बन्दाबन्दीको अवधिभर २४ वटा चार्टर उडान हुँदा वायुसेवाका ५ उडान मात्रै
कोरोनाभाइरसको जोखिम न्यूनीकरण गर्न र यसबाट बच्न नेपालले ११ चैतदेखि लकडाउन (बन्दाबन्दी) गरेपछि नेपालबाट २४ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन् । बन्दाबन्दीपछि नेपालबाट भएको यात्रु चार्टर उडानमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसहित नौ वटा वायुसेवाले यस्तो चार्टर उडान गरेका छन् ।
नेपालबाट विदेशी यात्रु लैजान यस्तो चार्टर उडान गर्नेमा सबैभन्दा बढी कतार एयरको छ । यो वायुसेवाले हालसम्म विभिन्न देशका यात्रु लैजानका लागि १० वटा उडान गरिसकेको छ ।
त्यसपछि नेपाल वायुसेवा निगमले दुईवटा कार्गो र तीन यात्रु गरी चारवटा चार्टर उडान गरेको छ । निगमले चीनमा मेडिकल सामग्री लिन जादाँ दुईवटा कार्गो चार्टर गरेको छ । यो वायुसेवाले अस्ट्रेलिया र जापानमा यात्रु उडान गरेको छ । मंगलबार भारतको नयाँ दिल्लीका लागि ब्राजिलियन दूतावासमार्फत यात्रु चार्टर गर्ने तय भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । खड्काका अनुसार निगमको जहाज लिएर ब्राजिलियन दूतावास दिउँसो साढे एक बजे दिल्ली जाने भएको छ । निगमले गर्ने यो उडानसहित तीन यात्रु चार्टर दुई कार्गो गरी पाँच उडानको अनमति लिएको छ ।
यो बाहेक आन्तरिक उडान गरिरहेको श्री एयरले पनि सुडानको लागि एक कार्गो उडान गरेको छ । आन्तरिक वायुसेवा सञ्चालन गरिरहेको भएपनि यो वायुसेवासँग अन्तर्राष्ट्रिय चार्टर उडानको अनुमति छ । यो वायुसेवाले पहिलो अन्तर्राष्ट्रिय व्यापारिक उडान पनि गरेको छ ।
यस्तै बेलायतबाट आएको टाइटान एयरले र दक्षिण कोरियाको कोरियन एयरले २÷२ वटा उडान गरेका छन् । इत्तिहाद, मालिन्दो, मलेसियन र चेकले पनि १÷१ वटा चार्टर उडान गरेर नेपालबाट विदेशी यात्रु लगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
बन्दाबन्दी सुरु भएदेखि सोमबारसम्म भएको यस्तो उडानबाट ४ हजार जना यात्रु बाहिरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए । उनका अनुसार बन्दाबन्दीको समयमा भएको यस्तो उडानमा वायुसेवा निगमको दुईवटा कार्गोबाहके सबै यात्रु चार्टरको उडान भएको उल्लेख छ । नेपाली सेनाले गरेको श्री एयरको सुडानका निम्ति गरेको एक चार्टर उडानमा पनि नेपालबाट यात्रु बाहिर गएका छैनन् ।
प्राधिकरणका अनुसार सामान्य अवस्थामा प्राधिकरण आफैंले चार्टर र उद्दार उडानको अनुमति दिने गरेको भएपनि अहिले बन्दाबन्दीको समयमा भने परराष्ट मन्त्रालयमार्फत अनुमति माग्नुपर्छ । त्यसपछि गृह, पर्यटन मन्त्रालय हुँदै प्राधिकरण आउनुपर्छ । प्राधिकरण आएपछि विमानस्थलका विभिन्न निकायलाई जानकारी दिने गर्छ । गृह मन्त्रालय अन्तर्गत विमानस्थलमा अध्यागमन रहेको छ । सो निकायलाई गृह र प्राधिकरणले दुबैतर्फबाट जानकारी दिन्छन् । विमानस्थलमा रहेको सबै निकाय परिचालनको लागि प्राधिकरणले उडानको जानकारी गराउने गर्छ ।
नेपालको हवाई क्षेत्रको नियमामक निकाय प्राधिकरण भएकाले सामान्य अवस्थामा आन्तरिक र वाह्य वायुसेवाको लागि सिधै अनुमति दिन सकिने भएपनि अहिलेको परिस्थितिमा भने गृहको अनुमति अनिवार्य लिनुपर्ने हुन्छ ।
प्राधिकरणबाट चार्टर उडान अनुमति लिन स्वदेशी र विदेशी दुबै प्रकारका वायुसेवाले भ्याटबाहेक प्रति उडान ५० डलर तिर्नुपर्ने व्यवस्था छ । विदेशी वायुसेवाको हकमा हरेक चार्टर उडानमा अनुमति लिनुपर्छ । तर, आन्तरिक वायुेवाले भने एक पटक लिएको अनुमति १५ दिन सम्म प्रयोग गर्न पाउने व्यवस्था छ ।
वायुसेवा निगम सबैभन्दा कम
नेपालबाट बन्दाबन्दीको समयमा अन्य विदेशी वायुसेवाले मात्रै १८ वटा चार्टर उडान गरेको छन् । नेपालमा अड्किएका पर्यटक लिन धमाधम विदेशी वायुसेवा नेपाल आइरहेका भएपनि यी सबै उडानमा नेपाली वायुसेवाले पनि आफ्नो व्यापार पहुँच बढाउन सक्थ्यो । आखिर कहाँ चुक्यो त नेपाली वायुसेवा ?
