बन्दाबन्दीको प्रभावः बलिउडमा २७ दिनमा ६०० करोड घाटा
होमी अदजानियाको निर्देशनमा बनेको चलचित्र ‘अंग्रजी मिडियम’ १३ मार्चमा रिलिज भयो। तर, कोरोनाभाइरस संक्रमण रोक्नका लागि त्यही दिनदेखि महाराष्ट्रका सिनेमा घर बन्द भए।
दिल्लीका सिनेमा घर त १२ मार्चदेखि नै बन्द थिए। उता राजस्थानका सिनेमा घर पनि १४ मार्चदेखि बन्द गरिए। अरु राज्यमा पनि विस्तारै सिनेमा घरहरु बन्द हुन थालेपछि फिल्म रिलिजको कुनै अर्थ नै भएन।
‘अंग्रेजी मिडियम’ केही राज्यका सिनेमा घरमा दुई दिन चल्यो। रोहित शेट्टीको निर्देशनमा बनेको ‘सूर्यवंशी’ पनि २४ मार्चमा रिलिज हुनेवाला थियो। यो लगायत अप्रिल १० सम्ममा मिति तोकिएका पाँच फिल्मको रिलिज स्थगित भएको छ।
सन् २००० सुरु भएको मंगलबार सय दिन पुग्यो। त्यसमा २७ दिन सिनेमा हल बन्द भए। बाँकी ७३ दिन मात्र चलेका सिनेमा घरबाट बलिउडले ६०० करोड घाटा खाएको छ।
बन्दाबन्दीअघि रिलिज भएको अन्तिम फिल्म ‘बागी ३’ कोरोनाभाइरस संक्रमणको बढी मारमा पर्ने अर्को फिल्म बन्यो। टाइगर श्राफ अभिनित यो फिल्म ६ मार्चमा रिलिज भएको थियो। करीब नौ दिन चलेको यो फिल्मले ९३ करोड रुपैयाँ उठाएको थियो।
भारतमा बन्दाबन्दी २५ मार्चबाट सुरु भए पनि बलिउडमा त्यसको असर १० दिनअघिबाटै सुरु भइसकेको थियो। सर्वप्रथम महाराष्ट्रमा १३ मार्चमा संक्रमण देखिएपछि धेरै सिनेमा घर बन्द गरिए। १९ मार्च देखि त सबै प्रकारका फिल्म छायांकन तथा उत्पादन नै रोकियो।
यो अवधिका रिलिजको मिति कुरेर बसेका फिल्म पनि अहिले हल खुल्ने प्रतीक्षामै छन्। रिलिज भइसकेका फिल्म हलमा चल्नै नपाउँदा र नयाँ फिल्मको रिलिज मिति पर सर्दा बलिउडलाई २७ दिनमा ५०० देखि ६०० करोडसम्म घाटा भएको दैनिक भास्करमा गगन गुर्जरले उल्लेख गरेका छन्।
सन् २००० मा ७३ दिन सिनेमा घर खुल्दा बलिउडका ६५ भन्दा बढी फिल्म रिलिज भएका थिए। यी फिल्मबाट बकस अफिसमा ८२४ करोड रुपैयाँ संकलन भएको थियो। पूरै सय दिन सिनेमा घर चलेका भए १४०० करोड रुपैयाँसम्म संकलन हुने संकेत मिलेको दैनिक भाष्करले उल्लेख गरेको छ।
सन् २०१९ को सुरुका १०० दिनमा ७० भन्दा बढी फिल्म रिलिज भएका थिए। ती फिल्मबाट बक्स अफिसमा १२६० करोड रुपैयाँभन्दा बढी संकलन भएको थियो।