कतार एयरको क्युआर ६४४ मा आएका थिए संक्रमित आशंका गरिएका तीन जना
कोभिड–१९ संक्रमणको आशंकामा पाटन अस्पतालमा भर्ना भएका तीनजना कतार एयरवेजको क्युआर ६४४ मा १५३ यात्रुका साथ ५ चैत (१८ मार्च) मा नेपाल आएका थिए । बेलायतको लण्डनबाट आमा, छोरा र बुहारी नेपाल आएदेखि पेप्सीकोलास्थित सनसिटी अर्पाटमेन्टमा क्वारेन्टिनमा बसेका थिए ।
प्रहरी प्रधान कार्यालयस्थित केन्द्रिय स्वास्थ्य कमाण्डले उनीहरुको ट्राभल हिस्ट्रीसँगै कन्टयाक्ट ट्रेसिङ समेत सुरु गरेको छ । उच्च प्रहरी अधिकारीका अनुसार उनीहरुमा विदेशबाट आएको २५ दिनपछि प्रारम्भीक जाँच पोजिटिभ देखिएकोले उनीहरुको अन्तिम जाँच नहुँदासम्म पेप्सीकोला क्षेत्रमा विशेष सावधानी अपनाउन रणनीति बनाएर काम भइरहेको बताए।
कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार विदेशबाट आएकाहरूको कोभिड–१९ जाँचको ब्यवस्था गरेको थियो । मूलपानी स्वास्थ्य केन्द्रमा ३६ जनाको जाँच गरिएकोमा यी तीनजनाको प्रारम्भिक जाँच (आरडीटी र्यापिट डायग्निष्टक टेष्ट) पोजेटिभ देखिएको हो। मेयर कृष्णहरि थापाले सोमबार टेकु अस्पतालबाट किट मगाएर नगरपालिकाका तीन वडाहरू (७, ८ र ९) मा विदेशबाट आएकाहरूको जाँच गरिएको बताए । उनले बिस्तृत जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा थप जाँच भएपछि मात्र यकिन हुने बताए । “हामीले नगरपालिका भित्र विदेशबाट आएर बसिरहेकाहरूको कोभिड–१९ जाँचको व्यवस्था गरेका हौं ” मेयर थापाले भने “जम्मा ६१ जना हुनुहुन्छ बाँकीको भोलि जाँच हुनेछ ।” उनका अनुसार तीनैजनाको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरू बेलायतबाट आएदेखि होम क्वारेन्टिनमा बसेका थिए । उनले उपचाररत तीनजनाको परिवारका सदस्यले नगरपालिकामा उनीहरू ५ चैतमा बेलायतबाट आएको विवरण टिपाएको बताए ।
प्रहरीले उनीहरु बस्ने काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टलाई शिलबन्दी गरेर थप सोधपुछ गरिरहेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले अपार्टमेन्ट र आसपासका क्षेत्रमा सरकारले तोकेको मापदण्ड र नीति अनुसार व्यवस्थापन गरिएको र संक्रमणको आशंका गरिएका तीन जना बेलायतबाट आएको बताए ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीले अपार्टमेन्टका अध्यक्ष तीलक बस्नेत सहित स्थानीय जनप्रतिनिधिको सहकार्यमा संक्रमित भेटिएको स्थानलाई व्यवस्थापन गरिएको बताए ।