दुई साता पनि नबित्दै किन फेरिए सीसीएमसी संयोजक ?
सीसीएमसी संयोजक तोकिएका सचिव लक्ष्मण अर्याल १० दिन पनि नपुग्दैं जिम्मेवारीबाट अलग भएका छन् । सरकारले २७ चैतमा उनकाे ठाउँमा मन्त्रिपरिषद् कार्यालयका अर्का सचिव नारायणप्रसाद बिडारीलाई संयोजक बनाएको छ ।
सरकारले कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि मन्त्रिपरिषद् निर्णयमार्फत १६ चैतमा ‘कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)’ गठन गर्यो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति मातहतको सीसीएमसी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा रहने व्यवस्था पनि गरियो ।
सीसीएमसीका बाँकी दुई सदस्यामा नेपाली सेनाका प्रबन्ध रथी र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहेका छन् । हाल नेपाली सेनाको छाउनीस्थित महावीर गणमा सीसीएमसी कार्यालय स्थापना गरी त्यहीबाट कार्य सञ्चालन भइरहेको छ ।
सरकारको यही निर्णय अन्तर्गत सीसीएमसीको संयोजकको जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मण अर्यालले पाए । र, सीसीएमसी प्रारम्भका सबै जिम्मेवारी उनैले सम्हाले ।
तर, सीसीएमसी संयोजक तोकिएका सचिव १० दिन पनि नपुग्दैं उक्त जिम्मेवारीबाट अलग भएका छन् । सरकारले २७ चैतमा अर्यालको ठाउँमा मन्त्रीपरिषद् कार्यालयका अर्का सचिव नारायणप्रसाद बिडारीलाई सीसीएमसी संयोजक बनाएको छ ।
सीसीएमसी बनेको दोस्रो साता पनि नबित्दै संयोजबाट किन हटे त अर्याल ? या हटाइए ? यसको प्रष्ट जवाफ पाइदैंन ।
तर, स्रोतका अनुसार संयोजक अर्याललाई हटाउन कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलकै भूमिका रहेको छ ।
पोखरेल नेतृत्व समितिले विवादास्पद ओम्नी समूहको ओबीसीआर कम्पनीले चीनबाट ल्याएका शंकास्पद स्वास्थ्य सामग्री नै प्रयोग गर्न थालेको भन्दैं सचिव अर्यालले असहमति व्यक्त गर्दै अडान राखेकै कारण उनीसँग उपप्रधानमन्त्री पोखरेल असन्तुष्ट बनेको बताइएको छ ।
“उहाँले ओम्नी समूहले चीनबाट ल्याएको कमसल किट र पीपीई (पर्सनल प्रोटेक्सन इक्विपमेन्ट) प्रयोगमा आपत्ति जनाएपछि यी सबै घटनाक्रम भएको हो,” स्रोतले हिमालखबरसँग भन्यो ।
तर, सचिव अर्याल भने प्रधानमन्त्री कार्यालयमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा काम गर्नु पर्ने भएकाले स्वयंले सीसीएमसीको नेतृत्व छाडेको दाबी गर्छन् । संस्थाको स्थापनाकालको संरचना, कार्यविभाजन र कारबाहीको टुङगो लगाउन आफूले काम गरेको तर त्यसपछि छाड्ने पूर्व निर्धारित भएको उनी बताउँछन् । “संयोजक फेरिनु सामान्य कुरा हो, यसलाई पूर्वनिधारित मान्नुपर्छ”, अर्याल भन्छन् ।