नेपाल वायुसेवा निगमका अनुसार अन्तर्राष्ट्रिय चार्टर उडान जुन देशको वायुसेवा पनि प्रयोग हुन सक्छ । जसले चार्टर गर्ने हो उसैले आफूलाई अनुकुल हुने र सस्तो भाडादर भएको वायुसेवा छान्न सक्छ । त्यहि भएर आफ्ना अनुकुलका वायुसेवामार्फत यात्रु चार्टर भएको हुनसक्ने बुझाइ वायुसेवा निगमको छ ।
वायुसेवा निगमको जहाज प्रयोग गरेर क्यानडा, बेलायत, अमेरिका र समग्र युरोपेली देशका यात्रु लैजान सक्ने हुँदाहुँदै पनि विदेशी वायुसेवा आएको विषयमा यूरोपेली यूनियन (ईयू)को कालोसूचीमा नेपाली वायुसेवा परेको विषय बहसमा आएको छ । नेपाली वायुसेवा युरोपेली मुलुकको कालो सूचीमा भएकै कारण युरोपेली देशले आफ्नो अनुकुलका जहाज ल्याएको भन्ने वहस भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता क्षेत्रीका अनुसार चार्टर उडानको अनुमति जुन देशले माग्छ त्यसैलाई दिने हो । क्षेत्रीले भने ‘जुनसुकै देशको वायुसेवा पनि नेपाल आउन पाउने र चार्टर उडान गर्नलाई रोक्न मिल्दैन् ।’ निगमको जहाजले पनि आफ्नो पहुँच र क्षमता अनुसार चार्टर उडान गरेरै अस्ट्रेलिया, जापान र चीन गएको क्षेत्री बताउँछन् । भोली मंगलबार निगमको जहाज ब्राजिलियन दूतावासको चार्टर उडानमार्फत भारत जाने तय भएको छ । युरोपेली देशमा ईयुको कारण नदिएको र जान नपाएको भन्ने त भनिएको छैन् । आफ्नो देशका नागरिक लैजान सम्बन्धित वायुसेवाले जुन जहाज प्रयोग गर्दा सहज हुन्छ त्यहि ल्याएको बुझाइ पनि नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता क्षेत्रीको छ ।
वायुसेवा निगमका अनुसार यस अघि बेलायत, अर्मेनिया, क्यानडासहितका देशबाट प्रस्ताव आएको थियो । निगमले पनि आफ्नो पहँुच पुर्याएको भएपनि प्रारम्भिक प्रस्तावबाटै सम्बन्धित देशका दूतावास अगाडि भने नबढेको जानकारी दिएको छ । निगमका एक उच्च अधिकारीका अनुसार जुन देशले जसरी सजिलो हुन्छ र जुन वायुसेवाबाट गर्दा सस्तो पर्छ उसैको जहाज प्रयोग गर्न सक्छ ।
निगमको जहाज नेपालबाट जुन देश गएपनि भाडादर एउटै हुने हो । उडान समयले मात्रै बढी र घटी भन्ने हुन्छ । त्यसैले निगमको जहाज ईयूको कालोसूचीकै कारण युरोप जान नपाएको भन्ने होइन्् । त्यसो त निगमको जहाज जापान र अस्टे«लिया गइसकेकोले ईयूको कालोसूचीको कारण भन्न नमिल्ने बुझाइ निगम अधिकारीको छ ।