बन्दाबन्दीमा पनि घर-घरमा सेवा दिंदैछन् यी स्वास्थ्यकर्मी
नर्सिङ सेवामा खटिएकाहरुले आफ्नो परिवार स्याहार्नु त छँदैछ परिवारको आवश्यकता पूरा गर्न अन्यत्र गएरसमेत संघर्ष गरिरहेका छन् ।
एलिसा सिजापति
लक डाउन अघिदेखि नै धेरै नेपालीहरुले वृद्ध आफन्तजनको हेरचाह गर्न घरमा नर्सिङ सेवा लिएका थिए । प्रवासी नेपालीको माग पूरा गर्न धेरै कम्पनीहरुले घरमै नर्सिङ सेवा उपलब्ध गराउँदै आएका छन् । कोभिड १९ ले गर्दा भएको लक डाउनले यो सेवा अझै विस्तार भएको छ ।
सिर्जना पौडेल २१ (तस्बिर) एक नर्स हुन् । उनले ६ महिनाभन्दा अघिदेखि ललितपुरको एक घरमा ओछ्यानपरेकी वृद्ध महिलाको हेरचाह गरिरहेकी छन् । २३ मार्चमा प्रधानमन्त्री केपी शर्मा ओली भोलिपल्ट विहान ६ बजेदेखि देशव्यापी तालाबन्दी गर्ने घोषणा गर्न टेलिभिजनमा प्रस्तुत हुनु अघिसम्म उनी ठीक अवस्थामा थिइन् ।
सडकमा अस्पतालका कामदारहरु र एम्बुलेन्सहरुलाई आवागमनका लागि अनुमति दिइएको छ तर वृद्ध वा बिरामी परिवारका सदस्यहरुको हेरचाह गर्न जाने धेरै नर्सहरुले त्यस्तो सुविधा पाएका छैनन् । त्यसैले पौडेललाई लक डाउन भएदेखि बिरामीकै घरमा बस्न बाध्य पारिएको छ । यसले गर्दा उनी आफ्नो परिवारको हेरचाह गर्नबाट भने बञ्चित भएकी छन् ।
“घर फर्किन र परिवारसँग बस्न नपाउँदा मलाई नराम्रो लागेको छ तर कमजोर स्वास्थ्य अवस्था भएकाहरुको हेरचाह गर्नु नर्सको कर्तव्य हो र म उनीहरुको सेवा गर्न यथेष्ट प्रयास गर्ने छु,” पौडेल भन्छिन्, “बिरामीको सेवा गर्नेक्रममा तिनका परिवारसँग साह्रै नजिकिएको छु, यस्ता वेलामा घरमा बसेको भए आफूलाई दोषी महसुस गर्ने थिएँ ।”
“बिरामीको सेवा गर्नेक्रममा तिनका परिवारसँग साह्रै नजिकिएको छु, यस्ता वेलामा घरमा बसेको भए आफूलाई दोषी महसुस गर्ने थिएँ ।”
– सिर्जना पौडेल, नर्स
अहिले सिर्जना पौडेलजस्ता २०० भन्दा बढी नर्स तथा हेरचाहकर्ताहरुले काठमाडौंमा वृद्धअवस्थाका बिरामीको निवासमै गएर नर्सिङ सेवा दिइरहेका छन् । दम, मधुमेह, हृदयरोग जस्ता समस्या बेहोरिरहेका जेष्ठ नागरिक र बिरामीहरु नोवल कोरोना भाइरसबाट संक्रमित हुने जोखिममा छन् । यसले नर्सिङ सेवा दिनेहरुको महत्व अझै बढाएको छ ।
बागबजारकी रुपा जोशीको परिवारमा हेरचाह गर्नुपर्ने अवस्थाका दुई जना पाको उमेरका आफन्तहरु छन् । बुढी सासू १०५ वर्षीय र सासू ९० वर्षीय, उहाँहरु दुवै जनालाई उठ्न बस्नै सहयोग गर्नुपर्ने हुन्छ ।
जोशी भन्छिन्, “हामी वृद्ध परिवारजनलाई संक्रमण नहोस् भनेर लक डाउनभन्दा अघि देखि नै सेल्फ क्वारेन्टिनमा छौं ।” जोशीले सासूको हेरचाह गरिरहेकी कर्मचारीलाई लक डाउन नहटाइन्जेल सँगै बस्न भनेकी छन् । अर्कीलाई पनि आउने जाने क्रममा भाइरसको संक्रमण हुन सक्ने भएकाले सँगै बस्न आग्रह गरेकी छन् ।
