधनको व्यवस्था गरेका छन्। सबै चालकको नम्बर सार्वजनिक रुपमै सूचना दिएका छौं।
कोरोनाको संक्रमणका बारेमा समाजमा धेरै अन्धविश्वास र भ्रमहरु छन् । यिनलाई चिर्न स्थानीय सरकार, स्थानीय संचारकर्मी, सुरक्षा तथा स्वास्थ्यकर्मी र युवावर्ग सबै लागेका छौं।
११ चैत्रपछि भारत लगायत तेस्रो मुलुकबाट जिल्ला फर्केका २५३ जनाको विवरण स्थानीय तहबाट प्राप्त भएपछि क्वारेन्टाइनमा बसाउने व्यवस्था सबैको सहकार्यमा सम्भव भयो। त्यसपछि नेपाल सरकारले सुरु गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाट खटिएका नेपाल प्रहरीको मेडिकल टीम र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टीम मिलेर २५३ जना सबै र उनीहरुको परिवार तथा सम्पर्कमा आएका अन्य गरी ३२४ जनाको स्वाबको नमूना चैत्र २५ गते संकलन गर्यौं। स्वाबको नमुना परिक्षणका लागि काठमाडाै पठाइएको छ। पहिले बनाइएका क्वारेन्टाइन केन्द्रहरुलाई महिला, वृद्धवृद्धा र अपांगमैत्री बनाउनका लागि अहिले प्रयास गरिरहेका छौं।
यस्तो विपदको बेला सबै तहका सरकार र प्रशासनसँग नागरिकको धेरै अपेक्षा हुन्छ । कठिन भूसंरचना, सीमित सुरक्षाकर्मी, छरिएको बस्ती, बेलाबेलामा अवरुद्ध हुने संचार, स्वास्थ्यकर्मीलाई चाहिने न्यूनतम स्वास्थ्य सामग्रीको अभावले गर्दा काम गर्न कठिनाई छ । तर पनि हामी अहिलेसम्म ट्रेसिङ्ग र टेस्टिङ्गका लागि समन्वय गर्दै यो संकटबाट पार पाउन हरसम्भव प्रयास गरिरहेका छौं ।
विहानदेखि साँझसम्म हरेक दिन संयोजन र व्यवस्थापनका लागि दौडधुप गरिरहँदा कहिलेकाहिं परिवार पनि बिर्सिदों रहेछ। राती भएपछि एक्कासी काठमाडाैमा रहेको छोरालाई सम्झछु। फोन गर्न खोज्छु निदाइसकेको हुन्छ। अनि मेसेज लेखेर भन्छु “बाबु आफ्नो स्वास्थ्यको ख्याल गर है।”
कथा किन ?
अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तीमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ । संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागी हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ । जो अहिले तेस्रो सातामा छ ।
विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ । हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तिकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना । २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखी हिमालखबर पनि जोडिएको छ ।
मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो । भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन् । एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन् । अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छैँ ।
संयोजक, कथा कोरोना टीम
@KathaCorona
सम्पादक
himalkhabar.com
@HImal_khabarv