“हाम्रो हेरचाह गरिरहेकाहरु अहिले परिवारका सदस्य जस्तै भएका छन् । यस्तो कठिन अवस्थामा हामीले उनीहरुको आवश्यकताहरु पूरा गरिदिएर सहयोग पनि गर्नुपर्छ” जोशीले भनिन् ।
हेरचाह गर्न खटिएका केहीले भने लक डाउनभन्दा दुई हप्ता अघि आकस्मिक योजना बनाइसकेका थिए । अन्य केही स्वास्थ्य सेवा प्रदायकहरुले भने सेवा प्रवाह गर्न आफ्नो कार्यतालिका परिवर्तन गर्नुपरेको थियो ।
पाटनस्थित हेल्थ केयर सर्भिस मेडिलिंककी सुस्मिता खनाल आफ्ना ग्राहक (वृद्ध बिरामीहरु) को हेरचाह गर्न खटिएका केयरगिभरहरुलाई खानपानको प्रबन्ध गर्न अहोरात्र खटिरहेकी छन् ।
“कोभिड १९ र लक डाउन अपरिहार्य पाटा हुन् भन्ने हामीलाई थाहा थियो तर आवश्यक उपकरण र औषधि किन्न प्रभावकारी योजना बनाउने समय भएको भए केही सहज हुने थियो” उनले टेलिफोनमा भनिन् ।
महामारी आउनु अघि नै निवासमै गएर हेरचाह सेवा उपलब्ध गराउने चलन नेपालमा आइसकेको थियो । परिवारका अन्य सदस्यहरु दिनभरि काम गर्न जाने भएकाले घरमा रहेका वृद्धवृद्धा आफन्तजनलाई हेरचाह गर्ने कोही हुँदैनथे । लक डाउनको वेलामा त झन् यो सेवा अझै चुनौतीपूर्ण र आवश्यक भएको छ ।
शल्य चिकित्सक विशाल ढकाल पाकिस्तान बस्थे । उनी सन् २००९ मा काठमाडौं फर्किएर घरबाटै हेल्थ एट होम सेवा शुरु गरे । पहिले भन्दा बढी ग्राहकहरुलाई यस्तो सेवा आवश्यक भएको छ तर “यस्तो सेवा लिन चाहने धेरै परिवारलाई आर्थिक मन्दीले असर पार्न सक्छ” ढकालले भने ।
“धेरैजसो ग्राहक मासिक तलबमा काम गर्छन् । उनीहरुमध्ये धेरैलाई आर्थिक मन्दीले असर पार्न सक्छ र धेरै ग्राहकले सेवा लिन बन्द गर्नसक्ने सम्भावना छ ।”
विशाल ढकाल, शल्य चिकित्सक
“हामीसँग सबै पृष्ठभूमिका ग्राहकहरु छन् तर उनीहरु मध्ये धेरैजसो ग्राहक मासिक तलबमा काम गर्छन् । आगामी केही महिनाभित्र यिनीहरु मध्ये धेरै ग्राहकले यस्तो सेवा लिन बन्द गर्नसक्ने सम्भावना छ” ढकालले भने ।
मन्दी आउन सक्ने भयले ढकालको हेल्थ एट होम र सुस्मिता खनालको मेडिलिंकले व्यवसाय विस्तारको योजना स्थगन गरेका छन् । यद्यपि उनीहरुको ध्याउन्न अहिले भइरहेका ग्राहकहरुलाई राम्रो सेवा दिनमा केन्द्रित छ । लक डाउनका क्रममा वृद्धहरुलाई संक्रमण नहोस् भनेर उनीहरुले नर्स र हेरचाहकर्ताहरुलाई भर्चुअल माध्यमबाट प्रभावकारी ढंगले सञ्चार गरिरहेका छन् ।
धेरैजसो हेरचाहकर्ता र नर्सहरु जहाँ सेवा दिइरहेका छन् त्यहीँ बस्न बाध्य भएका छन् । सेवा प्रदायक कम्पनीहरुले घरका परिवारलाई पनि हेरचाह गर्नुपर्ने अवस्थाका केही कर्मचारीलाई लिन र छाड्न आवश्यक सीमित सवारी साधनका लागि मात्र यातायात अनुमति लिन सफल भएका छन् ।
मेडिलिंक हेल्थ केयरकी नर्स रुपा राई (२२) आफूले सेवा दिइरहेको घरमा ९ दिनसम्म बस्नुपर्यो तर अन्त्यमा उनी आउने जाने गर्न पाउने अवस्थामा पुगेकी छन् । उनी भन्छिन्, “त्यसवेला मैले फेरफार गर्ने कपडा पनि बोकेकी थिइनँ तर अब लक डाउन बढाइयो भने पनि मानसिक रुपले तयार भएको छु ।”